PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

६ अर्ब लागतमा जनकपुरमा 'श्रीराम–जानकी रंगशाला’ निर्माण हुने



पहिलोपोस्ट

६ अर्ब लागतमा जनकपुरमा 'श्रीराम–जानकी रंगशाला’ निर्माण हुने

काठमाडौं : ६ अर्बको लागतमा जनकपुरमा 'श्रीराम–जानकी रंगशाला’ निर्माण गरिने भएको छ। त्यसका लागि जनकपुर उप–महानगरपालिका वडा नं. १४ रजौरमा गुठी संस्थान प्रधान कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई जग्गा उपलब्ध गराएको छ।

गुठी संस्थानले लक्ष्मण मन्दिरको करिब १६ विघा १८ धुर जग्गा खेल पूर्वाधार बनाउन ३० वर्षका लागि लिजमा राखेपलाई उपलब्ध गराएको हो। राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र गुठी संस्थानका प्रशासक नारायण चौधरीले सो सम्बन्धी सम्झौता पत्रमा आइतबार सातदोबाटोमा हस्ताक्षर गरे।

सदस्य–सचिव विष्टले सबै पूर्वाधार तयार गर्न ५ देखि ६ अर्ब रुपैयाँ लाग्ने बताउदै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएपछि वास्तविक खर्च आउने बताए। उनले ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको पूर्वाधार बनेपछि मोफसलमा ठूला खेलकुद पूर्वाधारको अभावलाई केहि हदसम्म पूर्ति गर्ने विश्वास व्यक्त गरे।

विष्टले उक्त जग्गामा फुटबल, क्रिकेट र हक्कीको स्टेडियम निर्माण गरिने जानकारी गराउदै कबड्डी, खो खो र कुस्तीको ट्रेनिङ भवनका साथै कभर्डहल पनि बनाइने बताए। सो क्षेत्रफललाई ‘श्रीराम–जानकी रंगशाला’ नामकरण गरिने भएको छ।

जग्गा उपलब्ध गराए वापत राखेपले संस्थानलाई वार्षिक ९ लाख रुपैयाँ भाडा उपलब्ध गराउने छ। त्यो भाडामा हरेक २ वर्षको अन्तरालमा १० प्रतिशतले बृद्धि हुने पनि सम्झौतामा उल्लेख छ। उक्त क्षेत्रफलमा व्यवसायिक प्रयोजनका लागि पूर्वाधार निर्माण गरेको खण्डमा राखेपले आम्दानीको थप २५ प्रतिशत रकम संस्थानलाई उपलब्ध गराउनु पर्ने छ।

सदस्य–सचिव विष्टले खेलकुदका लागि उक्त जग्गा लिन २ वर्ष अगाडिदेखि प्रयास गरेको बताउदै आगामी आथिर्क वर्षदेखि निर्माण कार्यको मुख्य बजेट विनियोजन गर्ने बताए। उनले पालेको आवास गृह, फेन्सिङलगायतका स–साना काम भने यसै आर्थिक वर्षदेखि सुरु गरिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell