
गौशाला : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती देखिएको छ।
सो क्षेत्रमा संयोजक महन्थ ठाकुरसँगै राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र नेकपा एमालेका उम्मेदवार विजयकुमार चौधरीले पनि चुनावी अभियान थालेका छन्। अहिले तीनैजनाले मतदाता फकाउने कामलाई तीव्रता दिएका छन्।
संयोजक ठाकुरले मधेशलाई अधिकार सम्पन्न, विभेद्बाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि यसपालीको चुनावमा मतदातालाई मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर सम्पूर्ण मधेशलाई मधेशीमय बनाउन आग्रह गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न फकाउँदै छन्।
उनी आफ्नो स्वभिमान, सम्मान र अधिकारको रक्षा केवल मधेश सरकारबाट हुने दाबी गर्दै मतदातालाई आफूलाई भोट हाल्न आग्रह गर्दै हिंडेका छन्।
राजपा नेपालको समर्थनमा नेपाली कांग्रेसलेसमेत उम्मेदवारी फिर्ता लिएपछि आफू निर्वाचन जित्नेमा संयोजक ठाकुर विश्वस्त देखिएका छन्।
राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा आफू जित्ने दाबी गर्छन्।
पूर्व सांसद चन्देश्वर झा आफूलाई यहाँका जनताले विकासका लागि स्वतन्त्ररुपमै उठ्नुस् भनेपछि उठेको र तिनै जनताले भोट हालेर जिताउने दाबी गर्छन्।
त्यस्तै वामगठबन्धनबाट एमालेका उम्मेदवार विजयकुमार चौधरी यसअघिको निर्वाचनमा यस क्षेत्रबाट एमालेले नै जितेकाले यसपाली पनि एमाले नै जित्ने दाबी गर्छन्। वाम एकतापछि आफ्नो संगठन बलियो भएको र आफू यस क्षेत्रमा सबैभन्दा बढी मतान्तरले विजयी हुने उनको दाबी छ ।
उनी मधेश र मधेशीको अधिकारका लागि संविधान संशोधन जरुरी रहेको र त्यो काम केवल वामगठबन्धनबाट सम्भव भएको बताउँछन्।रासस