PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

बागलुङमा चित्रबहादुरको विरासत गठबन्धनमार्फत हात पार्ने दाउमा देवेन्द्र



नरहरि पौड्याल

बागलुङमा चित्रबहादुरको विरासत गठबन्धनमार्फत हात पार्ने दाउमा देवेन्द्र

  • नरहरि पौड्याल
पोखरा :  प्रदेश नम्वर चारको बागलुुङमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। राष्ट्रिय जनमोर्चा र कांग्रेसले निर्वाचन जित्दै आएको बागलुङमा यसपटक भने माओवादी केन्द्रका हस्ती एवं राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता देवेन्द्र पौडेलको उम्मेदवारीसँगै पूर्वमन्त्री दीनानाथ शर्माको लगावले निकै चर्चा पाएको छ।

राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव भएका दुवै नेताको गृह जिल्ला भएका कारण पनि बागलुङको राजनीतिक भाग्यका बारेमा समेत जोडघटाउ चलिरहेको छ।

यसअघि नेपालको संघीय संरचनाको बारेमा खुलेरै विरोध गर्ने चर्चित नेता चित्रबहादुर केसीको गृहजिल्ला बागलुङमा केसीको बिश्रामसँगै आशाको केन्द्रबिन्दुका रुपमा शर्मा र पौडेललाई हेरिएको छ। 

लामोसमयसम्म जनमोर्चाका तर्फबाट केसीले प्रतिनिधित्व गरे पनि राज्यको हेपाहा प्रवृत्तिका कारण पूर्वाधार विकास र अन्य विकासका कार्यहरुमा पछाडि पारिँदै आएको धौलागिरी अञ्चलमै नेता केसीको विरासत हात पार्ने छिर्के दाउमा नेताद्वय रहेका अञ्चलवासीको अनुमान छ।

केसीको बिश्रामपछि पूर्वमन्त्रीसमेत रहेका प्रभावशाली नेता शर्मा र पौडेल करिब २ महिनादेखि जिल्लाका विकट गाउँ बस्तीसम्म पुगेर आफ्नो प्रभावलाई बिस्तार गरिरहेका छन्।

यसअघि तीन निर्वाचन क्षेत्र रहेको बागलुङमा जनमोर्चाका केसी र कांग्रेस उम्मेदवारले पटक–पटक चुनाव जित्दै आएका थिए।

पूर्वतर्फ पर्वत, पश्चिममा रुकुम, उत्तरमा मुस्ताङ, दक्षिणमा पाल्पा र गुल्मीसँग सीमा जोडिएर ठूलो भौगोलिक क्षेत्रमा फैलिएको बागलुङमा कालिगण्डकीको खोँच र भौगालिक बिकटताकै कारण विकास निर्माणले गतिलिन नसकेको हो। 

पछिल्लो समय सुनौलीदेखि मुस्ताङको कोरला नाकासम्मको छोटो नाका कालिगण्डकी करिडोर निर्माण भएसँगै जिल्लामा विकास निर्माणले गतिलिने अपेक्षा गरिएको छ। 

कडिडोर निर्माणपछि धेरै क्षेत्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुने बागलुङमा नयाँ संरचना अनुसार २ वटा प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र कायम गरिएको छ।

निर्वाचनको मिति नजिकिएसँगै वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तिब्र पारेका छन्। 

क्षेत्र नम्बर एकबाट वाम गठबन्धनकातर्फबाट एमालेका डाक्टर सुर्य पाठकलाई साझा उम्मेदवार बनाइएको छ भने लोकतान्त्रिक गठबन्धतकातर्फबाट बहालवाला सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ। यस क्षेत्रमा दुवै गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

राज्यमन्त्री खड्काले यसअघि पनि यसै क्षेत्रबाट निर्वाचन जितेकी थिइन्। श्रीमान हरि खड्काको ५ वर्ष अघि जिप दुर्घटनामा परी मृत्यु भएपछि खड्काकी पत्नी चम्पादेवी खड्कालाई पार्टीले संविधानसभाको निर्वाचनमा उम्मेदवार बनाएको थियो।

श्रीमानको राजनीतिक कार्यक्रममा जाँदा दुर्घटनामा परी मृत्यु भएपछि विक्षिप्त बनेकी खड्कालाई जनताले सहानुभूतिको मतसहित त्यस क्षेत्रबाट विजयी गराएका थिए। 

त्यसैगरी वाम गठबन्धनबाट उम्मेदवार बनाइएका पाठक संघर्षशील युवा हुन्। उनलाई जिल्लाको आशालाग्दो नायककारुपमासमेत अर्थ्याइएको छ 

यस्तै, क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनले साझा उम्मेद्वारको रुपमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेललाई चुनावी मैदानमा उतारेको छ। 

लोकतान्त्रिक गठबन्धनकातर्फबाट कांग्रेसका नरबहादुर पुन (निरज) लाई अगाडि बढाएको छ। 

पुन लामो समयदेखि स्थानीय स्तरमा रहेर राजनीतिमा सक्रिय रहदै आएका छन्। उनको पार्टीप्रतिको निष्ठा र लगावलाई मूल्याङकन गर्दै पार्टीले उम्मेदवार बनाएको हो।

वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका पौडेल माओवादीले सञ्चालन गरेको जनयुद्धको बेला भूमिगत रहेर राजनीतिमा संघर्ष गरेका थिए। 

चित्रबहादुर केसीको राजनीतिक बिश्रामको यात्रापछि समग्र धौलागिरीबाट केन्द्रमा आफ्नो प्रभाव भएका क्षमतावान नेताहरु मध्येमा दीनानाथ शर्मा र पौडेललाई हेरिन्छ। 

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईका अतिनिकट मानिने पौडेल पछिल्लो समय भट्टराई नेतृत्वको नयाँ शक्तिबाट अलग्गिएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

उनीहरु दुवै जनाले यसअघि बागलुङ जिल्लामा कुनै तहमा निर्वाचन लडेका छैनन्। वाम गठबन्धनपछि  नेता देबेन्द्र पौडेल जिल्लाको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्। पौडेल क्षेत्र नम्बर १ को भए पनि २ नम्बर क्षेत्रबाट टिकट पाएपछि उनी चुनावी मैदानमा उत्रीएका छन्। 

क्षेत्र नम्वर एकको प्रदेश सभा ‘क’ बाट लोकतान्त्रिक गठबन्धनले दीपेन्द्र बहादुर थापालाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसका जिल्ला सभापतिसमेत हुन्। त्यसैगरी वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटालाई उम्मेदवार बनाएको छ।

त्यसैगरी प्रदेश ‘ख’ मा लोकतान्त्रिक गठबन्धनका कांग्रेसका निवर्तमान सांसद प्रकाश शर्मा पौडेल र वाम गठबन्धनका राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्ण थापाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

क्षेत्र नम्वर २ को ‘क’ मा लोकतान्त्रिक गठबन्धनले मञ्जेश मल्ललाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनकातर्फबाट चन्द्रबहादुर बुढा चुनावी मैदानमा  छन्। मल्ल शहिद थिरबम मल्लका नाति हुन्।  

त्यसैगरी प्रदेश ‘ख’ मा लोकतान्त्रिक गठबन्धनबाट जित शेरचन उम्मेदवार बनेका छन् भने वाम गठबन्धनबाट टेकबहादुर घर्ती उम्मेदवार बनेका छन्। उनीहरु दुवै जिल्लाका पुराना र स्थापित नेताकारुपमा चिनिन्छन्। 

१ सय ९९ सय मतदान केन्द्र

बागलुङ जिल्लामा १ सय ३ मतदानस्थल रहेका छन् भने १ सय ९९ सय मतदान केन्द्र रहेका छन्। मतदान केन्द्रहरुको सुरक्षाका लागि विगतका चुनावमा भएका गतिविधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुबिधाको पहुँचलगायतका आधारमा संवेदनशील मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले जानकारी दिए।

जिल्ला सुरक्षा समितिले संवेदनशील मतदानस्थलका लागि विशेष सुरक्षा योजना तयार पारेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। जिल्ला सुरक्षा समिति बागलुङले ४१ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखेको छ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अतिरिक्त म्यादी प्रहरी परिचालन गरिने छ। बागलुङमा १ लाख ६७ हजार २ सय ८२ मतदाता छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell