
बैतडी: मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बैतडीमा शुक्रबारदेखि प्रशिक्षण शुरु भएको छ। जिल्लामा दुई चरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइने भएको छ।
मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासँग गर्नुपर्ने व्यवहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामका बारेमा जानकारी दिनका लागि सदरमुकाममा प्रशिक्षण शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए।
पहिलो चरणको कार्यक्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १९० जना सहभागी भएका छन्। जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका विभिन्न पदका कर्मचारी छनोट गरेर प्रशिक्षण दिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
यही मंसिर १० गते पहिलो चरणमा हुने चुनावका लागि एक हजार ४५० जना कर्मचरी खटाइने मुख्य निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ। कर्मचारीको नामावली तयार पारिसकेको र मंसिर ५ गतेबाट मतदान केन्द्रमा कर्मचारी परिचालन गरिने बताइएको छ। बैतडीमा १८२ जना मतदान अधिकृत र १८२ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिने भएका छन्। एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा १२० मतदानस्थल रहेका छन्। रासस