PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

उम्मेदवार लक्षित आक्रमणले निर्वाचन आयोग स्तब्ध, थप सुरक्षा सतर्कता अपनाउन सरकारसँग आग्रह



पहिलोपोस्ट

उम्मेदवार लक्षित आक्रमणले निर्वाचन आयोग स्तब्ध, थप सुरक्षा सतर्कता अपनाउन सरकारसँग आग्रह

काठमाडौँ :  निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ । 

मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको बेला मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असरपर्ने खाले गतिविधि नगर्न, नगराउन सम्बद्ध सरोकार भएकासँग आयोगले आग्रह गरेको छ । 

जनताको शान्ति र समृद्धिको चाहनालाई सम्मान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाटै शान्तिपूर्णरूपमा आफ्ना गतिविधिलाई अगाडि बढाउन सकिने व्यवस्था रहँदारहँदै जनचाहनाविपरीतका हिंसात्मक घटना गराउनु दुःखद्पूर्ण रहेको आयोगले जनाएको छ । 

निर्वाचनका लागि सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति विश्वस्त रहेको जनाउँदै आयोगले हालैका दिनमा देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारले शान्तिपूर्णरूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले स्तब्ध तुल्याएको जनाएको छ । 

बेलैमा थप सुरक्षा सतर्कता अपनाउन सरकारसँग आग्रह गर्दै आयोगले यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवं निर्वाचनका सरोकार भएकासँग अनुरोध गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्न देश अहिले लोकतान्त्रिक निर्वाचन अभियानमा अग्रसर रहेको आयोगले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell