काठमाडौँ : आइतबार बिहान अचानक प्रकाश दाहालको मृत्युको खबर धेरैलाई पत्याउन गाह्रो पर्यो। हुन पनि न बिरामीको खबर, न त्यस्ता अन्य कुनै घटना। धेरैको चासो रह्यो अकस्मात् हट्टाकट्टा देखिरहेका व्यक्तिको मृत्यु आखिर भयो कसरी?
नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टका अनुसार अस्पताल ल्याउनु तीन घण्टा अघि नै प्रकाशको मृत्यु भइसकेको थियो।
डा. भट्टले भने, ‘दाहालको मृत्यु ’सडेन कार्डियल डेथ’ हो। मुटुको चाल बिग्रिएको एक घण्टाभित्र इलेक्ट्रिक सक लगाउन सक्यो भने बिरामीलाई बचाउन सकिन्छ। अस्पताल चाँडै ल्याउन सकेको भए जे पनि हुन सक्थ्यो। तर, ९० प्रतिशत यस्ता केसका बिरामीहरुलाई बचाउन सकिन्न।’
उनका अनुसार प्रकाशलाई ढिलो अस्पताल पुर्याइएको कारणले नै बचाउन सकिएन। यदि हर्ट अट्याक भएको एक घण्टाभित्र अस्पताल पुर्याएको भए प्रकाशको बाँच्ने सम्भावना हुन्थ्यो।
अस्पतालका मृटुरोग विशेषज्ञ डा जेपी जैसवालले पत्रकार सम्मेलनमा भने, ‘अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको नौ मिनेटमै हामीले उहाँको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौँ।‘
‘अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उहाँ पूर्णतया बेहोश, हातखुट्टा पूरै नीलो र कडा, श्वासप्रश्वास पूर्णतया बन्द, शरीर पूरै चिसो, इसिजी गर्दा मुटुले गतिविधि नगरेको हुँदा बिहान ५ बजेर ५९ मिनेटमा मृत घोषणा गरिएको थियो”, डा जैसवालले भने।
के भएको थियो प्रकाशलाई ?
सडन कार्डियक अट्याक (एससिए) विशेषगरी दीर्घरोगीहरुलाई हुने खतरा बढी रहन्छ। तर अरुलाई पनि यस्तो हुनसक्छ।मुटुरोग विशेषज्ञ डाक्टर भट्ट भन्छन्, 'मुटुको चाल बिग्रिएर वा मुटुले काम गर्न छोडेर श्वासप्रस्वास बन्द भएको एक घण्टाभित्र मानिस मर्छ भने त्यो सडन कार्डियल डेथ हो। प्रकाशलाई भएको त्यही हो।'
कतिपय मानिसको ब्रेन ड्यामेज हुन्छ। अचानक मष्तिस्कको आकार बढ्छ। फोक्सोमा रगत जम्छ। यस्तो हुँदा मष्तिस्कमा रगत र अक्सिजन पुग्दैन। श्वासप्रस्वास बन्द भएपछि मानिसलाई सडन कार्डियल डेथ हुन्छ।
डाक्टर भट्ट भन्छन्, ‘मुटुको पावर ३० प्रतिशत वा सो भन्दा कम हुने, पहिला हर्ट अट्याक भइरहने, सुगरका रोगी, डायबेटिजका बिरामीहरु, धूमपान र अत्यधिक मद्यपान गर्नेहरु सडन कार्डियल डेथका उच्च जोखिममा हुन्छन्।'
राति सुत्दा घुर्ने मानिसहरुलाई समेत सडन कार्डियल डेथ हुने खतरा रहेको डा. भट्ट बताउँछन्।
त्यसैगरी मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले ट्विट गर्दै लेखेका छन्- एससिएको कारणमा हृदयघात हुने रोग (Ischaemic Heart Disease), हृदयको चालमा गडबडी, चालका लागि बनेका कोष/बाटोको जन्मजात खराबी, दवाई र सामान्य पखालाले हुने पोटासियमको कमिजस्ता कुराहरू हुन सक्छन्।
डा जैसवालले भने, “उहाँलाई आकस्मिक हृदयाघात भएको हो, किनकि उहाँको शरीर हेर्दा राम्रो छ, केही सेवन गरेको देखिएन। धेरैजसो युवामा आकस्मिक हृदयाघात देखिन्छ, वंशाणुगत पनि हुन्छ, ९९ प्रतिशत यही कारण मृत्यु भएको हुनसक्छ।”
आकस्मिक हृदयाघातका कारण हिँड्दाहिँड्दै छाती दुख्ने र तुरुन्त ज्यान जान सक्ने डा जैसवालले बताए।
किन गरिएन पोस्टमार्टम?
प्रकाशको मृत्युसँगै उनको शव पोस्टमार्टम किन नगरिएको भन्ने प्रश्न पनि उठेका छन्।नर्भिक अस्पताल परिसरमा सञ्चारकर्मीहरुसित कुरा गर्दै डा. जेपी जैसवालले भने, ‘यस्तो पेसेन्टलाई हामी अटोप्सीमा रिफर गर्दैनौँ। किनभने कुनै पनि एभिडेन्स त्यस्तो देखिएको छैन।‘
त्यस्तै डा. कोइरालाले पनि ट्विट गर्दै लेखेका छन्, ‘एससिए भनेपछि अन्य कुनै कुराको शंका नभई अटोप्सी गरिन्न।‘