PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

माथिल्लो तामाकोशी आयोजनाको मुख्य सुरुङ निर्माण सकियो, भौतिक प्रगति ९२ प्रतिशत 



पहिलोपोस्ट

माथिल्लो तामाकोशी आयोजनाको मुख्य सुरुङ निर्माण सकियो,  भौतिक प्रगति ९२ प्रतिशत 

काठमाडौं :  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको उपस्थितिमा आज बिहान मुख्य सुरुङ निर्माण कार्य सम्पन्न भएको हो। 

कूल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ। कूल ४५६ मेघावाट क्षमताको आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

आयोजनामा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र बीमा संस्थानको लगानी छ। मुख्य सुरुङ भैँसेदेखि गोगरडाँडासम्मको खण्डको खन्ने कार्य ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख विज्ञानराज श्रेष्ठले जानकारी दिए। 

आयोजनाको अत्यन्त कठिन कार्यका रुपमा रहेको दुईवटा ठाडो सुरुङ खन्ने कार्य गत भदौ ३१ गते नै सम्पन्न भइसकेको छ। आयोजनाका अनुसार हाल ‘हेड वक्स’को ९० प्रतिशत र भूमिगत विद्युत्गृहको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ। 

त्यस्तै हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलअन्तर्गत उपकरण जडानको कार्य धमाधम भइरहेको श्रेष्ठले जानकारी दिए। 

यसैगरी गोगर–खिम्ती २२० केभी प्रसारण लाइन निर्माणमा पनि उल्लेख्य सफलता हासिल भएको छ। कूल १२७ टावरमध्ये हालसम्म ११८ वटा टावरको जग निर्माण सम्पन्न भएको छ।

९७ वटा टावरको जडान कार्य सम्पन्न भएको छ भने ७.५ किलोमिटर तार तान्ने कार्य सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ। २०७२ सालको ‘गोरखा भूकम्प’ले गर्दा मुख्य सुरुङ निर्माण कार्य डेढ वर्ष स्थगित भएको थियो।

स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले मुलुकको आन्तरिक माग धान्नका लागि सहायक सिद्ध हुने आयोजनाको विश्वास छ। 

सुरुङ निर्माण कार्य सम्पन्न भएकामा खुशी व्यक्त गर्दै ऊर्जा सचिव उपाध्यायले लामो समयदेखिको नेपालीले अपेक्षा गर्दै आएको आयोजनाको सबैभन्दा अप्ठेरो कार्य सम्पन्न भएपछि आयोजना नयाँ गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत् इतिहासमा स्वदेशी लगानीमा नै यति ठूलो परियोजना निर्माण सम्पन्न हुने क्रममा पुग्नु सबै नेपालीका लागि खुशी र उत्साहको विषय भएको बताए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell