धनुषा : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई प्रदेश नम्बर २ को राजधानी बनाउन पार्टीभित्र गृहकार्य शुरु भइसकेको बताएका छन्।
धनुषा क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिले चुनावी प्रचार प्रसारका क्रममा जनकपुर उद्योग वाणिज्य संघमा आयोजित चुनावी सभामा बोल्दै जनकपुरलाई प्रदेशको राजधानी बनाउन कांग्रेसले केन्द्रमा लबिङ शुरु गरिसकेको जानकारी दिए।
उनले भने,‘प्रदेशको राजधानी बनाउनु चानचुने कुरा होइन। गम्भीर प्रयास र सहयोगको खाँचो छ र जनकपुरलाई राजधानी बनाउन म लागिपरेको छु।’
जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको निधिले बताए। उनले भने,‘राजधानी बनाउन पूर्वाधार आवश्यक हुन्छ, केही व्यापारीले जनकपुर चुरोट कारखानाको सम्पत्ति खरिद गर्ने प्रयास गरिरहेको बेला स्थानीय प्रशासनको मातहतमा ल्याएको छु।’रासस