PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

दार्चुलामा साख फर्काउने कसरतमा कांग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती



पहिलोपोस्ट

दार्चुलामा साख फर्काउने कसरतमा कांग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती

  • शेरबहादुर सिंह/किरण धामी 
दार्चुला :  दार्चुलामा लगातार दुईपटक संविधानसभाको निर्वाचनमा हार व्यहोरेको नेपाली कांग्रेस आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा विगतको तुलनामा संगठन सुधार र पार्टीको आन्तरिक व्यवस्थापन राम्रो भएपनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले तालमेल गरी चुनावी मैदानमा होमिनु कांग्रेसका लागि चुनौती बनेको छ। 

दार्चुलामा कांग्रेस दुईपटकको हारको साख फर्काउन चुनावी सभालाई दुई महिनायता व्यापक बनाउँदै लगेको छ। वाम गठबन्धनकातर्फबाट एमाले उम्मेदवार गणेशसिंह ठगुन्नालाई जितलाई निरतन्तरता दिन सहज भने छैन। 

वाम गठबन्धन भए पनि केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दार्चुलामा आफ्नो पकड बलियो बनाएको छ। वि.सं २०७० मा झिनो मतअन्तरले कांग्रेस नेता बडूलाई निर्वाचनमा पराजित गरेका ठगुन्नाले जिल्लाको विकासका लागि काम गर्न नसकेको मतदाताको आरोप छ।

कांग्रेस नेता बडूले राष्ट्रिय राजनीतिमा बनाएको छविका कारण दार्चुलामा विकास निर्माणका योजनाहरु आएको भन्दै यहाँका मतदाता प्रतिनिधि छनोटमा विवेकपूर्ण निर्णय लिनेमा कांग्रेसजन आशावादी छन्। 

प्रतिनिधिसभामा कांग्रेसबाट पुराना नेता विक्रमसिंह धामी र वाम गठबन्धनबाट ठगुन्नाले चुनावी सभालाई यहाँका ग्रामीण बस्तीसम्म पुर्याएका छन्। 

सुरुवातमा कांग्रेसबाट नेता बडू प्रतिनिधिसभाको चुनाव लड्ने चर्चा रहे पनि उनलाई पार्टीले समानुपातिकतर्फको उम्मेदवार बनाएपछि अर्का नेता धामीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएर जिल्ला पठाएको हो।

उनी तीन दशकको राजनीतिमा पहिलो पटक उम्मेदवार बनेका हुन्। वाम गठबन्धनले कांग्रेस नेता बडूलाई यसपटक बलियो उम्मेदवारका रुपमा हेरे पनि अन्तिममा धामी मैदानमा देखिएपछि केही सहज महसुस गरेको छ।

कांग्रेस केन्द्रीय सदस्य बडू वाम गठबन्धनभित्र व्यापक असन्तुष्टि देखिएकाले कांग्रेसलाई निर्वाचन जित्न सहज हुने बताउँछन्। ‘हाम्रो पार्टीभित्र पक्ष, विपक्ष नभई एकताबद्ध भएर लागेका छौँ,’ नेता बडूले भने,‘पार्टीभित्रको एकताकै कारण स्थानीय तहमा जिल्लामा कांग्रेसले बहुमत ल्याएको हो।’

आफू समानुपातिक उम्मेदवार बनेर दोस्रो तहका नेतालाई व्यवस्थापन गरी चुनावी मैदानमा उत्रेको उनको भनाइ छ। पार्टीभित्रको एकता, स्थानीय तहको बहुमत र वाम गठबन्धनभित्रको द्वन्द्वका कारण निर्वाचनको नतिजा कांग्रेसको पक्षमा आउने नेता बडूले बताए। दार्चुलामा २०४८ र २०५६ मा कांग्रेस, २०५१ र २०७० सालमा एमाले तथा २०६४ मा माओवादी केन्द्रले चुनाव जितेको थियो। 

वाम गठबन्धनका उम्मेदवार ठगुन्ना २०७० को निर्वाचन जिते पनि उनले विकास निर्माणलगायतका आवश्यताकाबारेमा केही पहल गर्न नसकेको आरोप लागेको छ। तर वाम गठबन्धन पुनः निर्वाचनको परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क छ। 

कांग्रेस उम्मेदवार धामीले लोकतन्त्रको रक्षा र समग्र दार्चुलाको विकासका लागि कांग्रेस एक्लै भएपनि चुनावी मैदानमा आएको बताए। ‘यसअघिका निर्वाचित प्रतिनिधिले जिल्लाको विकासका लागि के गरे ? जनताले राम्ररी बुझिसकेका छन्,’ उनले भने,‘यसपटक मतदाता कांग्रेसलाई जिताउन आतुर छन्।’

वाम गठबन्धनका उम्मेदवार ठगुन्ना आफूले नै चुनाव जित्ने दावी गर्छन्। ‘वाम गठबन्धन कसैप्रति लक्षित छैन, यो देशको राष्ट्रिय आवश्यकता हो, वाम गठबन्धनबाट हामी चुनाव जित्छौँ’, ठगुन्नाले भने,‘संविधान निर्माणको जिम्मा दिएका दार्चुलाका जनताले संविधान कार्यान्वयनको भूमिकामा पनि साथ दिनेछन्।’ 

जिल्लाको विकास र जनताका समस्या समाधानका लागि थालनी गरेका कामको निरन्तरताका लागि आफूले उम्मेदवारी दिएको ठगुन्नाको भनाइ छ। 

दुवै उम्मेदवारले महाकाली करिडोरलाई तिंकर नाकासँग जोडेर जिल्लालाई त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्ने मुख्य मुद्दा बनाइरहेका छन्। जिल्लाका उत्तरी तीन गाउँपालिकामा सडक पुगेको छैन। उम्मेदवारहरु सडक सञ्जाल विस्तार गर्नेदेखि रोजगारीका अवसर प्रदान गर्ने आश्वासन मतदातालाई दिइरहेका छन्। 

वाम गठबन्धनले संयुक्त घोषणापत्र तयार गरी साझा प्रतिबद्धता जनतामाझ प्रस्तुत गर्दै जिल्लामा पर्यटन पूर्वाधार विकासमा जोड दिएको छ । 
प्रतिनिधिसभामा कांग्रेसका धामी, वाम गठबन्धनका ठगुन्ना, राष्ट्रिय जनमोर्चाका मनवीर दमार्इं, जनसमाजवादी पार्टी नेपालका धनबहादुर कुँवर र नयाँ शक्तिका जितेन्द्र महरा चुनावी दौडमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ। 

कांग्रेसबाट प्रदेशसभा ‘क’ मा मदन गिरी र ‘ख’ मा जगदीश पाल उम्मेदवार छन्। वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ मा एमालेका गेल्बुसिंह बोहरा र ‘ख’ मा माओवादीका मानबहादुर धामी उम्मेदवार रहेका छन्। दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा ७८ हजार ५१३ मतदाता छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell