
काठमाडौं : यति हिमालयन शेर्पा क्लब प्रथम चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा आइतबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै शेर्पाले फ्रेण्ड्ससँगको फाइनलमा भेट पक्का गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा शेर्पाका त्रिदेव गुरुङले दोस्रो हाफमा गरेको गोल नै शेर्पालाई फाइनलमा पुर्याउन निर्णायक बन्यो। त्रिदेव गुरुङले खेलको ५६ औं मिनेटमा गोलरक्षक अर्पण कार्कीले रिलिज गरेको लामो बललाई आर्मीका डिफेन्डरबीच तालमेल नमिलेको अवस्था र गोलरक्षक महेश्वर श्रेष्ठ पोजिसनमा नभएको बेला चिपमा गोल गर्न सफल भएको थियो।
शेर्पाका सजित मोरान खेलको म्यान अफ दि म्याच घोषित भए। उनले ३ हजार रुपैया प्राप्त गरे।
अब हिमालयन शेर्पाले उपाधिका लागि फ्रेण्ड्ससँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। फ्रेण्डस सिएमजी क्लब संकटालाई १–० ले नै पराजित गर्दै फाइनमा पुगेको हो।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख तथा दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।