
काबुल : अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षा अवस्थाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय एजेन्सी, युनिसेफले चिन्ता व्यक्त गरेको छ।
यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएका तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो।
अफगानिस्तानमा आजका मितिसम्म पनि कम्तीमा ३५ लाख बालबालिका विद्यालयबाहिर रहेका छन् भने उनीहरुले राम्रो र पोषणयुक्त खानेकुराबाट पनि बञ्चित रहेका छन्।
अफगानिस्तानका लागि युनिसेफका आवासीय प्रतिनिधि अदेले खोदरले भने– सशस्त्र द्वन्द्वका कारण लामो समयदेखि समस्यामा परेको अफगानिस्तानका बालबालिकाको अवस्था बिगतको तुलनामा नसुध्रिएको उनले बताए।
अफगानिस्तानमा गएको डेढ दशकभन्दा लामो समयदेखि हिंसा जारी छ। हिंसाका कारण यहाँको सामाजिक आर्थिक अवस्थामा पनि नराम्रो प्रभाव परिरहेको छ।
यसैकारण पनि यहाँका बालबालिका आधारभूत आवश्यकताको प्राप्तिबाट बञ्चित हुन पुगेका छन्। यहाँका बालबालिकामध्ये बढी असर बालिकामा परिरहेको देखिएको छ।
विद्यालय बाहिर रहेका भनिएका ३५ लाख बालबालिकामध्ये करिब ७५ प्रतिशत बालिका छन्। विद्यालय जाने गरेका बालबालिका पनि १२ देखि १५ वर्षको उमेरभित्रमा नै उनीहरुले विद्यालय छोड्ने गरेका छन्।
अफगानिस्तानमा विश्वमा नै सबैभन्दा बढी साना विद्यार्थीले सानैमा विद्यालय छोड्ने गरेका छन्। हालै गरिएको एक सर्वेक्षणअनुसार अफगानिस्तानका करिब ६ लाख बालबालिका चम कुपोषणमा बाँचेका छन्।
उनीहरुलाई सबैभन्दा बढी देशको आन्तरिक द्वन्द्व र हिंसाले असर पारिरहेको युनिसेफले जनाएको छ। युद्धका बेलामा पनि बालबालिकालाई शिक्षा, स्वास्थ्य र उनीहरुका आधारभूत आवश्यकतामा कुनै कमी आउन नदिई कामगर्न अफगानिस्तानको सरकार तथा सशस्त्र समूहलाई आग्रह गरेको छ।
त्यसैगरी विश्वका दाताराष्ट्रहरुलाई पनि यहाँका बालबालिकाको अवस्था सुधारका लागि सहयोग पुर्याउन पनि संस्थाले आग्रह गरेको छ। रासस/सिन्ह्वा