PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

धुर्मुस-सुन्तलीले एकअर्कालार्इ लेखे यस्तो पत्र



पहिलोपोस्ट

धुर्मुस-सुन्तलीले एकअर्कालार्इ लेखे यस्तो पत्र

मन मुटुकी रानी सुन्तली

तिम्रो पत्रले बितेका पलको पुर्नताजगी गरायो। सन्तानको प्यारो बन्न पिताहरुले पहिल्याउनु पर्ने बाटोबारे अझै प्रस्ट भयो। मसँगै २१ औँ शताब्दीका सुपर ड्याडहरुका लागि उपयोगी खुराक बन्यो। हो, तिमीले भनेजस्तै जब तिमीलाई देखेँ, भेटेँ र बुझेँ तिमीसँग नजिक हुँदै गएँ। तिमीलाई पाउने र जीवनसाथी बनेर जिन्दगीसँगै कटाउने सपना देखेँ। जुन सपना साकार भइसकेको छ। यही सपनाको जगमा सयौँ सपनाहरु जन्मिसकेको छ।

 

कलाकारिताका लागि विवाहपछि हामीले रातदिन नभनी दु:ख गर्यौँ। खाइनखाई देशका विभिन्न जिल्ला पुगेर कार्यक्रम गर्यौँ। सुन्दर घर बसाउनका लागि दिनरात खट्यौँ। जब जीवनसाथी बनेर केही वर्ष बिताइयो। मातापिता बन्ने रहर पलायो। त्यो हाम्रो साझा रहर भए पनि शारीरिक कष्ट भने तिम्रो मात्रै भागमा पर्‍यो। पेट बढ्दै जाँदा तिमीले भोगेका समस्या, कलाकारिताको बाध्यता र सुत्केरी हुनु अगाडिको तिम्रो नाजुक अवस्था मेरो आँखा वरिपरी झल्झली घुमिरहन्छ।

 

तिमीलाई यस्तो अवस्थामा मैले अरु केही गर्न नसके तापनि मिठोमिठो खुवाउने कोशिष मैले गरेँ। तिम्रो जिउ भारी हुँदै जाँदा घर धन्दामा पनि मैले जसोतसो हात बढाउन पाएँ। बच्चा जन्माउने कष्ट त मैले चाहेर पनि बाँडेर लिन सकिन। जब हाम्रो जीवनमा छोरी आइन्। त्यो खुसी शब्दमा व्यक्त गर्न सायदै सकिन्छ। किनकि उनी हाम्रो मायाको चिनो थिइन्। दुई ज्यानको संयुक्त रुप थिइन्। आशाको केन्द्र भविष्यको साहारा थिइन्। नौ महिनासम्म पेटमा राख्यौ।

 

कामको व्यस्ततालाई पञ्छाएर तिमीले छोरीलाई आठ महिनासम्म नियमित दुध चुसायौ र उनलाई हृष्टपुष्ट बनाउन मद्दत पुर्‍यायौ। बाध्यताका कारण दिदी भिनाजुको काखमा छोरी छाडेर कामको शिलशिलामा विभिन्न जिल्ला पुग्दा भक्कानिदै र छट्पटाउँदै थुप्रै रात कटायौ। त्यो देख्दा मलाई लाग्यो सन्तानका लागि आमा जतिको महान अरु हुँनै सक्दैनन्।


मलाई छोरीसँग धेरै समय बिताउन नसकेकोमा अति पछुतो छ। तर, छोरी मसँग त्यति नझ्याम्मीदा मेरो मात्र होइन तिम्रो मन पनि चसक्क हुन्छ। छोरीप्रति मेरो माया असिमित छ। उनकै मायाले होला, बाटो हिँड्दा होस् वा कुनै बिकट बस्तीमा पुग्दा नै किन नहोस् सबै साना बालबालिकाको मुहारमा सुबिहानी देख्छु। उनीहरुको भविष्य उज्जवल होस् भन्ने भावना राख्छु। आफ्नो मात्र होइन पुरै देशका भावी पुस्ताको भविष्यबारे सोच्न थाल्छु।

 

तिमीलाई पनि थाहा छ नि, मुसहरका बालबालिकाको बिजोग देख्दा तिम्रो मात्र होइन मेरो आखाँमा पनि आँशु टिल्पीलाएको। ती बालबालिकालाई मैले प्यारका साथ बोकेको थिएँ। त्यही प्यारको प्रतिफल हुनुपर्छ अहिले त्यहाँका सबै बालबालिका विद्यालय जान्छन्। पढेर ठूलो र असल मान्छे बन्ने सपना पाल्छन्। यद्यपि, आफ्नै छोरीले बाबा भनेर नबोलाउँदाको दु:ख व्यक्त गर्न सक्दिन।

 

पर्याप्त समय दिन नसक्दाको प्रतिफलका रुपमा लिएर चित्त बुझाएर बसेको छु। जब सुबिहानी बुझ्ने हुन्छिन् तब उनले धुर्मु बाबा होइन बाबा मात्रै भन्नेछिन्। उनी जस्तै सयौँ बालबालिका र दु:ख र पीडामा रहेकाहरुका लागि हामीले गरेको कामप्रति गर्व गर्नेछिन्। त्यो बेलामा तिमीले छोरी पेटमा खेल्दै गर्दा मैले देखेका सपनाबारे बताउने छौ।

 

छोरीलाई न्वारन पल सम्झाउँदै भन्ने छौ, ‘छोरी तिमीलाई सुन्तलीले बिहानै पाएको भएर तिम्रो बाबाले सुबिहानी नाम राख्दिनु भएको।’ तिमीलाई राम्रोसँग थाहा छ, छोरी नझ्याम्मे पनि छोरीसँग म झ्याम्मीने गरेको छु। केही दिनको अन्तरालमा घर पुग्दा होस् वा बाहिर रहँदा नै किन नहोस् सुबिहानीको स्वर सुन्न आँतुर हुन्छु। तिमीले बोल्दाबोल्दै फोन खोसेर छोरीसँग कुरा गर्छु। तर, धन्य छन् तिम्रा दिदी भिनाजु जस्ले सुबिहानीलाई बुवाको अभाव हुन दिएका छैनन्। सायद छोरीले मेरो खासै वास्ता नगरेको त्यही कारण हुन सक्छ।

 

तर, आधुनिक युगका अभिभावक स्मार्ट बन्दै गइरहेका छन्। उनीहरु सन्तानको भविष्यप्रति निकै सचेत देखिन्छन्। उनीहरूलाई थाहा छ, बच्चको पहिलो पाठशाला भनेको परिवारको काख हो। त्यसैले आफ्नो व्यस्तताको बीच पनि उनीहरूले आफ्ना छोरछोरीलाई माया ममता स्याहार र किताबमा नपाइने ज्ञान र जिउने सीप सिकाउँछन्। अनि राम्रो पढाउने, राम्रो जागिर ख्वाएर प्रतिष्ठित बनाउने सपना बोकेर आफ्नो शरीर घोटिरहन्छन्। यद्यपि, पुरुषप्रधान नेपाली समाजका धेरै जसो बुवाहरु सन्तानबारे अझै सचेत छैनन्। बौद्धिकता जति नै बढे पनि महिलालाई सन्तान उत्पादनको मेसिन ठान्नेहरुको कमी छैन। रहरले बच्चा खेलाउँदै गरेको बावु बच्चाले फोहोर गर्ने बित्तिकै आमालाई बोलाएर सफा गर्न लगाउँछ।

 

बच्चाको स्याहार गर्ने, सरसफाई गर्ने काम आमाहरुकै हो भनेर ठेक्का सम्झन्छ। बालबालिकाको स्याहार सुसार गर्‍यो भने इज्जत जान्छ भन्ने मानसिकता राख्छ। सन्तान कुलतमा लागे आमालाई दोष लगाउँछ। जब सन्तानले प्रगति गर्छ, मेरो छोरो वा छोरी सफल भयो भन्दै गर्वले छाती फुलाउँदै हिँड्छ। जुन कुरा तिमीलाई जस्तै मलाई पनि विल्कुलै मन पर्दैन र मबाट त्यस्तो व्यवहार कहिल्यै हुन पनि सक्दैन। तिमी व्यस्त र म फुर्सदमा हुँदा छोरीलाई खाना ख्वाउन, होमवर्क सिकाउन, सरसफाई गरिदिन पाउँदा सच्चा बावु भएको महसुस हुन्छ। कर्तव्य पूरा गर्न पाएकोमा खसी लाग्छ।

 

हिजो तिमी छोरी थियौ। आज आमा बनेकी छौ। आमाको मायालाई राम्ररी बुझ्न पाएकी छौ। आफ्नोभन्दा छोरीको बारेमा बढी सोच्न थालेकी छौ। यही ख्याल गर्ने भएकाले आमालाई भगवानको साक्षात रुपमा लिइएको हुनुपर्छ। तर, स्मार्ट युगका कतिपय बालबालिका अभिभावकको मायाबाट बञ्चित छन्। काम र व्यस्तताका कारण उनीहरु अभिभावकको मार्गदर्शन बिना धागो चुडीएको चङ्गा जस्तो अनिश्चित छन्। हुर्कदै जाँदा उनीहरु कुलतमा लाग्न सक्छन्। आमा बुवालाई लतार्न सक्छन्। बुढेसकालमा वृद्धाश्रम पुर्‍याउन सक्छन्। त्यसैले तिमीमार्फत सम्पूर्ण अभिभावकलाई सन्तानलाई पर्याप्त माया दिनुहोस्, हेरचाह गर्नुहोस् भन्ने आग्रह गर्दछु।

