PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

भक्तपुर-२ मा पूर्वसभामुख, पूर्वमन्त्री र पूर्वसांसदबीच त्रिपक्षीय भिडन्तः कसले मार्ला बाजी ?



पहिलोपोस्ट

भक्तपुर-२ मा पूर्वसभामुख, पूर्वमन्त्री र पूर्वसांसदबीच त्रिपक्षीय भिडन्तः कसले मार्ला बाजी ?

  • रमेश गिरी 
भक्तपुर : आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं २ बाट प्रतिस्पर्धामा उत्रिएका नेताहरुका कारण यो क्षेत्र चर्चामा छ। 

पूर्वसभामुख, पूर्वमन्त्री र पूर्वसांसदबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा तीनै उम्मेदवारले फरक फरक कार्यसूची लिएर मतदातासँग मत मागिरहेका छन्। यस क्षेत्रमा यसअघि नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसले आलोपालो बाजी मार्दै आएका थिए। 

कांग्रेसबाट पूर्वसभामुख दमननाथ ढुंगाना, एमाले नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत र नेमकिपाबाट पूर्वसांसद अनुराधा थापा मगर चुनावी प्रतिस्पर्धामा छन्। 

उम्मेदवारका कारण मात्र होइन पछिल्लो समयमा उम्मेदवारले ल्याएको कार्यसूचीका बारेमासमेत यस क्षेत्र मतदातामाझ चर्चामा पुगेको छ। ७६ वर्षीय ढुंगानाले मतदातामाझ आफूलाई कुचीकार उम्मेदवारका रुपमा उभ्याएका छन्। उनी राजनीतिमा साह्रै फोहर बढेकाले त्यसलाई सफा गर्न राजनीतिक कुचो लिएर आफू आएको बताउँछन्। 

ढुंगाना भन्छन्,‘देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहरी खेलको सफाइ गर्नुपर्छ, मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रुपमा बुझ्नुस्, म पहिला राजनीति सफाइ गर्छु, अनि विकास।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी नै नगरे पनि नाकाबन्दी गर्यो भनेर गलत हल्ला गरी राष्ट्रवादको गलत नारा लगाएको टिप्पणी गर्दै उनले देशलाई गलत बाटोबाट जान रोक्न विशेष परिस्थितिमा आफू भक्तपुरमा उम्मेदवार भएर आएको बताए। 

यता एमालेका उम्मेदवार ४१ वर्षीय बस्नेत भने आफ्नो उम्मेदवार भक्तपुरको विकासका लागि भएको बताउँछन्। यसअघिको संविधानसभा निर्वाचनमा कांग्रेससँग पराजित बस्नेतले आफूले अधिकांश समय भक्तपुरको विकासमा चासो दिएर अग्रसर भएको बताउँदै अबको पाँच वर्षमा जिल्लालाई चौतर्फी विकास गरिने दृढता व्यक्त गरे।

वर्षौंदेखि विकासमा पछि परेको भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने, गाउँगाउँमा सडक, खानेपानी, सञ्चार, स्वास्थ्य संस्था पुर्याइने, आधुनिक सुविधासम्पन्न शहरको विकास गर्ने उनको कार्यसूची छ । 

बस्नेत भन्छन्,‘ मैले भूकम्पमा घर भत्किएका ६ हजारभन्दा बढी पीडितलाई लत्ताकपडा, खाद्यान्न, नगददेखि जस्ताको टहरा बनाइदिएर सहयोग गरेँ, पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा र म उद्योगमन्त्री हुँदा भक्तपुरमा पाँच अर्बको बजेट ल्याएर विकासका काम शुरुवात गरेँ, अबको पाँच वर्षमा भक्तपुरलाई विकासबाट सम्पन्न जिल्ला बनाउने मेरो एजेण्डा छ।’ 

प्रतिस्पर्धामै रहेकी नेमकिपाकी उम्मेदवार ३६ वर्षीया मगरको पनि फरक कार्यसूची छ। उनीसँग राजनीतिक सफाइ र विकासका कार्यसूचीभन्दा पनि सिद्धान्तका कार्यसूची बढी छन्। देशमा समाजवादले ल्याउने परिवर्तन र पूँजीवादले ल्याउने संकट, धनी र गरिबबीचको बढ्दो खाडल र वैदेशिक हस्तक्षेपविरुद्ध चाल्नु पर्ने कदमका कार्यसूची लिएर उहाँ मतदातामाझ पुगेकी छन्। 

उनी देशमा भ्रष्टाचारी, देशद्रोही, बलात्कारीजस्ता अपराधीलाई फाँसीको कानुन ल्याउनुपर्ने बताउँछिन्। त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा यस पटकको निर्वाचनमा ढुंगाना, बस्नेत वा मगर कसले बाजी मार्ला भन्ने चासो र चर्चा चौतर्फी बढेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell