विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले उम्मेदवारलाई सुरक्षित एवं निर्वाध रुपमा निर्वाचनको कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए।
ओलीले मुलुकका विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा सरकार मौन बसेको आरोप लगाउँदै वर्तमान सरकार नै निर्वाचनको मिति पर सार्न लागिपरेको आरोप लगाए।
एक प्रश्नको जवाफमा ओलीले सरकारले खुल्ला रुपमा राज्यकोष दुरुपयोग गरी निर्वाचनलाई प्रभावित गर्ने कार्य भइरहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले यसबारे छानविन गर्ने र दोषीमाथि कारबाही हुने गर्ने बताए।
ओलीले सरकारबाट निर्वाध रुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोगले प्रभावकारी ढंगले अनुगमन नगरेको आरोपसमेत लगाए।रासस