
काठमाडौँ : नेकपा एमालेले नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टी सचिवालय सदस्य विष्णु रिमालले विज्ञप्ति जारी गरी दाहालको निधनप्रति दुःख व्यक्त गदै देशभरि नै आज एक घण्टा चुनावी कार्यक्रम स्थगन गरिएको जानकारी दिए।
दाहालप्रति सम्मान व्यक्त गर्न र माओवादी केन्द्रका अध्यक्ष दाहाल परिवारप्रति समवेदना प्रकट गर्न देशभरि दिउसो २ देखि ३ बजेसम्म चुनावी कार्यक्रम स्थगन गरिएको जनाइएको छ।
‘‘माओवादी केन्द्रका अध्यक्ष दाहालले चुनावी कार्यक्रम नरोक्दा पनि हुने भन्नुभएको छ ’, उनले भने, ‘‘ तर दाहालप्रति सम्मान व्यक्त गर्नका लागि एक घण्टा देशभरिका चुनावी कार्यक्रम स्थगन गरेका हौँ।’
घटनाको जानकारी पाउनासाथ पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताले नर्भिक अस्पताल पुगेर नेता दाहाल र परिवारप्रति समवेदना प्रकट गरेका थिए।रासस