
काठमाडौं : फिल्म 'फिर्के'को पहिलो गीत 'चट्टै' सार्वजनिक भएको छ। 'चट्टै' बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ।
गीतको भिडियोमा सुलेमान शंकर 'इकु' र नव-नायिका क्रिष्टिना पौडेल फिचरिङ छन् भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ। सुवाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्द रहेको छ।
'इकु'को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको फिल्म पुस १४ गते रिलीज हुनेछ। 'फिर्के'मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
फिल्मलाई रवि डंगोलले निर्देशन गरेका छन्। छ वटा नेवारी (नेपाल भाषा)का चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा 'बेमान'को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन्।
यसअघि 'इकु' र 'इकु २' चलचित्रका निर्मातासमेत रहेका कलाकार सुलेमान शंकरले 'फिर्के'मा इकुभन्दा फरक भूमिकामा अभिनय गरेका छन्।