काठमाडौँ : ‘सर्पको टोकाइबाट अकालमा ज्यान गयो,’ ‘सर्पले टोक्दा एउटै परिवारका सबैजना मरे’ यस्ता हेडलाइन वर्षेनी आउँछन्। विशेषगरी गर्मी मौसमको बेला तराई क्षेत्रमा यस्तो घटना नियमित जस्तो सुनिन्छ।
यसको कारण हो, नेपालमा सर्पले टोकेको विषलाई निस्क्रिय पार्ने औषधि बन्दैन। विदेशबाट आयात गर्नुपर्छ।
छिमेकी देश भारतमा पनि सर्पदंशको औषधि अभाव छ। अन्य औषधि नेपाल पठाए पनि ६ वर्षदेखि भारतले नेपाललाई सर्पदंशको औषधि रोकेको छ। जसको कारण नेपालमा धेरै मानिसहरु सर्पले टोक्दा अकालमा ज्यान गुमाउन बाध्य छन्।
सुनसरीका ३३ वर्षीय लक्ष्मीप्रसाद फुयाँल सर्पदंशको औषधि बनाउन लागिपरेका छन्। तीन वर्षअघि देखि सर्पदंशको औषधि निर्माण गर्न लागिपरेका उनलाई भर्खरै मात्र सरकारले बाटो खोलिदिएको छ।
फुयाँल ८८ करोड ५३ लाख लगानी लगाएर सर्पदंशको औषधि निर्माण गर्ने कम्पनी निर्माण गर्दै छन्। तर, नेपालमा यसअघि सर्पदंशको औषधि निर्माण गर्न भनेर लागिपरेका धेरै सफल हुन सकेका छैनन्। भूतपूर्व आर्मीहरुले सर्पदंशको औषधि उत्पादन गर्ने प्रयास सरकारले सहयोग गर्दा समेत सफल हुन सकेको थिएन।
‘नेपालमै सर्पदंशको औषधि उत्पादन सम्भव छ त?’
हरपेटोलोजिस्ट करन शाह नेपालमा सर्पदंशको औषधि उत्पादन गर्न असम्भव नभएपनि अत्यन्तै चुनौतिपूर्ण रहेको बताउँछन्। यसअघि पटक पटक यस काममा असफल भएका र सरकारले प्रोत्साहन गर्दा समेत औषधि उत्पादन गर्न नसकेकाले निजी क्षेत्रबाट औषधि उत्पादन गर्न फलामको चिउरा चपाएजस्तो हुने उनको तर्क छ।‘दुई चार वटा सर्प र घोडा पालेर औषधि उत्पादन हुँदैन। हजारौँ सर्प र घोडा कहाँबाट ल्याएर पाल्ने? तेत्रो सर्प र घोडा व्यवस्थापन गर्ने विज्ञ कहाँ छन्’ शाह प्रश्न गर्छन्, ‘गुणस्तरीय औषाधि उत्पादन हुने ग्यारेन्टी के? विदेशीले नेपालकै औषधि किन लग्छन्,जबकि उतै गुणस्तरीय औषधि उत्पादन गर्छन्।’
शाहका अनुसार अन्य देशमा उत्पादन हुने औषधि नेपालमा उत्पादन गर्न नसकिने भन्ने होइन। तर, दक्ष जनशक्ती, स्रोत र औषधि उत्पादन गर्ने विशेषज्ञ नेपालमा छैनन्। विदेशबाट विशेषज्ञ ल्याएर नेपालीले काम गर्न कठिन रहेको उनको कथन छ। शाह भन्छन्, ‘काम सुरु गरेको पाँच/सात वर्ष त स्रोत जुटाउन नै लाग्ने देखिन्छ। औषधि उत्पादन गर्ने र आम्दानी गर्न नेपालीहरुले कति समय कुर्न सक्छन्? सर्पदंशको औषधि उत्पादन गर्न गफ लगाए जस्तो सजिलो छैन।’
भारतजस्तो देशमा सर्पदंशको औषधि उत्पादन गर्ने कम्पनी धेरै बन्द भइसकेको शाह सुनाउँछन्, 'नेपालमा जिरो लेभलबाट सुरु गर्नुपर्छ। म्यानपावर, स्रोत साधन सबै जिरो छ। त्यसैले काम सुरु गर्नुभन्दा अघि धेरै गफ दिनु राम्रो हुन्न, किनकि, नेपालमा सर्पदशंको औषधि उत्पादन हुन सय प्रतिशत ग्यारेन्टी छैन।'
***
यता औषधि उत्पादन गर्न लागिपरेका फुयाँल अबको तीन वर्ष भित्रमा नेपालमै औषधि बनाउने दावी गर्छन्। नेपालमा उत्पादन गरी विदेशमा निर्यात गर्न सक्ने उनको दाबी छ।
फुयाँल आफुसँग काम गर्न दक्ष जनशक्ति भएको बताउँछन्। अधिकाशं प्राविधिक, इन्जिनियर, माइक्रोबायोलोजिस्टहरु नेपाली युवा नै रहेको उनको कथन छ।
विज्ञहरुले औषधि उत्पादन गर्न चुनौती भएको बताइरहँदा ‘किन रिस्क मोल्दैछन् त फुयाँल?’
नेपालमा सर्पको टोकाइबाट मानिसहरु मरिरहेको देखेर नै औषधिको उत्पादनमा रिस्क मोलेको उनको तर्क छ। भन्छन्, ‘अध्ययन गर्दै जादाँ नेपालमै औषधि उत्पादन गर्न सम्भव रहेछ। आफ्नो देशका मानिसहरु अकालमै नमरुन र देश आत्मनिर्भर होस भन्ने चाहनाले नै मैलै यो रिस्क लिएको हुँ।’
फुयाँलको टिममा विभिन्न अनुसन्धानकर्ता र इन्जजिनियहरु छन्। दक्ष जनशक्ति, कच्चा पदार्थ र स्रोत तयार रहेको उनको कथन छ। अझै केही प्राविधिकहरुलाई पढ्न अष्ट्रेलिया पठाएको दाबी गर्छन्।
***
माइक्रोबायोलोजिस्ट नवराज न्यौपाने सर्पदंशको औषधि बनाउने काममा जोडिएका छन्। नेपालमै सर्पदंशको औषधि बन्नेमा उनी विस्वस्त छन्। सर्पको औषधि बनाउनको लागि धेरै अध्ययन अनुसन्धान गरेको उनको तर्क छ।
न्यौपाने भन्छन्, ‘औषधि बनाउने कच्चा पदार्थ भनेको सर्प र घोडा हो। यी दुबै नेपालमै पाइन्छ। सर्पबाट विष निकालेर शुद्धिकरण गर्नुपर्छ। त्यसपछि घोडामा इन्जेक्ट गर्नुपर्छ। घोडाबाट झिकेर प्रयोगशालामा लगेपछि मात्र औषधि बन्छ।’
**
स्नेक स्पेसलिष्ट प्रेम विष्ट पनि फुयाँलसंग आवद्ध छन्। विष्ट तिनै व्यक्ति हुन् जसले ४ हजारभन्दा बढी सर्पहरु समातेर उद्धार गरेका छन्। नेपालको कानुनले सर्प पाल्न अनुमति दिएपछि विष्टको सपना पूरा हुने क्रममा रहेको बताउँछन्।
औषधि बनाउनको लागि सर्प जम्मा गर्ने र पाल्ने काम विष्टले गर्नेछन्। सर्पबाट विष निकाल्न र औषधि बनाउन सक्षम रहेको विष्ट सुनाउँछन्।
तर, उनी एक्लै सर्प स्याहार गर्न र विष निकाल्न सक्षम छन त ? विष्ट भन्छन्, ‘काम भर्खर सुरु हुन लाग्दैछ। अब सर्प समात्ने र स्याहार गर्नको लागि अरु धेरैलाई तालिम दिने योजना छ।’
खोटाङमा जन्मिएका विष्ट ९ वर्षको उमेरदेखि नै सर्प समात्ने काम गर्न थालेको बताउँछन्। खोटाङबाट सप्तरी बसाई सरेर आएपछि सर्प समात्ने कामले निरन्तरता पाएको उनको तर्क छ। पछि उनी नेपाल प्रहरीमा भर्ना भए त्यसपछी उनको सर्प समात्ने र उद्धार गर्ने काम व्यापक बन्दै गयो।
चार वर्षअघि नागपञ्चमीको पूर्वसन्ध्यामा विष्टलाई विषालु सर्पले डस्यो। मर्छु भन्ने सोच उनमा आएन। सर्पको डसाइबाट उनी आत्तिएनन्। सामान्य अवस्थामा रहेझै बोलिरहे।
सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको जितपुरमा उनलाई सर्पले डसेको थियो। एम्बुलेन्समा लामो दूरी पार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराए। ९८ प्रतिशत मरिसकेका विष्ट बाँचे । यो समेत दुईपटक सर्पको डसाइ सामना गरेका उनको साहस देखेर उपचारमा संलग्न चिकित्सकहरुसमेत अचम्ममा परे।
विष्ट भन्छन्, ‘मान्छे सर्पको विष लागेर हैन, आतिएर मर्छ । म नमर्नुको कारण हिम्मत हो। म हिम्मत नहारेको कारण सर्प समात्न सकिरहेको छु।’
विष्ट सर्प पाल्ने सपना साकार भएकोमा खुशी छन्। बच्चादेखि साथीभाइले सर्प मार्दा दुख लाग्ने गरेको सम्झिदै भन्छन्, ‘मैलै चार हजार भन्दा बढी सर्प उद्धार गर्न धेरै ठाउँमा पुगे। एक पैसा नलिइकन सेवा गरे। अब दुनियाँले मार्ने सर्पको विष औषधि बन्ने भएको छ। म त्यही काममा लाग्छु।’
एउटा सर्पको विष वर्षमा ५ पटक झिक्न मिल्ने विष्ट बताउँछन्। आफ्नो त्यही अनुभव प्रयोग गरेर काम गर्ने उनको तर्क छ।
***
सर्पदंशको कम्पनी स्थापना गर्न फुयाँलले धेरै संघर्ष गर्नुपरेको सुनाउँछन्। नेपालमा सर्प पाल्ने नियम थिएन। अन्य विभिन्न निकायले पनि यस्तो औषधि बनाउन कानुनको अभाव भएको बताइरहेको थियो। तर, फुयाँलले कम्पनी दर्ता गरिसकेका थिए।
७१ सालमा कम्पनि स्थापना गरेपनि कानुनको अभावले तीन वर्ष त्यतिकै अलपत्र पर्यो। बल्ल कानुन बनेपछि काम सुरु गर्न थालेको फुयाँल बताउँछन् । भन्छन्, ‘तीन वर्ष प्रतिक्षामा गयो। बल्ल ढुक्क भएका छौँ।’
फुयाँल एन्टि स्नेक भेनम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ कम्पनीले सरकारसँग औषधि उत्पादन गर्न इजाजत लिइसकेको बताउँछन्। भन्छन्, ‘सरकारबाट इजाजत प्राप्त भयो। भवन निर्माणको नक्सा पास भइसकेको छ। औषधि बनाउने कच्चा पदार्थको अभाव छैन। अबको २ देखि तीन वर्षभित्रमा नेपालमै औषाधि उत्पादन हुन्छ।’
***
हाल नेपालमा वार्षिक ३० हजार भाएल अर्थात ४ करोड बराबरको सर्पदंशको औषधि सरकारले विदेशबाट आयात गर्ने गरेको छ। नेपालमा १५ लाख भाएल अर्थात १ अर्ब ५३ करोड बराबरको औषधि उत्पादन गर्न सकिने फुयाँल बताउँछन्। भन्छन्, ‘नेपालमा ५३ करोड बराबरको औषधिले पुग्छ। बाकीँ औषधि हामी विदेश पठाउन सक्छौँ।’
फुयाँल आफ्नो कम्पनीले ४०० भन्दा बढी दक्ष प्राविधिकलाई रोजगार दिने र वार्षिक १ अर्ब बराबरको विदेशी मुद्रा नेपाल भित्राउने लक्ष्य लिएको बताउँछन्।
‘सरकारले सकरात्मक सहयोग गर्ने हो भने नेपालले छोटो समयमा ठूलो फड्को मार्नेछ । किनकी, अन्य देशमा उत्पादन भएको औषधि भन्दा नेपालमा भएको औषधि सस्तो र गुणस्तरिय हुन्छ।’ फुयाँलले भने, ‘हामीले विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार काम गरेका छौँ। हाम्रो औषधि विश्वकै नम्बर वान बन्नेछ।’
तर, उनले भनेजस्तो सजिलो नभएको विज्ञहरु बताउँछन्। विज्ञ करन शाहकै भनाइलाई आधार मान्ने हो भने, सर्पदंशको औषधि बनाउन असम्भव नभएपनि फलामको चिउरा चपाए जस्तो चूनौतीपूर्ण छ। भन्छन्, ‘नेपालमा चूनौती नभएको भए औषधि बनाउँछु भनेर आउनेहरु यतिबेला पनि केही गरिरहेका हुन्थे। गुमनाम हुँदैनन् थिए।’