उही तिम्रो प्यारो धुर्मुस


 

आत्मीय जीवनसाथी धुर्मुस

आज म हाम्रा अतितलाई सम्झँदै छु। व्यस्त अभिभावकका सन्तानले महसुस गर्न सक्ने अभावलाई खोतल्दै छु। जुन अभाव हुन नदिन तिमीमार्फत सम्पूर्ण बुवाहरुलाई अपिलस्वरुप यो पत्र लेख्दै छु।

 

मानिस जब बुझ्ने हुन्छ उसले आफ्नो उज्वल भविष्यको कल्पना गर्छ। मन बुझ्ने जीवनसाथी होस्। आम्दानीको गतिलो श्रोत फेला परोस्। समाजले इज्जत गरोस्। विवाहमा जन्तिको र मर्दा मलामीको लामो लस्कर होस्। भावी पुस्ताले वर्षौँ वर्ष सम्झना गरोस्। यस्तै, कल्पना र सपनालाई पछ्याउँदै हरेक मानिसको जिन्दगीअघि बढ्छ। जुन कुराबाट न तिमी अछुतो रह्यौ, न त म।

 

कलाकारिताले हामीलाई नजिक बनायो। धुर्मुस सुन्तलीको नामले दर्शकमाझ चिनायो। त्यही चिनारी मजबुद बनाउन हामी दुई एक भयौँ। एक अर्काको पर्यायका रुपमा जनमानसको मानसपटलमा बास बस्यौँ। हाम्रो मन एक भए पनि तन फरक थियो। त्यसैले दुईवटा ज्यानको मिश्रणस्वरुप यो धर्तीमा सुबिहानीलाई जन्म दियौँ।

 

हाम्री प्यारी छोरी सुबिहानी मेरो पेटमा खेल्दै गर्दा होस् वा बिरामीको बाबजुद मैले छोरी जन्माउँदाको क्षणमा किन नहोस् मैले तिम्रो मुहारमा खुसीको तरङ्ग देखेको थिएँ। मलाई सम्झना छ, मेरो पेटमा सुबिहानी खेल्दै गर्दासमेत तिमी सपनामा हराउँथ्यौ। सन्तानलाई हुर्काउने, बढाउने र पढाउने बारेमा सोच्थ्यौ। सन्तानलाई मायाले ढपक्क ढाक्ने इच्छा व्यक्त गर्थ्यौ।

 

आफूले भोगेजस्तो दु:खकष्ट सन्तानले भोग्न नपरोस् बारम्बार भन्थ्यौ। हामी सन्तानले दु:ख नपाओस् भन्नेमा सचेत थियौँ। हाम्रो सन्तान स्वास्थ जन्मोस भनेर तिमीले मेरो कत्ति स्याहार गर्‍यौ म गर्भवती छँदा। मलाई वाकवाक लाग्ने बेला फकाएर खाना खुवायौ। जिउ भारी हुँदै जाँदा तिमीले भ्याएसम्म घरको काममा सघायौ। मलाई आराम गर्न भनी रह्यौ। कत्ति चिन्ता लियौ मेरो र पेटभित्रको सुबिहानीको। र त जन्मिएपछि छोरीले हामी र दिदी भिनाजुबाट उचित स्याहार पाएकी छ, समयमा पौष्टिक खान पाएकी छिन्, पूर्ण खोप लगाएकी छिन्, राम्रै स्कुलमा पढेकी छिन्।

 

कलाकारिताको धर्म निभाएर जीवन चलाउन उनी आठ महिनाको हुँदादेखि नै छाडेर हिँड्नु पर्‍यो। कार्यक्रमका लागि घरबाहिर निस्कँदा दुईवटा सन्तान हुर्काइसकेकी अनुभवी दिदी, भिनाजुको मायालु र सुरक्षित काखमा सुबिहानी सुम्पीन्थ्यौँ। उहाँकै काखमा हुर्किएकी छोरी केही दिनको अन्तरालमा घर पुग्दा मुस्कुराउँछे र झ्याम्म अँगालोमा बेरिछिन्। अनयासै आफ्नो मुहारमा खुसी र मेरो आँखामा आँसुका ढिक्काहरु वर्षाइदिछिन्। खुसी लाग्छ, धन्न आमा भएकाले होला जति दिनपछि घर पुग्दा पनि मामु भन्छिन। काखमा लुटुपुटु हुन्छिन्।

 

तर, छोरी बुवासँग जति झ्याम्मिनु पर्ने हो झ्याम्मिन्न। भूकम्पपछि व्यस्तता व्यापक बढेको छ। त्यही व्यस्तताले छोरीले बुवालाई खासै वास्ता नगरेको देख्दा मन चसक्क हुन्छ। जुन कुरा तिमीले बारम्बार भन्दै आइरहेकै छौ।

 

साँच्चै भन्ने हो भने छोरीले तिमीलाई शिक्षा दिएकी छ। सन्तानको लागि समय निकाल्न नसक्दा हुने परिणामको बोध गराएकी छ। काँचो माटोलाई कुमालेले जस्तो स्वरुप दिन्छ, त्यस्तै भाँडो बन्छ। सुन्दर भाँडो बनाउन समय, शिल्प र लगनशिलताको आवश्यकता पर्छ। हरेक अभिभावक सन्तानको दिशानिर्देशक हुन्। सुरक्षा र शिक्षाका पहरेदार हुन्। बालबालिकाको पहिलो विद्यालय नै परिवार भएकाले पनि सन्तानको उन्नती र प्रगतिको मेरुदण्ड हुन्।

 

यद्यपि मलाई तिमीप्रति कुनै गुनासो छैन। सायद, छोरीले बुझ्ने भएपछि कुनै गुनासो गर्ने छैन। बरु बुवाप्रति गर्व गर्ने छिन्। किनकि तिमीले दु:ख र पीडामा रहेका हजारौँ छोराछोरीको खुसी खोजीरहेको बेफुर्सदीका बाबजुद पनि आफ्नै छोरीलाई सक्दो गरी रहेका छौ। समय कम पाएकी होली तिमीसित, तर माया अबिरल बगेको महसुस गर्नेछिन् सुबिहानीले।

 

भूकम्प गएपछि हाम्रो, र मुख्यतः तिम्रो व्यस्तता अत्तिनै बढ्यो विभिन्न बस्ती निर्माणमा। यी सबै बाध्यताका बाबजुद मेरो आग्रह छ तिमी अनि तिमीजस्ता सम्पूर्ण बावुहरुलाई। हाम्रो समाजमा महिलालाई सन्तान जन्माउने कारखाना मान्ने मानसिकता छ। आमालाई नै सन्तान हुर्काउन ठेक्का दिएजस्तो गरिन्छ। बाबुले छोराछोरीको स्याहार गर्दा नातेदारहरूले खिस्याएर तिनलाई हतोत्साहित गर्छन्।


तिमी त कमसेकम फुर्सदको समयमा छोरीसँग खेल्न खोज्छौ। छोरीलाई बोक्न खोज्छौ। सन्चो बिसन्चो ख्याल गरेर औषधी मुलो गर्ने जमर्को गर्छौ। तर, मेरो सन्तान भनेर नाक फुलाउनेहरु फुर्सदमा पनि बच्चाको दिशा, पिसाब भनेपछि बरुक्क उफ्रेर टाढिन्छन्। राम्रो र सफल भए मेरो नभए त्यस्की आमाले छोराछोरी बिगारी भन्दै धारे हात लाउँछन्। सन्तानप्रतिको आशालाई निराशामा बदल्न सक्छन्।

 

त्यसैले सम्पूर्ण बुवाहरुलाई सन्तानको आवश्यकता बुझ्न तिमीमार्फत आग्रह गर्दछु। सन्तानलाई अभिभावकको मायाको अभाव भएमा सबै कुराले सम्पन्न भए पनि विपन्नजस्तै बनाइदिन्छ। सन्तानको साथमा रहेर पनि एक्लोपनको महसुस हुन्छ। त्यसैले सन्तानलाई समय दिऔँ। हाम्रो पतरसत्तात्मक समाजले नाक खुम्च्याउला बावुले छोराछोरीलाई स्याहर गरेको देखेर। तर त्यसको पर्वाह नगर्नुस्। किनकि तपाईको सन्तानलाई आमाको जत्तिकै बावुको पनि समयको खाँचो छ। जसरी सन्तान जन्माउन आमा र बुवा दुवैको आवश्यकता पर्छ त्यसरी नै उसको भविष्य उज्वल बनाउन पनि आमा बुवाको साथ चाहिन्छ। आमाको माया अनन्त भए पनि बुवाको बेवास्ताले सन्तानलाई अभिभावकको माया र स्नेह अधुरो लाग्न सक्छ। यी कुरामा सचेत बने मात्र सन्तानको मायासँगै उसको उन्नती र प्रगति देख्न पाइन्छ।

उही तिम्रो प्यारी सुन्तली

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell