PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मोरङ कांग्रेसमा तरङ्ग ल्याउँदै लडाकु स्वभावका उमेश गिरी किन छिरे एमाले?



अनन्तराज न्यौपाने

मोरङ कांग्रेसमा तरङ्ग ल्याउँदै लडाकु स्वभावका उमेश गिरी किन छिरे एमाले?

विराटनगर : नेपाली काङ्ग्रेस (विश्वेश्वर) गठन गरेर २०५१ सालमा आफ्नो माउ पार्टी नेपाली काङ्ग्रेससित छुट्टिएका उमेश गिरी सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विराटनगर शान्ति चोकमा आयोजित कार्यक्रममा गिरीलाई अबिर र मालाले स्वागत गर्दै एमालेमा प्रवेश गराएका हुन्।

सानैदेखिको लडाकू र उग्र प्रकारको उनको स्वभाव ६५ वर्षको उमेरसम्म पनि उस्तै छ। 

किशोर उमेरमै नेपाली काङ्ग्रेसको राजनीतिसित आबद्ध रहेका उनी २०२८ सालमा जेल परेका थिए। २०३० सालमा थुनामुक्त भएपछि उनकोसमेत संलग्नतामा दुर्गा सुवेदीले हवाई अपहरणको योजना बनाएका हुन्।

हवाई अपहरण काण्डमा नेपालमा पक्राउ पुर्जी जारी भएपछि गिरी निर्वासित भए। उनले कहिले फारबिसगञ्ज, कहिले पटना र कहिले बनारसमा रहेर नेपाली काङ्ग्रेसको सशस्त्र आन्दोलनलाई सघाए। पार्टीले उनलाई हतियार खोज्न, खरिद गर्न र तिनको व्यवस्थापन गर्न जिम्मा दिएको थियो।

काङ्ग्रेसले २०३२ सालमा ओखलढुङ्गामा राम, लक्ष्मणको नेतृत्वमा सशस्त्र हमला गर्न आफ्नो राजनीतिक फौज पठाएको थियो। 

तिनलाई हतियार र अन्य बन्दोबस्तीका सामानको व्यवस्था गर्ने जिम्मा गिरीले नै पाएका थिए। कमला नदीको बगरबाट राम, लक्ष्मणको टोलीलाई बिदा गरेर गिरी निर्वासनका लागि भारत नै फर्किए।

बिपी कोइराला २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किए पनि गिरी नेपाल आएनन्। हवाई अपहरण र सशस्त्र क्रान्तिका मुद्दा उनलाई लगाइएको थियो। जनमत सङ्ग्रहका बेला बिपीको आग्रहमा तत्कालीन राजा वीरेन्द्रले राजबन्दी र निर्वासित कार्यकर्तालाई आममाफी दिएपछि २०३७ वैशाख १ गते गिरिजाप्रसाद कोइरालासहित गिरी नेपाल फर्किए।

कोइराला परिवारसित गिरीको वैवाहिक नातो छ। उनी काङ्ग्रेस नेतृ स्वर्गीय नोना कोइराला (डा.शेखरकी आमा)–का भाइ अम्बुप्रसाद उपाध्यायका छोरी–ज्वाइँ हुन्।

अरु सबै कोइरालालाई पन्छाएर आफ्नो माइती खलकलाई मात्र बढ्ता स्नेह गर्ने भनेर आरोपित नोनाले गिरीलाई अत्यन्त अप्ठ्यारोमा बचाएकी छन्।

विराटनगरका प्रसिद्ध उद्योगपति तुलसीराम अग्रवाललाई २०५८ सालमा अपहरण गराउने मुख्य योजनाकार गिरी नै थिए। तर मुद्दा चलाउने बेलामा नोनाले प्रहरीमा हस्तक्षेप गरिन् र गिरीलाई बचाइ छाडिन्।

अपहरणपछि मुद्दाको टुङ्गो नलागुन्जेल गिरी भारतको कालिम्पोङ गएर बसेका थिए। २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरेर तुलसी गिरीलाई सरकारमा राखेपछि शाही कदमको समर्थन गर्दै गिरी नेपाल फर्किए। यसका लागि उमेशका नातेदार डाक्टर ज्ञानेन्द्र गिरीले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए। डाक्टर गिरी पनि २ हप्ताअघि एमालेमा प्रवेश गरेका थिए।

ज्ञानेन्द्रको शासनमा अपहरणको मुद्दा उल्टिएला भत्रे डर गिरीलाई थियो। पूर्वाञ्चलका तत्कालीन डिआइजी राजेन्द्रबहादुर सिंहले गिरीलाई जहाँ भेटे पनि गोली हान्नु भत्रे आदेश गरेका थिए। डिआइजी सिंहको पिए फाँटमा काङ्ग्रेस पृष्ठभूमिका सई सञ्जीव सापकोटाले पटकपटक गिरीलाई ‘इन्काउन्टर’मा बचाएका थिए। शाही कदमको समर्थन गरेर गिरी विराटनगर आएपुग्दा डिआइजी सिंहको पनि सरुवा भइसकेको थियो। गिरी पनि शाही कदमको समर्थन गर्न बाध्य थिए।

प्रजातन्त्रको पुनःस्थापना २०४६ पछि गिरी काङ्ग्रेस नेतृ शैलजा आचार्यसित अत्यन्त नजिक र आचार्यका निजी सहायकजस्तै थिए। तर मध्यावधि निर्वाचन २०५१ आइपुग्दासम्म आचार्य र गिरीको सम्बन्धमा ठूलो फाटो आइसकेको थियो।

सुजाता कोइराला आफ्नो वैवाहिक जीवन परित्याग गरेर २०४८ सालमा जर्मनीबाट नेपाल फर्किएपछि कोइराला परिवारमा वंशको उत्तराधिकार कसले थाम्ने भत्रे होडबाजी अस्वस्थ ढङ्गले सुरु भइसकेको थियो।

यस प्रतिस्पर्धामा भान्जी शैलजा सबैभन्दा अगाडि थिइन्। तर आफ्ना कान्छा छोरा डा. शेखरलाई राजनीतिमा अघि बढाउने आकांक्षा बोकेकी नोनालाई भान्जी शैलजाको राजनीतिक उत्थान सह्य थिएन।

शैलजा त्यसै पनि स्पष्टवादी र खरो स्वभावकी भएकाले कतिपय मुद्दामा उनी गिरिजाप्रसादसित पनि मतभेद राख्थिन्। आफू कृषिमन्त्री हुँदा अमेरिका भ्रमणताका उनले ‘बालुवाटारमा भ्रष्टाचार र कमिसनको जालो छ, म त्यो जालो तोड्न प्रयत्नरत छु’, भनेकी थिइन्। 

आचार्यको यो वाक्य आमसञ्चारमा भाइरल भएपछि नेपाल फर्कनेबित्तिकै प्रधानमन्त्री गिरिजाले उनको राजिनामा मागेका थिए।

उनै शैलजाका विरूद्ध उनकै अनन्य सहयोगी उमेश गिरीले २०५१ को मध्यावधि निर्वाचनमा नेपाली काङ्ग्रेस विश्वेश्वरको पार्टीबाट उम्मेदवारी दिए। 

गिरीलाई नोनाको स्पष्ट समर्थन थियो। यसबाहेक कोइराला निवास समर्थक नारायणप्रसाद कोइराला लगायतको साथ–सहयोग थियो।
मध्यावधि निर्वाचनपछि गिरी र कोइराला निवासबीच पनि फाटो बढ्न थाल्यो। गिरीका सबै इच्छा–आकांक्षा कोइराला परिवारले पूरा गर्न सकेन। विशेषतः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भएका डा.शेखर कोइरालाले आफ्ना मावली खलकका सबैजसोलाई जागिर र ठेक्का दिए तर गिरीले आफू उपेक्षामा परेको अनुभव गरे। यसपछि नोना र समग्र परिवारलाई नै गिरीले अत्यन्त अभद्र शैलीमा गाली र आलोचना गरिरहे।

गिरीले २०५६ को निर्वाचनमा भने शैलजालाई हराइछाडे। उनले मोरङको क्षेत्र नम्बर ५ बाट करिब १० हजार मत ल्याए, आफू जितेनन् तर सद्भावनाबाट उठेका पूर्व पञ्च बद्री मण्डलले बाजी मारे। 

