- टिप्पणी
२०५२ सालमा तत्कालीन माओवादी जनयुद्धका अनेकन कारण थिए। यसमध्ये मुख्य कारण थियो –०४६ को परिवर्तनपछि कांग्रेसले एकछत्र रुपमा सरकार चलाउन पाएको अवसर दुरुपयोग गरेर हर क्षेत्रमा जवर्जस्त लादिएको कांग्रेसीकरण र मध्यावधि चुनावको अस्थिर राजनीतिक दाउपेचको परिणाम।
उतिबेलाका जब्बर कांग्रेस र एमालेका स्थानीय नेता कार्यकर्तालाई छानी–छानी मारेर माओवादीले सुरु गरेको जनयुद्ध मुलतः कांग्रेस लक्षित नै थियो। किनकि पञ्चायत पतनपछि सत्ता नाइके कांग्रेस नै थियो। भलै त्यो आन्तरिक किचलोले स्वयं पतनको पर्याय बन्यो।
२०५२ यताका १० वर्षमा देशले भोगेको निरर्थक हिंसाको हिसाव २०६२/०६३ को जनआन्दोलनसम्म आइपुग्दा शान्ति संझौतासँग साटफेर गरेर मिलाउने अप्राकृतिक राजनीतिक सहयात्रामा शोधभर्ना गरियो। फलतः जनयुद्धका बेला माओवादीविरुद्ध सम्पूर्ण शक्ति लगाएर आन्दोलन तुहाउन लागि परेका उनै कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले माओवादीलाई बोकेर शान्तिपूर्ण राजनीतिमा अवतरण गराए।
२०७४ को प्रदेश तथा प्रतिनिधिसभा चुनावसम्म आइपुग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्व. कोइरालाको सपना पूरा गर्ने प्रण दोहोर्याइरहेका छन्। यता माओवादी जनयुद्धका दौरान प्रचण्डपछिका दोस्रो शक्तिशाली नेता डा. बाबुराम भट्टराई यति बेला कांग्रेसकै सहारामा संसद् प्रवेशका लागि जनताको घरदैलो धाइरहेका छन्।
जनयुद्धका कमाण्डर र सह–कमाण्डर प्रचण्ड र बाबुराम हिंसात्मक लाल संघर्षको पृष्ठभूमिबीच दुई किनाराका यात्री भएका छन्। २२ वर्षको राजनीतिक आरोह अवरोहबीच दुबै पात्र फरक किनारामा बसेर कांग्रेसको तारिफदारी गरिरहेका छन्।
तीन वर्षअघि आफ्नो नेतृत्वमा नयाँ शक्ति नामक गैरवामपन्थी दलको घोषणा गर्दा माओवादीका युद्धकालीन नेता, शान्तिकालीन उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुरामले कांग्रेस संस्थापक नेता जननायक विपी कोइराला र नेकपा एमालेका नवीन विचारक मदन भण्डारीको बहुदलीय जनवादलाई फ्युजन गर्ने कार्यनीति घोषणा गरेका थिए। पार्टी स्थापनाकै बेला परम्परागत कम्युनिष्ट नीति, विचार र सिद्धान्तबाट निर्देशित नभई कांग्रेस र उदारवादी वाम विचारक मदन भण्डारीका सिद्धान्त सापटी लिएका बाबुराम अन्ततः २०७४ को चुनावमा कांग्रेसकै समर्थनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्।
बाबुराम रुख चिह्न नै लिएर त चुनाव लडिहालेका हैनन्, तर कांग्रेसको आधिकारिक उम्मेदवारका रुपमा उनले गोरखा २ बाट उम्मेदवारी दिएका कारण प्राविधिक रुपमा नयाँ शक्ति संयोजकमा बहाल नै रहे पनि बाबुराम प्रो–कांग्रेस भइसकेको सन्देश स्थापित भएको छ। भोलि कांग्रेस सत्ता यात्राका दौरान वा कुनै बहानामा अब डा. बाबुराम कांग्रेसी नै बने पनि त्यो अप्राकृतिक नहुन सक्छ किनभने त्यो उनले साम्यवादी वैचारिक यात्राबाट लिएको पारपाचुकेको स्वभाविक परिणाम हुनेछ।
तर जसै जनयुद्धकालीन माओवादी ह्याङ्गबाट नयाँ शक्ति घोषणा गर्दा नै मुक्त भएका बाबुराम मिनी कांग्रेस भइसक्दा उग्र रुपमा चुनावी समरका आलोचना र प्रहारको भने मुख्य तारो बनेका छन्।
एकातिर उनले माओवादी जनयुद्धभर प्रचण्डलाई चैनसँग नेतृत्व गर्न नदिएको तुजुक, अर्कोतिर माओवादीबाट पार्टी अध्यक्ष बाहेकका लाभका सबै पद हासिल गरिसकेपछि गैरमाओवादी कित्तामा राजनीतिको छलाङ अनि कांग्रेसको समर्थनमा बाबुराम माओवादीकै अर्को नेता नारायणकाजी श्रेष्ठविरुद्ध चुनावमा आमने-सामने भैसकेपछि उनी वाम प्रहारको निशाना बन्नु अस्वभाविक भएन।
अझ १७ असोजको अप्रत्याशित वाम एकता घोषणा समारोहमा प्रचण्ड र केपी ओलीसँगै हात हल्लाउँदै अभिवादन गर्दा मुठ्ठी कसेर लाल अभिवादन गर्दै जनयुद्ध र वाम रुझानको लामो जिन्दगीको फ्ल्यासव्याक गरेका बाबुराम सात दिनमा नै वाम गठबन्धनबाट नाटकीय रुपमा अलग भएपछि त झनै बाबुराममाथि खनिने बहाना वाम गठबन्धनका लागि के खोज्छस् कानो आँखा भने जस्तै भएको छ।
खासमा राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति बन्ने बाबुराम सपना शतप्रतिशत फेल भएकै हो। यसकारण उनले कतै न कतै, कसै न कसैको सहारामा डुब्न लागेको राजनीति बचाउन आडभरोसा लिनै पर्ने थियो। त्यस कारण उनले स्थानीय चुनावका बेला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीसँग गठबन्धनदेखि पार्टी एकतासम्मको असफल प्रयास गरे। त्यसपछि वाम एकताका लागि अन्तिममा नै भए पनि केपी ओलीको साहारा लिएर ब्याक भए।
तर एमाले माओवादीबीचको वाम एकतामा प्रचण्ड हावी भएर हो वा केपी ओलीले पनि आवश्यक भाउ दिन लायक नसम्झेर बाबुरामले वामभित्र स्पेश बनाउन सकेनन्। अनि थुनेर कुट्न थालिएको बिरालोको नियतिमा नै वाम गठबन्धनबाट लोकलाज ख्याल नगरी बाबुराम बाहिरिएका हुन्। यसकारण बाबुरामले मर्नभन्दा बौलाउन जाती भनेजस्तै बाँकी राजनीतिक जीवनको अस्तित्व रक्षाका लागि नै मिनी कांग्रेसी रोडम्याप बनाएका हुन्।
आलोचकहरुले बाबुरामलाई खुइल्याउने अनेक आधार र कारण उनी आफैंले दिएका छन्। अस्थिर र असफल राजनीतिक प्रयासका आलोकमा। तथापि, जनयुद्धका लालध्वजले विशुद्ध डा. बाबुराम हुन्छु भनेर रंगशालामा हजारौंका सामु कसम खाइसकेको पृष्ठभूमिमा उनलाई वाम गठबन्धनको साझेदार हुने अपेक्षा गर्नु मुलतः ओली प्रचण्डकै दृष्टि दोष थियो।
सिद्धिएलान् कि सिद्ध्याउलान् बाबुरामले?
वाम गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा टिकट नपाएपछि नेपाली कांग्रेससँग चुनावी तालमेल गरेका भट्टराई र वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ विगतमा एकै पार्टीका नेता हुन्। एकीकृत माओवादी कालमा दुबै उपाध्यक्ष थिए। जनयुद्धकालमा श्रेष्ठ खुला मोर्चामा र भट्टराई युद्ध मैदानमा नै नेतृत्वमा थिए। दुबै नेता आफैंले नै निर्वाचनमा विजयी हुने दाबी गरे पनि दुबैका लागि चुनावी जित फलामे च्यूरा सरह बनिरहेको छ।
दोस्रो संविधानसभाको निर्वाचनमा गोरखा २ बाट निर्वाचित डा. भट्टराई र मकवानपुर २ बाट पराजित श्रेष्ठ यसपटक एकै निर्वाचन क्षेत्रबाट चुनाव लड्नु एकले अर्कोलाई सिद्याउन खोज्दा आफैं भावी सांसद बन्ने बाटो बन्द गर्नु पनि हो। तर राजनीतिको यही क्रुरताका लागि उनीहरु त्यही सिध्याउने सिद्धिने खेलका खेलाडी बनिरहेका छन्।
जनयुद्धकालीन माओवादी सुप्रिमो प्रचण्डका बाबुराम र नारायणकाजी अर्थात् नयाँ बाबुकाजी भिडन्तले प्रतिनिधिसभामा ‘बाबु’ र ‘काजी’मध्ये एकले मात्रै सांसदको विल्ला पाउने छन्। तर, यो भिडन्तमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो जीत हुनेछ। पराजय र विजय दुवैमा प्रचण्डको ‘इगो’को जीत हुनेछ। किनभने पार्टीमा रहुन्जेल बाबुरामले दिएको सकसपूर्ण साथलाई माथ गर्नेदेखि नारायणकाजीको नारद प्रवृतिलाई साइजमा राख्न मतादेश प्राप्तिको यो मौका प्रचण्डको राजनीतिक चातुर्यताको चुनावी महाकुम्भ पनि हो।
निवर्तमान सांसद हुनुका नाताले र देशभर अन्य कतै यति बलियो जनाधारको पकड क्षेत्र नभएकाले पूर्व प्रधानमन्त्री बाबुराम गोरखा २ बाट चुनाव लडिरहेका हुन्। वाम गठबन्धनमा सामेल भएर अन्तिममा कांग्रेससँगको सहकार्यमा पुगेका भट्टराईका प्रतिस्पर्धी बनेका माओवादी केन्द्रका नारायणकाजी उसै पनि सोही क्षेत्रका रैथाने नै हुन्। एकातिर निवर्तमान सांसद अर्कातिर रैथाने नेता गजब छनोट परीक्षामा छन् गोरखा २ का मतदाता। गोरखाली मतदाताका लागि यो रोमाञ्चक चुनावी संयोग पनि हो।
चुनाव उसै पनि मतदाताको अंकगणितको योगफल हो। स्थानीय तहको पछिल्लो जनमतअनुसार नयाँ शक्तिको मत ७ हजार ८७१ मात्र छ। भट्टराईलाई साथ दिएको कांग्रेसको १७ हजार ७० मत छ। माओवादी केन्द्र १७ हजार ८९४ मतसहित स्थानीय चुनावमा उक्त क्षेत्रमा अगाडि छ। माओवादीलाई साथ दिएको एमालेको गोरखा २ मा ७ हजार २०८ मत छ।
तथ्याङ्क भन्छ, स्थानीय चुनावकै अनुपातमा मत खसेमा बाबुरामलाई गोरखामा चुनाव जित्न कठिन छ। पूर्व निर्वाचित जनप्रतिनिधि र व्यक्तित्वका हिसावले नतिजा बाबुरामले पक्षमा पार्न सक्ने विश्लेषणमा पनि दम नभएको पक्कै होइन। तर 'एनी हाउ चुनाव जिताउ' अभियानमा रहेका नारायणकाजीको लागि पनि आफू हार्नै नहुने चुनावी बाजी हो यो। किनभने सांसद हुन नसके सत्ताकांक्षी काजीलाई यो अपूरणीय चुनावी चोट मात्रै हुने छैन, उनको प्रचण्डसँगको संसदीय सत्तालाभको बार्गेनिङ टुल्स् नै भुत्ते हुनेछ।
पहिलो संविधानसभा चुनावमा सर्वाधिक मत ल्याएका बाबुरामको गृहनगरमा नारायणकाजीलाई उभ्याउनु नै एउटा भयङ्कर चुनौती हो जोगी जीवनशैलीका सुकिला कमरेड काजीका लागि। कुनै बेला प्रचण्डविरूद्ध गठजोड बनाएर पार्टीमा उनलाई कमजोर पार्नका लागि संगठित भएका बाबुराम र नारायणकाजीलाई एउटै क्षेत्रमा भिडाएर प्रचण्डले राजनीतिक प्रतिशोधलाई पूरा गरेका छन्। गोरखा–२ बाट बाबुराम वा नारायणकाजी जसले जिते पनि त्यो जीत प्रचण्डको हुनेछ। उनीविरूद्ध ५ वर्षअघि गठबन्धन गर्ने दुईमध्ये एकको पराजय निश्चित हुनेछ।
वीर गोरखाली मतदाताका लागि पनि यो एक अग्नि परीक्षा हो। उनीहरुले जोगी जीवशैलीका काजी छान्ने वा राजनीतिक रुपमा जोगी बन्दै गएका डा. बाबुरामलाई राजनीतिक प्राणदान दिने? यो प्रश्नको उत्तर भने मतदाताले मंसिर १० को मतपत्रमार्फत नै देलान्।