
इटालिनय सिरी ए अन्तर्गत गएराती भएको खेलमा लिग लिडर नेपोली र रोमा विजयी भएका छन्। नेपोलीले एसी मिलान तथा रोमाले लाजियोलाई समान २-१ ले हरायो।
नेपोलीलाई घरेलु मैदानमा जित दिलाउन लरेन्जो इनसिग्ने र पिओर जिलिन्स्कीले गोल गरे। मिलानका लागि खेलको अन्त्यतिर अलेसियो रोमागनोलीले एक गोल फर्काए। १३ खेलबाट ३५ अंक जोडेको नेपोलीले दोस्रो स्थानको युभेन्ट्समाथि ४ अंकको अग्रता बनाएको छ।

यता रोमाले घरेलु मैदानमा जित हात पार्दा डिएगो पेरोट्टी र राद्जा नाइगोलानले एक एक गोल गरे।
लाजियोका लागि सिरो इम्मोबाइलले पेनाल्टीमा एक गोल फर्काए। जितपछि १२ खेलबाट ३० अंक जोडेको रोमा इन्टर मिलान र लाजियोलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ। इन्टर समान भएपनि गोल अन्तरमा रोमा अगाडी रहेको हो।