
काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयघात भएको छ। दाहाललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको बताइए पनि अस्पतालले कुनै सूचना दिएको छैन।
दाहाललाई आइतबार बिहान अचेत अवस्थामा अस्पतला पुर्याइएको पारिवारिक स्रोतले जानकारी दियो।
अचानक छोरा प्रकाश अस्पताल भर्ना गरेको खबरपछि प्रचण्ड झापाबाट काठमाडौँ फर्किएका छन्। वाम गठबन्धनको चुनावी सभाका लागि प्रचण्ड झापा पुगेका थिए। आइतबारको कार्यक्रम छाडेर प्रचण्ड काठमाडौँ फर्किएका हुन्।
भरतपुर महानरपालिका मेयर रहेकी प्रचण्ड पुत्री रेणु दाहाल पनि काठमाडौँ आउन लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
नर्भिकमा अहिले माओवादी केन्द्रका शुभचिन्तक र अन्य सर्वसाधरणको समेत भिड लागेको छ। अस्पतालले औपचारिक रुपमा दाहालको अवस्थाबारे कुनै प्रतिक्रिया दिएको छैन।