काठमाडौं : पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको मृत्यु भएपछि विभिन्न पार्टीका शीर्ष नेताहरुले सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाश दाहालको मृत्युले मर्माहत बनाएको भन्दै ट्वीट गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ भन्दै ट्वीटमार्फत श्रद्धाञ्जली दिएका छन्।
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टरार्इले प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तब्ध र मर्माहत भएको भन्दै ट्वीटरमा श्रद्धाञ्जली दिएका छन्। उनी श्रद्धाञ्जलीका लागि गोरखाबाट काठमाडौं आउदै छन्।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु! pic.twitter.com/djb4BYJBvp
— Baburam Bhattarai (@brb1954) November 19, 2017
राप्रपा अध्यक्ष कमल थापाले प्रकाश दाहालको आकस्मिक निधनले स्तब्ध बनाएको बताउँदै व्यक्तिगत रुपमा उनी असल मानिस थिए भनेका छन्। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली दिएका छन्।
प्रकाशको मृत्युमा श्रद्धाञ्जली दिने नेताहरुमा कांग्रेसका नेता गगन थापा, एमालेका नेता प्रदीप ज्ञवाली, योगेश भट्टरार्इ लगायतका नेताहरु छन्।