काठमाडौँ: आइतबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र छोरा प्रकाश दाहालको ‘सडन कार्डियल डेथ’को कारण मृत्यु भयो। स्वस्थ र युवा उमेरमै अचानक प्रकाशको मृत्यु भएपछि धेरै सर्वसाधारण समेत त्रसित बने।
किनकि, उनी कुनै रोगले थलिएका थिएनन्। अघिल्लो दिनसम्म स्वस्थ थिए। सकुशल रहेको प्रकाशको अचानक मृत्यु धेरैको लागि पाठ बन्यो।
जसका कारण मुटु चेकअप गराउने बिरामी ह्वात्तै बढे।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर यादवदेव भट्ट मुटु चेकअप गराउने बिरामी बढेको बताउँछन्। भट्टका अनुसार अस्पतालमा पहिलेको तुलनामा ६० प्रतिशत बढी मानिसहरु सचेत भएर मुटु चेकअप गराउन आएका छन्।
भट्ट भन्छन्, ‘सचेत हुनु राम्रो कुरा हो। अहिले धेरै कम उमेरका मानिसहरु मुटु चेक गराउन आएका छन्। उनीहरुमा त्यस्तो लक्षण देखिँदैनन्। डरका कारण आउने र त्यस्तो लक्षण देखिएका कारण आउनेहरु धेरै छन्।’
नर्भिकमा जस्तै अन्य धेरै अस्पतालमा मुटु चेकअप गराउने बढेका छन्।
भट्टका अनुसार मोटोपन भएका मानिसहरु, मद्यपान, धुम्रपान गर्ने, सुगर र कोलस्ट्रोलका बिरामी चेकअप गराउनु पर्छ। भट्ट भन्छन्, ‘कुनै रोग नभएका, कुनै लक्षण नदेखिएका मानिसहरु धेरै डराउनु हुन्न। किनकि, हर्टअट्याक हुने मानिसहरुले पहिले धेरै अगाडि लक्षण पाइसकेका हुन्छन्। त्यस्ता लक्षण पाइसकेपछि चाहिँ नियमित चेकअप गराउनु पर्छ।’
मनोवैज्ञानिक असर
मनोविश्लेषक बासु आचार्य अस्पतालमा विरामी बढ्नु मानिसको मनोविज्ञानले काम गरेको सुनाउँछन्। आफन्त वा कोही चर्चित मानिस मरेपछि मानिसहरुको मनोविज्ञानमा असर पर्ने बताउँछन्।
‘त्यसरी दिनहुँ हजारौँ मर्छन्। तर, कोही आफन्त या चर्चित मानिस मर्छ मानिसलाई झस्का पर्छ’ आचार्यले भने, ‘यसरी आफ्नो स्वास्थ्यमा सचेत हुनु राम्रो कुरा हो। तर, सामान्य स्वस्थ मानिस डराउनु राम्रो हुन्न।’
आचार्यका अनुसार कोलस्ट्रोल बढी भएका, सुगरका बिरामी, मोटा मानिस, धुम्रपान र मद्यपान गर्नेहरु अरुलाई त्यस्तो भएको देखेर अस्पताल जान्छन् भने पेनिक 'एन्जाइटी डिसअर्डर' हो। डराए पनि दिक्क मान्दै अस्पताल गएनन् र घरमै बसे भने 'होमोप्याथिक एन्जाइटी डिसअर्डर' हो। दुबै एक प्रकारका मानसिक रोग हुन्।यस्ता केही लक्षणा नदेखिएका, धुम्रपान र मद्यपान नगर्ने स्वस्थ्व मानिसहरु डराउनु भनेको चाही खतरा हो।’ उनले भने, ‘लक्षण नदेखिकन स्वस्थ्व मानिस डराउनु एक किसिमको मानशिक रोग हो। यसरी स्वस्थ्व मानिस डरायो भने आफै रक्तचाप बढ्न थाल्छ र पछी सामान्य मानिसलाई नै हर्टयाटक हुने सम्भावना बढी हुन्छ।’
यसकारण अचानक मानिस मर्छ
डाक्टर भट्टका अनुसार स्वस्थ मानिसलाई सडन कार्डियल डेथ हुने सम्भावना कम हुन्छ। सडन कार्डियल डेथ हुनुभन्दा धेरै पहिला मानिसहरुले धेरै संकेत पाइसकेका हुन्छन। डाक्टर भट्ट भन्छन्, ‘मुटुको पावर ३० प्रतिशत वा सोभन्दा कम हुने, पहिला हर्ट अट्याटक भइरहने, सुगरका रोगी, डायवेटिजका बिरामी र धुम्रपान गर्नेहरु सडन कार्डियल डेथका उच्च जोखिममा हुन्छन्।'
भट्टका अनुसार मुटुको चाल बिग्रिएर वा मुटुले काम गर्न छोडेर श्वासप्रश्वास बन्द भएको एक घण्टाभित्र मानिस मर्छ भने त्यो सडन कार्डियल डेथ हो।
कतिपय मानिसको ब्रेन ड्यामेज हुन्छ। अचानक मष्तिकको आकार बढ्छ। फोक्सोमा रगत जम्छ। यस्तो हुँदा मष्तिकमा रगत र अक्सिजन पुग्दैन। श्वासप्रश्वास बन्द भएर मानिस अचानक मर्छ।
राति सुत्दा मानिसहरु घुर्छन्। घुर्ने समस्यालाई सामान्य रुपमा लिए पनि यसको जोखिम डरलाग्दो छ। किनकि, मानिसको मृत्यु गराउनेदेखि दीर्घकालीन रुपमा यसले असर गर्छ।
मानिसहरु सुत्दा श्वासनली अवरोध भएर कोल्याप्स हुने समस्या 'अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम' हो। 'सडन कार्डियल डेथ' हुने यो पनि एउटा कारण हो।
अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रिया अवरोध आउँछ र मानिसहरु अचानक मर्छन्। अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमकै कारण हृदयघात र पक्षघात हुन सक्छ। यो समस्याले गर्दा मोटोपन भएकाहरुमा सुगर नियन्त्रण नहुने, उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रणमा नआउने जस्ता समस्या देखिन्छ।
भट्टका अनुसार मुटको चाल बिग्रिएमा मानिसको ९० प्रतिशत बढी मर्ने सम्भावना हुन्छ। मुटुको चाल बिग्रिएको एक घण्टाभित्र इलेक्ट्रिक सक लगाउन सक्यो भने ५० प्रतिशतभन्दा बढी बाँच्ने सम्भावना हुन्छ।