हवाना : उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जाने भएका छन्। उनी सोमबार अपरान्ह क्युबा पुग्ने जनाइएको छ।
उत्तर कोरिया र क्युबाको द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गर्न उनी क्युबा जान लागेका बताइएको छ। क्युबाको विदेशमन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा यसबारेमा जानकारी दिइएको हो।
भ्रमणका क्रममा उनले क्युबाली आफ्ना समकक्षी बुर्नो रोड्रिगेजसँग द्विपक्षीय वार्ता गर्नेछन्। उनी क्युबामा दुई दिनसम्म बस्नेछन्। त्यस क्रममा उनी हवानामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुने बताइएको छ।
उत्तर कोरिया र क्युबासँग अमेरिकाको सम्बन्ध विग्रिएको बेला उनको भ्रमण हुन लागेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका विरुद्ध आर्थिक नाकाबन्दी लगाएको छ। यतिमात्र नभएर उत्तर कोरियाका विरुद्धमा अमेरिकाले सेना पनि परिचालन गर्नसक्ने बताउँदै आएको छ।
उता क्युबासँग पनि पछिल्लो समयमा अमेरिकाको सम्बन्ध विग्रिएको छ । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युबामा रहेको अमेरिकी दूताबासबाट आफ्ना आधाजति कर्मचारी फिर्ता बोलाएको छ।
सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै क्युबा र उत्तर कोरियाले भने असल कूटनीतिक सम्बन्ध कायम गर्दै आएका जनाइएको छ।
उत्तर कोरियाले पछिल्लो समयमा आणविक क्षेप्यास्त्र परीक्षण गरिरहेका कारण त्यसको विरोध गरिरहेको अमेरिकाका विरुद्धमा उत्तर कोरिया झन् कडा रुपमा प्रस्तुत हुने गरेको छ। यसकारण यी दुई देशको सम्बन्ध अहिले राम्रो छैन ।
त्यसैगरी क्युबासँग अमेरिकाको झण्डै आधा शताब्दी लामो समयदेखि सम्बन्ध विग्रिएको थियो। त्यस सम्बन्धमा अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाको प्रयासले सम्बन्ध पुनःस्थापना गरिएको थियो।
तर ट्रम्प प्रशासन आएपछि भने त्यसले निरन्तरता पाउन सकेन। अहिले अमेरिकीहरु क्युबा जाँदा पनि सरकारको अनुमति लिएर जानुपर्दछ भने अमेरिकीले क्युबामा गएर वा क्युबालीले अमेरिकामा आएर व्यापार व्यवसाय गर्न नपाउने नयाँ व्यवस्था लागू गरिएको छ। रासस/सिन्ह्वा