
काठमाडौँ : रक्षामन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
क्यानाडाको भ्यानकुभरमा गतसाता भएको राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनबारे जानकारी दिन आज रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री प्रधानले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
केही दिनयता निर्वाचनलाई प्रभावित पार्ने तथा प्रचारप्रसारमा अवरोध खडा गर्नेलगायत आपराधिक गतिविधि हुन नदिन सरकार गम्भीर रहेको भन्दै प्रधानले त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गरिने बताए।
बम, बारुदी पासो विष्फोटजस्ता ३४ वटा आपराधिक घटनाको सूचना आफूलाई गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी दिँदै उनले देशमा आतंक मच्चाउनेविरुद्ध सरकार सचेत र गम्भीर रहेको बताए।रासस