
काठमाडौं : अफगानिस्तानले एसीसी यू-१९ युथ एसिया कपको च्याम्पियन बनेको छ। यसअघिको तीन संस्करणमा सेमिफाइनलमा पराजित भएको अफगानिस्तानले पाकिस्तानलाई फाइनलमा १८५ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।
२४९ रनको लक्ष्य पछ्याएको पकिस्तानलाई ६३ रनमा अलआउट गर्दै अफगानिस्तानले ऐतिहासिक उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो। अफगानिस्तानको लागि विकेटकिपर इक्राम अली खिलले नटआउट १०७ रन बनाएका थिए। यस्तै रहमानुल्लाह गुर्बाजले ४० तथा इब्राहिम जद्रानले ३६ रन जोडे।
पाकिस्तानका मोहम्मद मुसाले ३ तथा साहिन साह अफ्रिदीले २ विकेट लिए।
जवाफमा अफगानिस्तानको धारिलो बलिङसामु टिक्न नसकेको पाकिस्तान २२.१ ओभरमा ६३ रनमा अलआउट भयो।
अफगानिस्तानका मुजिव उर रहेमानले ५ विकेट झारे। यस्तै क्वाएस अहमदले ३ विकेट लिए।
पाकिस्तानका मोहम्मद तहाले १९ तथा मुहम्मद हसन खानले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। अफगानिस्तानले समूह चरणको पहिलो खेलमा पनि पाकिस्तानलाई ५७ रनमा अलआउट गरेको थियो।
प्रतियोगिताभर कूल २० विकेट लिएका अफगानिस्तानका मुजिव उर रहेमान म्यान अफ दी सिरिज घोषित भए।