२०५६ को चुनावमा पनि गिरीलाई नोनासहित काङ्ग्रेसका विजय गच्छदार, जयप्रकाश गुप्ता र खुमबहादुर खड्का लगायतले सहयोग गरेका थिए।

गिरी एकातिर कोइराला निवासलाई खरो आलोचना गर्थे अर्कातिर नोनाको सहयोग लिन्थे।

गिरीको अराजक र लडाकू स्वभाव २०४९ सालको स्थानीय निर्वाचनमा देखिएको थियो। उक्त निर्वाचनमा तत्कालीन विराटनगर नगरपालिकाको वडा नं.२ र १३ मा काङ्ग्रेस कमजोर थियो। एमालेले दुवै वडाको निर्वाचनमा बुथ कब्जा गरिरहेको थियो। हातमा पेस्तोल बोकेर गिरी आफ्ना समर्थकको झुन्डसहित दुवै बुथ गए। उनका समर्थक कसैले खुकुरी, कसैले तरबार, भाला र लाठी बोकेका थिए। गिरीको सशस्त्र जत्थाले बुथमा डाङडुङ मच्चाउन थालेपछि सुरक्षाकर्मीहरू भागे। दुवै वडाको निर्वाचन रद्द गरियो।

उसबखत प्रधानमन्त्री गिरिजाप्रसाद थिए। कोइरालाहरू शक्तिमा थिए। तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबहादुर सिंहले गिरीलाई सामान्य बयान गरेर छाडिदिए।

दासढुङ्गा दुर्घटनापछि २०५० मा काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा आफ्नै पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उमेश गिरीलाई नै मुख्य जिम्मा दिएका थिए।

गिरीले आफ्नो फेसबुक पेजमा पत्रकार विजयप्रसाद मिश्रले लिएको भिडिओ अन्तर्वार्ता सार्वजनिक गर्दै कसरी भट्टराईलाई माथि अन्तर्घात गरियो र गिरिजाबाबुले करोडौँ खर्च गरे भन्ने तथ्यको खुलासा गरेका छन्।

दोस्रो जनआन्दोलन २०६२/६३ मा गिरीको खासै भूमिका थिएन। तिनताक उनी शाही समर्थक थिए। पहिलो संविधान सभा २०६४ मा भने उनी मधेशी जनअधिकार फोरमका समर्थक भए। 

काङ्ग्रेसमा गिरीसित निकट रहेका विजयकुमार गच्छदार र जयप्रकाश आनन्द फोरमका ठूला नेता भइसकेका थिए। कोइराला निवासका एक बरिष्ठ सदस्य ज्योति कोइराला (बिपीका भाइ तारिणीका छोरा) पनि फोरमको समानुपातिक कोटामा थिए साथमा उमेश गिरी पनि थिए।
त्यसपछि भने राजनीतिमा भूमिकाविहीनजस्तै भएर बसेका गिरीलाई कुनै न कुनै राजनीतिक संरक्षण अवश्य चाहिएको थियो। 

किनकि सीमावर्ती भारतीय बजार जोगबनी बजारका राजनीतिक दादा भगवान् यादवको २०५२ सालमा जोगबनी बजारमै भएको हत्याकाण्डमा गिरीको संलग्नताको पनि चर्चा यदाकदा भइरहन्छ र त्यही चर्चाका कारण गिरी अहिले पनि खुला रूपमा हिँड्न सक्तैनन्। सीमावर्ती भारतीय हिंसात्मक राजनीतिको ज्ञातअज्ञात त्रासले गिरी अझै आक्रान्त देखिछन्। 

यसरी कुनै न कुनै राजनीतिक संरक्षण खोजिरहेका गिरीको एमाले प्रवेशले मोरङको राजनीतिमा सानोतिनो तरङ्ग त पैदा गरेको छ तर काङ्ग्रेसको भोट नै खल्बलिने गरी ज्वारभाटा भने उठेको छैन।

नेपालमा सत्ताको छहारीमुनि बस्नु गिरीका लागि पनि बाध्यता र मनोवैज्ञानिक शान्तिको स्रोत हुनेछ किनकि भगवान यादवको मुद्दा कुनै पनि बेला उल्टने खतरा छँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell