
काठमाडौं : वर्षा बाधक बन्दा नेपाली महिला टोलीले आइसीसी वुमन्स वर्ल्डकप टी-२० एसिया क्वालिफायरमा लगातार दोस्रो खेलमा अंक बाँड्ने भएको छ।
क्वालिफायर अन्तर्गत मंगलबार हङकङसँग तय भएको खेल वर्षाका कारण टस नै नभई रद्ध भएपछि नेपालले १-१ अंक बाँड्नु परेको हो।
नेपालले दोस्रो इनिङ्समा पूरा ब्याटिङ गर्न नपाएपछि सोमबार थाइल्याण्ड विरुद्धको पहिलो खेलमा पनि अंक बाँडेको थियो।
लगातार दोस्रो खेलमा अंक बाँडेपछि नेपालले २ खेलबाट २ अंक जोड्दै ६ टोली सम्मिलित अंक तालिकामा तेस्रो स्थानमा छ। पहिलो खेल जितेको हङकङ २ खेलबाट ३ अंकका साथ शीर्ष स्थानमा छ।
क्वालिफायरमा नेपाल र आयोजक थाइल्याण्डसहित हङकङ, युएई, मलेसिया र चीनको सहभागिता छ। एसियन जोन क्वालिफायरबाट राउण्ड रोविन लिगपछि अंक तालिकामा शीर्ष दुई स्थानमा रहने टोली अर्को वर्ष नेदरल्याण्ड्समा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।
नेपालले अब तेस्रो खेल बिहिबार युएईसँग खेल्नेछ। डेब्यु प्रतियोगितामै चीनलाई पराजित गरेको युएईको नेपालसँग समान २ अंक छ र चौथो स्थानमा छ।
यस्तै मंगलबार चीनलाई ७ विकेटले पराजित गरेको मलेसियाको पनि एक जित र एक हारबाट २ अंक छ तर नेटरनरेटमा नेपालभन्दा अगाडि रहदै दोस्रो स्थानमा छ।