
गोरखा : नेपाली कांग्रेसका नेता गगन थापाले गोरखाको पालुङटार पुगेर नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई भोट मागेका छन्।
नयाँ शक्ति पार्टी र नेपाली कांग्रेसको सयुक्त आमसभालाई सम्बोधन गर्दै थापाले विगतका आफ्ना दुःख विर्सेर कांग्रेसको गठबन्धनलाई भोट हाल्न आग्रह गरे।
नेपाली कांग्रेसकै कारण धेरै दलले अहिले चुनाव लड्न पाएको बताउँदै थापाले देश र संविधान बचाउनकै लागि कांग्रेलाई जिताउन आग्रह गरे ।
थापाले नेकपा एमालेले विगतमा उपद्रो गर्ने माआवादीलाई एमालेले छोडेर जानुपर्छ भनेपनि नेपाली कांग्रेसले साथ दिएकै कारण देश यहाँसम्म आएको बताए।
‘कांग्रेसले माओवादीको साथ नछोडेकै कारण संविधान आएको र चुनाव भएको हो, थापाले भने, ‘एमालेलाई सम्हाल्न गाह्रो थियो। तर, सुत्र हामीसँग थियो। एमालेलाई सरकारमा राख्यौ। संविधान आयो। संविधान मान्ने माओवादी र चुनाव लड्ने माओवादी कांग्रेसकै कारणले भएको हो।’
उनले शान्ति र विकासका लागि कांग्रेंसले जित्न आवश्यक रहेको बताए। ‘गोरखामा बाबुरामले जित्नु भनेको कांग्रेसले जित्नु हो। संसदमा कांग्रेसको बहुमत हुनु हो।’ थापाले भने, ‘संविधान जोगाउन, देश जोगाउनको लागि विगतका तमाम कुराहरु विर्सिएर कांग्रेसको गठबन्धन भोट हाल्नुस्।’