.png)
धनुषा : धनुषाका चार वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा सात दर्जनभन्दा बढीले उम्मेदवारी दिएपनि आठजना शीर्ष नेतालाई भने कडा प्रतिस्पर्धा गर्नु परेको छ।
कडा प्रतिस्पर्धाबीच राजनीतिक भविष्य दाउमा रहेका शीर्ष नेतामा धनुषा निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, माओवादी केन्द्रका मातृकाप्रसाद यादव, क्षेत्र नं २ मा कांग्रेस नेता रामकृष्ण यादव, माओवादी केन्द्रका नेता रामचन्द्र झा, क्षेत्र नं ३ मा कांग्रेसका नेता विमलेन्द्र निधि, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो र क्षेत्र नं ४ मा खानेपानी मन्त्री तथा कांग्रेस नेता महेन्द्र यादव तथा एमाले नेता रघुवीर महासेठ चुनावी प्रतिस्पर्धामा छन्।
यी मुख्य प्रतिपस्पर्धी नेतालाई अहिले मतदाता रिझाउन हम्मे–हम्मे परेको छ। नेताका कार्यक्रममा कोणसभा, पार्टी प्रवेश, घरदैलो अभियान दिनरात चलिरहेको छ। प्रायः सबै नेताले आफ्ना कमजोरी लुकाउन जातीय शक्तिलाई प्रयोग गरिरहेको देखिन्छ। नेताले विकासभन्दा जातीय कुरा बढी उठाइरहेका छन्।
नेपाली कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना धनुषाबाट दुईपटक सांसद भइसकेका र एकपटक पराजित भएका थिए। उनलाई कांग्रेसले संविधानसभा २ मा समानुपातिकबाट सभासद् बनाएको थियो।
ढुंगानालाई धनुषा–१ मा कडा टक्कर दिइरहेका माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव पहिलो पटक चुनाव लड्दै छन्। पहिलो संविधानसभाको चुनावमा उनलाई माओवादीले समानुपातिकबाट सभासद् बनाएको थियो। माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्टि बढेपछि उनले कार्यकाल पूरा गर्नुअघि नै सभासद्बाट राजीनामा दिएका थिए।
कांग्रेस नेता रामकृष्ण यादव धनुषा निर्वाचन क्षेत्र नं २ बाट दुई पटक लगातार निर्वाचित भईसकेका छन्। पहिलो पटक सभासद् बनेपछि लेखासमितिको संयोजकसमेत भएका यादव अहिले कृषिमन्त्री छन्।
सोही क्षेत्रबाट आफ्नो भविष्य खोजी रहेका माओवादी नेता रामचन्द्र झा पनि दुई पटक सांसद बनिसकेका छन्।पहिलो संविधानसभाको चुनावमा एमालेबाट जितेका झा दोस्रो संविधानसभाको चुनावभन्दा केही महिनाअघि मात्रै माओवादीमा प्रवेश गरेका थिए।
तर दोस्रो चुनावमा उनी पराजित भए। झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्रीसमेत भइसकेका छन्। यादव र झाबीच सो क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ।
सबभन्दा बढी धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित छ। यस क्षेत्रका शीर्ष नेता नेपाली कांग्रेसका निधि र राजपाका महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ।
यतिखेर मतदातालाई फकाउन कांग्रेसका नेता निधि र राजपाका नेता राजेन्द्र महतो दिनरात खटिएका छन्। बिहान उठेदेखि अबेर रातिसम्म दुवै नेताको प्रचार प्रसारका कार्यक्रम चलिरहेको हुन्छ।
दुवै नेताले जित आफ्नो पक्षमा पार्नका लागि आफ्नो क्षेत्रबाहेक कुनै क्षेत्रमा जान सकेका छैनन्। महतो चुनावमा नआउँदा निधिलाई त्यति गाह्रो थिएन तर उनको आगमनसँगै कडा प्रतिस्पर्धा हुने आँकलन सबैले गरिरहेका छन्। धनुषा–३ मा मुस्लिम मतदाताको मतले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले त्यसतर्फ पनि दुवै नेता जोड दिएका छन्।
धनुषा–४ बाट कांग्रेस नेता महेन्द्र यादव र एमाले नेता रघुवीर महासेठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यादव पहिलो पटक संसद्मा चुनाव लड्दै छन्। पहिलो र दोस्रो संविधानसभा चुनावमा उनलाई समानुपातिकबाट संसद्मा प्रतिनिधित्व गराइएको थियो।
यादव तरुण दलको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन्। एमाले नेता रघुवीर महासेठ धनुषाबाट एक पटक सांसद भएका छन्। राष्ट्रपतिमा डा रामवरण यादव चुनिएपछि उनको खाली भएको सिटमा भएको उपचुनावमा महासेठले नै बाजी मार्न सफल भएका थिए। दोस्रो संविधानसभा चुनावमा महासेठलाई पराजित हुनु परेको थियो। महासेठ एक पटक मन्त्रीसमेत भइसकेका छन्।
धनुषामा कूल ३८ लाख ९३ हजार ८६ मतदाता रहेकामा पुरुष २० लाख २८ हजार ८९, महिला १८ लाख ६४ हजार ९१ र तेस्रोलिङ्गी ६ जना रहेका छन्।रासस