PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रकाशको शोकमा चितवनमा आज चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित



पहिलोपोस्ट

प्रकाशको शोकमा चितवनमा आज चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन भएपछि वाम र लोकतान्त्रिक गठबन्धनले आज चितवनमा चुनावी प्रचारप्रसार स्थगित गरेका छन्।

अध्यक्ष प्रचण्डको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका सर्वसाधारण दुखित भएका छन्। चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगित गरेका हुन्। 

प्रकाश २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिएका थिए। उनको बाल्यकाल यहीँ बितेको थियो। 

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका  लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहित भएको जनाउँदै आज घरदैलो र चुनावीसभाका सबै कार्यक्रम स्थगन गरिएको जानकारी दिए। उनले भने,‘एक होनाहार युवाको निधन भएको छ, म दुःखित छु। दाहाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’

पाण्डेको क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर र २६ को दिव्यनगरमा आज घरदैलो र चुनावीसभाका कार्यक्रम थिए। प्रकाशको निधनको खबर पाउनासाथ सबै कार्यक्रम स्थगन गरिएको उनले बताए।

त्यस्तै वाम गठबन्धनले जिल्लाका तीन वटै क्षेत्रमा आज गर्ने भनेको घरदैलो र चुनावीसभाका कार्यक्रम सबै स्थगन गरिएको माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले बताए। 

पार्टी अध्यक्ष प्रचण्ड पुत्र प्रकाशको निधनले सिंगो देश शोकमा रहेको भन्दै जिल्लाका सबै कार्यक्रम स्थगन गरिएको उनले बताए।

वाम गठबन्धनले मङ्सिर ५ गते भरतपुरमा गर्ने भनिएको चुनावीसभा पनि हालका लागि स्थगन गरिएको छ। सो सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell