
बागलुङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य भएको बताएका छन्।
ओली संयुक्त वाम गठबन्धनद्वारा जिल्लाको गलकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफुहररुले मुलुकको समृद्धि र सुव्यवस्था चाहेको उल्लेख गरे। 'व्यवस्थामा मात्र होइन, व्यवहारमा, प्रणालीमा मात्र होइन प्रक्रियामा पनि परिवर्तन चाहिएको छ' उनले भने।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दिगो सरकारले मात्र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने बताए। उनले चुनावपछि वामपन्थी दलको सरकारले बन्ने दाबी समेत गरे।गर्नुभयो। राष्ट्रिय एकता र स्वाधीनताको रक्षा वाम दलहरूबाट मात्र सम्भव भएको र चुनावपछि वाम एकताको प्रक्रिया सुरु हुने उनको भनाइ छ। 'चुनावलगत्तै एमाले र माओवादीबीच एकता प्रक्रिया सुरु हुन्छ', नेता ओलीले भने, 'हामी शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्दै समाजवादको आधार तयार गर्छौं'
कम्युनिष्टको बहुमतसहितको सरकारले आधारभूत तहका जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने उनले बताए। 'सबै जनताको विकास र समृद्धिको आकंक्षा पूरा गर्ने गरी हामी काम गर्छौं, अब मुलुकको नेतृत्व हामी लिन्छौं' ओलीले भने।
शक्तिशाली कम्युनिष्ट केन्द्र बन्छ : अध्यक्ष दाहाल
सोही सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको प्रक्रिया सुरु भएको बताए।
उनले मुलुकलाई समाजवादको युगतिर लैजाने उद्घोष गर्दै आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावपछि बन्ने कम्युनिष्ट सरकारले त्यसको नेतृत्व गर्ने दावी गरे।
यस्तै प्रचण्डले धेरै दल हुँदा अस्थिरता बढेको भन्दै दलहरूबीचको एकता सुखद भएको बताउँदै आफ्नो दल पनि एकताबारे बहस चलाउन तयार रहेको उल्लेख गरे।