जनकपुरधामः लामो समय मधेश आन्दोलनबाट गुज्रिएको प्रदेश नम्बर २ मा चुनावी एजेण्डा कम छैनन्। तर, चुनावी माहोल र शैली भने फरक छ।
आन्दोलनपछि अधिकार स्थापित गर्ने अभियानमा रहेका मधेशी दल चुनावलाई राजनीतिक लाभका रुपमा उपयोग गरिरहेका छन्। राजनीतिक र सामाजिक परिवर्तनका दृष्टिले मधेशी दल चुनावी एजेण्डाको खालमा छन्। तर, रणनीतिक उदेश्य प्राप्तिकै लागि चुनावी एजेण्डाभन्दा पनि गालीगलौजमा व्यस्त छन्।
कतिपय उम्मेदवारहरु जातीय मुद्दा उठाएर समीकरण निर्माणमा व्यस्त छन्। मधेश केन्द्रित दलका शीर्ष नेता नै चुनावी एजेण्डाभन्दा जातीय समीकरण निर्माणमा व्यस्त छन्।
जनकपुरधामसहितको धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतोका समर्थकबीच समाजिक सञ्जालमा गालीगलौज चर्को छ। त्यति मात्रै होइन दुई नेताबीच भद्दा शैलीमा वाकयुद्ध नै हुने गरेको छ।
निधिले राजेन्द्र महतोसँग आफ्नो तुलना गर्न नमिल्ने भन्दै भाषण गर्छन्। महतोलाई भगौडा भनेर आरोप लगाउँछन्। महतो पनि कम छैनन्, उनी निधिलाई हत्यारा र जातीवादीको आरोप सार्वजनिक रुपमै लगाउँछन्।
बौद्दिक बर्ग दलहरुले चुनावी एजेण्डा भुलेको बताउँछन्।
प्राध्यापक डा.सुरेन्द्र लाभले पहिलोपोष्टसँग भने, ‘मधेशको चुनाव एजेण्डा केन्द्रित हुनुपथ्र्यो र जाति केन्द्रित भयो। उम्मेदवारहरु एजेण्डाभन्दा गालीगलौज केन्द्रित भए।’
प्राध्यापक लाभले मधेश आन्दोलनका एजेण्डा ओझेलमा पार्दै उम्मेदवारहरु व्यक्तिगत मुद्दा र जातिगत मुद्दा उठाउन थालेको बताए। जनकपुरधाममा विकास निर्माणको कुराभन्दा पनि जातीय समीकरणको कुरा हुने गरेको प्राध्यापक लाभ बताउँछन् ।
जनकपुर उद्योग वाणिज्य संघका पूर्वध्यक्ष एवं इन्जिनियर प्रकाश चन्द्र साहले पहिलोपोष्टसँग भने, ‘मधेशमा दुई किसिमका जनता छन्। एउटा शहरिया अर्को गाउँघरका। शहरमा आन्दोलन भएकोले मधेशको मागबारे जानकार छन्। त्यसकारण संविधान संशोधन र अन्य मागहरुको कुरा गर्छन् तर गाउँका मान्छेहरुले आफ्नो निकट व्यक्ति र जातका कुरा गर्छन्।’
पहिलेभन्दा अहिले चुनावी माहोल विग्रेको बताउँदै साहले भने, ‘उम्मेदवारहरु चुनावी घोषणापत्र र एजेण्डाको कुरा नै गर्दैनन्। सबै उम्मेदवार पैसाको प्रलोभनतिर लागेका छन्। विकास निर्माणका कुरा अहिले ओझेलमा परेका छन्। जातीय संगठन बनाउने कुरा अगाडि आएको छ।’
सप्तरीबाट चुनावमा उठेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका उम्मेदवार उमेश यादवबीच पनि एजेण्डाभन्दा जातीय बहसको प्रतिस्पर्धा बढी छ।
उपेन्द्र र उमेशले राजनीतिक र विकासका एजेण्डाभन्दा जातीय समीकरणलाई नै बलियो अस्त्र मानेका छन्। दुबै यादव भएकोले आफूलाई यादवको आधिकारिक उम्मेदवार सिद्ध गर्ने उनीहरुको प्रयत्न छ। किनकी यादवको मत निर्णयक छ।
स्थानीय सञ्चारकर्मी सञ्जीव विक्रम साह मधेशमा एजेण्डाभन्दा व्यक्तिवाद् हावी भएको बताउँछन्। साह भन्छन् ‘मधेशी दलका उम्मेदवारहरुले प्रतिवद्धतापत्र समेत जारी गर्न सकेका छैनन्।’
चुनावमा मधेश आन्दोलनका एजेण्डा नै ओझेलमा परेका छन्। दलका प्रतिनिधिहरुले चुनावलाई अधिकारको लडाईँभन्दा पनि राजनीतिक लाभकै रुपमा बढी हेरिरहेका छन्।