बैतडी : पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन्।
निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो।
चुनावलाई मध्यनजर गर्दै मंसिर ७ गते मध्यरातिदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिए। उनले त्यस समयमा बिरामीबाहेक अरु साधन र पैदलयात्रुले नाकाबाट आवतजावत गर्न नपाउने बताए।
निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिनसक्ने प्रजिअ जोशीले बताए।
पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश नम्बर ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ।रासस