PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

बढ्दै गइरहेको ‘प्रदुषण’, जसले निम्त्याउँदैछ यस्ता ‘घातक’ रोगहरु



सागर बुढाथोकी

बढ्दै गइरहेको ‘प्रदुषण’, जसले निम्त्याउँदैछ यस्ता ‘घातक’ रोगहरु

काठमाडौं : कोटेश्वरको हाइवेअगाडि सुरेश क्षेत्रीले फार्मेसी चलाउन थालेको साढे दुर्इ दशक बढी भयो। यो समयमा साँघुरो बाटो ठूलो भयो। केही विकासका पूर्वाधार थपिए। तर, त्योभन्दा बढी धुलोको मार उनले खेप्नुपर्‍यो।
 

कोटेश्वरको सडक पक्की भए पनि सडकको छेऊ भत्किएको र राम्रोसँग पिच नभएकाले गाडी चल्न थालेपछि धुलोको मुस्लो उड्न शुरु हुन्छ। सुरेश दिउँसै आधी सटर लगाएर पसलमा बस्छन्। मास्क बिना पसलमा बस्न सक्ने अवस्था हुँदैन्।
 

कोटेश्वरको सुरेश मात्र हैन सडक छेऊका अधिकांश पसलेको दैनिकी पसलमा आएको धूलो सफा गर्दै बित्छ। चक्रपथ रिंगरोडमा व्यापार व्यावसाय गर्नेहरु धुलोको समस्याबाट वर्षौदेखि आजित छन्।

‘दिनभर धूलो आएर दिक्क लगाउँछ। हाम्रो स्वास्थ्य त धराप छ नै, पसलमा धुलो छिरेर दिनभर सफा नगरी विकल्प छैन।’ सुरेश भन्छन्, ‘सडक पक्की भए पनि सबै भत्किएको छ। गाडी रोक्ने ठाउँमा होचो र खाल्डो छ। गाडी चलिरहने भएर कुनै बेला पनि धुलो उड्न छोड्दैन।’
 

सुरेशको जस्तै नभए पनि धुलोसँग सम्बन्धित समस्या नभोग्ने मानिसहरु काठमाडौंमा सायदै भेटिएलान्। वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे काठमाडौंमा सडकको नियती हो। काठमाडौंवासीले हिलो र धुलोबाट मुक्ति पाउन अझै सकेका छैनन्।
 

‘कसरी भयो त धुलाम्मे काठमाडौं?’

कारण बताउनेहरु धेरै छन्। यसको असर के? कसरी नियन्त्रण गर्ने?
 

यो प्रश्नको चित्तबुझ्दो जवाफ सम्बन्धित निकायसँग छैन्। 
 

सरोकारवाला निकायहरु धुलो हुने यस्ता कारण प्रस्तुत गर्छन्।
 

पहिलो – मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार कार्य।
 

दोस्रो – भुकम्पछिको पुनर्निर्माण।
 

तेस्रो - यातायात विभाग, सडक विभाग, वातावरण मन्त्रालयलगायतका निकायले जिम्मेवारीपूर्ण काम नगर्नु।
 

काठमाडौं महानगरपालिका, सडक विभाग, वातावरण मन्त्रालय र यातायात विभाग धुलो धुवाँ बढ्नुको यस्तै कारण प्रस्तुत गर्छन्।  समबन्धित निकायले धुलो धुवाँ कम गर्न काम भइरहेको बताइरहँदा प्रत्यक्ष मारमा परेर हैरान भएका छन उपत्यकावासी।
 

निर्माणमा सक्रिय सरकारी निकायबीच सहकार्य नहुँदा एउटा निकायले सडक निर्माण पूरा गरेपछि अर्को निकायले भत्काउन थालिहाल्ने गरेको छ। अन्तरनिकायबीच समन्वयका अभावमा भएका यस्तै लथालिंगे विकासले राजधानीवासी हैरान छन्।
 

कलङ्की कोटेश्वर सडक विस्तारले यात्रा असहज बनेको छ भने चावहिल, गौशाला, बानेश्वर, चक्रपथ क्षेत्रतिर पनि उस्तै धुलो उडिरहेको छ। विकास निर्माणको कार्य सुस्त गतिमा हुने क्रम रोकिएको छैन्। त्यसैले काठमाडौंमा धुलो उड्न छोडेको छैन्।


धुलोकै कारण विभिन्न रोगहरु पाल्न बाध्य छन् उपत्यकावासी। धुलो छल्न मास्क, मफलर र फेटा प्रयोग गरे पनि धुलाका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरु बताउँछन्।
 

वातावरण मन्त्रालयको तथ्यांक अनुसार धुवाँ र धूलोमा २.५ पीएमभन्दा साना कणहरु प्रत्यक्ष मानिसको फोक्सोमा पुग्ने गर्छ। हाल उपत्यकामा सवारी साधनको धुवाँ, सडकको धूलो र इँटाभट्टालगायतले वातारवरण प्रदुषण गरिरहेको विभागले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड सूचक तथ्याङ्कअनुसार काठमाडौंको प्रदूषण ह्वात्तै बढेको छ।
 

 

के गर्छ धुलोले?

विभिन्न अनुसन्धानअनुसार खाना नखाई मानिस तीन हप्तासम्म र पानी नपिई २–३ दिनसम्म बाँच्न सक्छ। तर, हावा बिना ३ मिनेटभन्दा बढी बाँच्न गाह्रो हुन्छ।
 

एउटा स्वस्था मानिसले औसत प्रतिमिनेट ९२ पटकसम्म सास फेर्छ। त्यस क्रममा लगभग ६ लिटर अक्सिजन शरीरले ग्रहण गर्छ। हावा प्रदुषित बनेपछि मानिसले लिने अक्सिजनमा पनि प्रदुषण मिसिएको हुन्छ।
 

प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटु रोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको क्यान्सर हुने मुटुरोग विशेषज्ञ डाक्टर रोशन राउत बताउँछन्।


‘अक्सिज नै प्रदुषित लिएपछि मानिसहरुलाई नलाग्ने रोग कुनै हुन्न। हावा, पानी र खाद्यान्नले मानिसलाई ९० प्रतिशतभन्दा बढी रोग लाग्ने हो।’ राउत भन्छन्, ‘हावा खराब भए स्वत: पानी र खाद्यान्न खराब हुन्छ। एउटै मानिसलाई धेरै रोगले च्याप्छ।’
 

राउतका अनुसार हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेक कण हुन्छन्। तीमध्ये केही धेरै हानिकारक हुन्छन् त केही सामान्य हानी गर्ने हुन्छन्।
 

बालरोग विशेषज्ञ डाक्टर बाबुराम मरासिनी धुलोकै कारण धेरै बालबालिका बिरामी परेर अस्पतालमा चाप बढेको बताउँछन्। बच्चाहरुलाई धुलोले तत्कालै गम्भिर असर गर्ने भएकाले बच्चाहरुको लागि काठमाडौं खतरा सहर रहेको उनको कथन छ।
 

‘धुलोकै कारणले बच्चालाई आखाँ चिलाउने, छालामा एलर्जी हुने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने र निमोनिया भर्इ गम्भिर असर पार्छ।’ मरासिनी भन्छन्, ‘फोक्सो कमजोर भएर दम आउने र क्यान्सरसमेत हुन सक्छ।’
 

डब्लुएचओका अनुसार विश्वका २९ सय ७३ प्रदूषित सहरमध्ये काठमाडौं २६९ औँ नम्बरमा छ। २०१६ को तथ्यांकअनुसार नेपालमा वार्षिक ९ हजार ९४३ को वायु प्रदूषणका कारण मृत्यु भएको छ।
 

उपत्यकाको धुलोले स्वास्थ्यमा मात्र हैन् अर्थतन्त्रमा पनि गम्भिर असर गरेको छ। विश्व बैंकले २०१६ मा गरेको अध्ययनले वायु प्रदूषणका कारण नेपालमा २.८३८ अर्ब डलर अर्थात् कुल गार्हस्थ्य उत्पादनको ४.७ प्रतिशत अर्थतन्त्रमा ह्रास पुर्‍याएको छ।

।।।।

नेपालको राष्ट्रिय मापदण्डले ५० भन्दा कम माइक्रोग्राम परमिटर क्यू सुक्ष्म कणहरु हुनुपर्छ भनेको छ। तर, प्रदूषण मापन केन्द्रको तथ्यांकले प्रदुषणको मात्रा राष्ट्रिय मापदण्डभन्दा २ गुणा बढी देखाएको छ।
 

प्रदूषणका कण ‘पार्टिकुलेट म्याटर’ (पिएम) मा नापिन्छ। यो धूलोमा रहेको कण आकार हो। पिएम –२.५ र पिएम–१० मा नेपालको प्रदुषण नाप्ने गरिन्छ।
 

पिएम –२.५ भनेको २.५ माइक्रोमिटर र पिएम–१० भन्नाले १० माइक्रोमिटरसम्मका कण हुन्।
 

पिएम–१० भन्दा साना कण अझ खतरनाक मानिन्छन्, किनकी यी कण सिधै फोक्सो र रक्तप्रणालीसम्म पुग्छन्। उद्योग कलकारखाना र धुलोको प्रदुषणको कारण यस्ता ससाना कण जन्मिन्छन्।
 

वातावरण विभागको तथ्याकं अनुसार हिउँद लागेसँगै प्रदुषण बढ्दो छ।
 

 

यस्तो छ उपत्यकाको प्रदुषण पिरामिड

मापदण्डअनुसार बाटोमा धुलोको मात्रा बढीमा २३० माइक्रोग्राम परमिटर क्यूभन्दा नबढाउने भनिएको छ। तर, तथ्याङ्कमा त्योभन्दा बढी देखिन्छ।
 

यातायात विभागको पछिल्लो तथ्याकंअनुसार काठमाडौंमा सबैभन्दा बढी प्रदूषण सवारी साधनले गराएका छन्। प्रदुषण गराउनेमा ९० प्रतिशत निजी, ३ प्रतिशत सार्वजनिक र ७ प्रतिशत अन्य सवारी साधन छन्।
 

वातावरण मन्त्रालयले सन् २००६ मा धुलो धुवाँसम्बन्धी अध्ययन गरेको थियो। उक्त अध्ययनले सबैभन्दा बढी सवारीसाधनले काठमाडौंवासीलाई प्रभाव पारेको देखाएको थियो। पछिल्लो समयमा त्यस्तो अध्ययन हुन सकेको छैन।
 

 

धुलो कम गर्न के हुँदैछ ?

धुलो कम गर्न वातावरण विभागसँग समन्वय गरेर काम गरिरहेको काठमाडौं महानगरपालिकाको प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन्। प्रत्येक शनिबार 'क्लिन द सिटी' नामक कार्यक्रम गरेर सरसफाई गरिरहेको उनी बताउँछन्।

भन्छन्, ‘हामीले १४ करोडको लागतमा धुलो सफा गर्ने ड्रुमर र धुलो पखाल्ने मेसिन पाँचपाँच थान यही महिनाभित्र ल्याउछौँ। टेण्डर भएर अन्तिम चरणमा छ। पाँच वटा ड्रुमर र धुलो पखाल्ने मेसिन चलाएपछि काठमाडौंमा धुलो उड्दैन्। पहिलाभन्दा बस्न लायक र सुन्दर हुन्छ।’
 

वातावरण विभागका उपमहानिर्देशक सफला श्रेष्ठका अनुसार प्रदूषण कम गर्न विभागले विभिन्न अध्ययनहरु गरिरहेको छ। वातावरण कम गर्नको लागि गर्नु पर्ने कामको लिस्ट वातावरण मन्त्रालयमा पठाइसकेको छ।’
 

श्रेष्ठ भन्छिन्, ‘अहिले हामीले प्रदुषण कम गर्ने भन्दा प्रदुषण कसरी कम गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरेका छौँ। केही समयपछि ठोस काम शुरु हुन्छ।
 

धुलोको प्रदुषण हावामा कताबाट बढी आउँछ र कुन क्षेत्रलाई प्रभाव पार्छ भन्नेमा विभागले अध्ययन गरिरहेको श्रेष्ठ बताउँछिन्। अध्ययन पश्चात धुलो बढी आउने क्षेत्रमा अनुगमन गरी त्यहाँका उद्योग धन्दा र धुलो धुवाँ सिर्जना गर्ने संरचना बन्द गर्न विभागले पहल गर्ने सुनाउँछिन्।
 

‘हामी उद्योगले वातावरण विभागको मापदण्डअनुसार काम गरेको छ कि छैन्, नियमित अनुगमन गरिरहेका छौँ। धेरैले मापदण्ड पूरा गरेका छैनन्।’ श्रेष्ठले भनिन्, ‘हामीले त्यस्ता मापदण्ड पूरा नगर्ने उद्योगलाई कारवाहीका लागि मन्त्रालयलाई सिफारिस गरेका छौँ।’
 

श्रेष्ठको अनुसार वातावरण विभागले ट्राफिक प्रहरीसँग समन्वय गरेर सवारीको प्रदुषण नियमित नाप्नको लागि केही उपकरणहरु ल्याउने अन्तिम तयारी गरिरहेको छ।

 

धुलो धुवाँ कसरी नियन्त्रण गर्ने ?

धेरै प्रदुषण मानिसका क्रियाकलापबाट हुने भएकाले मानिसले नै धुलो धुवाँ रोक्न सक्छन्।
 

विभिन्न संघ संस्थाले गरेको अनुसन्धानको रिजल्टअनुसार सडक निर्माणमा वातावरणीय असर नपुग्ने गरी काम गर्दा धुलो कम हुन्छ।
 

सडकमा जथाभावी फोहोर नफाल्ने र नजलाउँने हो भने पनि प्रदूषण कम हुने देखाएको छ। त्यसैगरी सवारी साधन व्यवस्थापन र सुधारिएको इँटाभट्टा सञ्चालन गर्दा पनि प्रदुषण हुने देखाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell