PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

ईश्वर पोखरेल भन्छन् 'यो पटक राम्रो मतान्तरले चुनाव जित्छु'



पहिलोपोस्ट

ईश्वर पोखरेल भन्छन् 'यो पटक राम्रो मतान्तरले चुनाव जित्छु'

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनको प्रतिस्पर्धी छन् कांग्रेस नेता प्रकाशसरण महत। संविधानसभा सदस्य निर्वाचनमा दुई पटक यही क्षेत्रबाट पराजित पोखरेल योपटक हारमा ब्रेक लगाउने दाउमा छन्। पोखरेललाई यस क्षेत्रमा सशक्त उम्मेदवार मानिएको छ। तर, विगतमा हारेको क्षेत्र र सशक्त प्रतिस्पर्धीका कारण उनलाई निर्वाचन सोचे जस्तो सहज भने छैन। चुनावी तयारीबारे पोखरेलसँग पहिलोपोस्टका लागि पासाङ ठकुल्लाले गरेको कुराकानी:


चुनावी तयारी कसरी गर्दै हुनुहुन्छ?

योजनाबद्ध ढङ्गले चुनावी अभियानमा लागेको छु। प्रचार सामाग्रीसहित जनताको माझमा गइरहेका छौँ। घोषणापत्र अनुसार निर्वाचन क्षेत्रमा प्रतिवद्धताहरु लिएर सबै उम्मेदवार जनताका घरघरमा गइरहेका छौँ। जनताका जिज्ञासाहरुमा केन्द्रित भर्इ अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिरहेका छौँ। यो क्रमलाई जारी नै राख्छौँ।


यो निर्वाचनलाई कसरी लिनुभएको छ?

यो चुनावले ऐतिहासिक फैसला गर्दैछ। त्यो फैसलामा एउटा बाटो अनिश्चिततातर्फको छ। राजनीतिक अस्थिरता, कुशासन, लोक कल्याणकारी कामहरु नहुनु, विकास निर्माणमा अवरुद्ध हुने, राजनीतिक अस्थिरताको बाटो एकतिर छँदै छ। अहिलेको निर्वाचनले नकारात्मक दिशातिर लग्यो भने त्यो बाटो यही हो।

निर्वाचनले सकारात्मक दिशामा लग्यो भने वामपन्थीको बहुमत सरकार हुन्छ। वामपन्थीको बहुमतको सरकारले राजनीतिक स्थायित्व दिन्छ। त्यसले देशमा सुशासन, सुनिश्चितता र लोक कल्याणकारी कामहरु गर्छ। त्यस कारणले यी दुर्इ बाटोमा कुन ठूलो सम्भावना छ भन्दा तपाई प्रष्ट हुनुहोस् दोस्रो सम्भावना नै प्रवल छ। अबको एक महिनापछि वामपन्थीहरुको सरकार मुलुकमा बन्नेछ। यसले मुलुकमा स्थायित्व, सुशासन र लोक कल्याणकारी काम गर्छ। अनि राष्ट्रियताको संरक्षण, सार्वभौमिकताको रक्षा त्यो सबै कामहरु वाम गठबन्धनमा बन्ने सरकारले गर्नेछ।


गठबन्धन भएपछि चुनाव जित्न कति सहज भएको छ?

वाम गठबन्धन हुँदा हामीले राम्रो प्रतिक्रिया पायौँ। आम जनता र कार्यकर्तामा ठूलो उत्साह दिएको छ। राम्रो काम भनेर प्रतिक्रिया पाएका छौँ। निर्वाचनको अभियानमा हामीले जहिले पनि उत्साह नै देखिरहेका छौँ। यसको अर्थ के हो भने परिणाम अत्यन्त सकारात्मक हुन्छ। वाम गठबन्धनको पक्षमा परिणाम आउँछ।


वाम गठबन्धनले जित्ने आधारहरु के हुन?

जनताका चासो भएका मुद्धा, देश र जनताको हितमा जे मुद्धाहरु उठाएका छौँ राजनीतिमा जो अस्थिरताले हामीलाई आक्रन्त पारेको छ। ती अस्थिरतालाई अन्त्य गर्ने कुरा गरेका छौँ। यिनै विषय वाम गठबन्धनले जित्ने आधार हन्। समृद्धिका लागि ठोस योजना प्रस्तुत गरेका छौँ। हामी सरकार बनेको ६ महिना, एक वर्ष, ५ वर्ष र १० वर्षसम्म सरकार टिक्यो भने के गर्छौ भन्ने कुराहरु प्रस्तुत गरेका छौँ। त्यसैमा केन्द्रित भएर हामी जनताका माझ गएका छौँ। यी कुरा बुझेर वाम गठबन्धनप्रति जनता उत्साहित छन्।


तपाईँको चुनावी एजेण्डा चाहिँ के हुन?

मेरो कुनै छुट्टै योजना छैन्। राष्ट्रिय राजनीतिले जुन आक्रान्त बनाएको छ हामीलाई यो आवस्था अन्त्य गर्ने मुख्य काम हो। यसमा मेरो उम्मेदवारी र मेरो जीत त्यही अस्थिरतालाई अन्त्य गर्न महत्वपूर्ण काम हुनेछ। दोस्रो कुरा म यो क्षेत्रमा रहँदा सम्वन्धित विषयहरु खास गरी यहाँको शिक्षा र स्वास्थ्यमा जनतालार्इ सहज पहुँच पुर्‍याउनु जरुरी छ।

यहाँको सार्वजनिक सम्पत्तिहरुको रक्षा गर्नु पर्ने र सांस्कृतिक पुरातात्विक ठाउँहरुको संरक्षण गर्नु पर्ने जरुरत छ। यहाँ पर्यटनको विकास गर्नु पर्ने जरुरत छ। यहाँका जनताका आधाभूत कुराहरु जस्तै यातायात, खानेपानीका समस्याहरु छन्। त्यसलाई टुङ्गो गर्नु पर्ने छ। २० वर्षसम्म चुनाव नहुँदा जनतामा विकास निर्माणका सहज चाहानाहरु निमोठिएका थिए। चुनावपछि विकासका कार्य प्रारम्भ हुन्छ। हामी यस दिशामा अगाडि बढ्छौँ। राजनीतिक स्थायित्वले यी कामलाई गति दिने छ।


यो क्षेत्रबाट तपाईँको प्रतिस्पर्धी कांग्रेस पार्टीका उम्मेदवार पनि बलियो हुनुहुन्छ। उहाँको उम्मेदवारीलाई कसरी लिनु भएको छ?

उहाँको उम्मेदवारीबारे टिप्पणी गर्न चाहन्न। प्रतिस्पर्धाको राजनीतिमा कुनै पार्टीका उम्मेदवार प्रतिस्पर्धामा आउनु स्वागतयोग्य हो। मैले उहाँको बारेमा कुनै टिप्पणी गर्नु छैन्। मैले आफ्नो क्षेत्रमा अहिले उम्मेदवारी दिइरहँदा कुनै अर्को जिल्लाको मतदाता हुँदै यहाँ चुनाव लड्न आएको पनि होइन। म २५ वर्षदेखि यही क्षेत्रमा यहाँका जनतासित सम्वन्धित भएर काम गरेको छु। कहिले विजय भएँ कहिले पराजय। दुबै अवस्थामा मेरो सम्बन्ध यहाँका जनतासँग अविचलित रुपमा रहेको छ। यस कारणले मलाई के लाग्छ भने मैले जनतासित राखेको सम्बन्धका आधारमा, यस क्षेत्रको विकासका एजेण्डामा, मैले राष्ट्रिय राजनीतिमा खेल्न सकेको भूमिकाका आधारमा यस क्षेत्रका जनताले मलाई पत्याउनु हुन्छ।

यो मान्छे जित्दा मात्र होइन, हार्दा पनि हामीबीच रह्यो भनेर बुझ्नु भएको छ। मैले भन्ने गरेको छु मर्दाको मलामी ज्युँदाको जन्ती भएर यही क्षेत्रको सेवामा रहन्छु भनेको छु। यसैले पनि जनताले मलाई विश्वास गर्नुहुन्छ र यो राष्ट्रिय राजनीतिको आवश्यकता हो भनेर बुझ्नु भएको छ। त्यस कारण मेरो जीत सुनिश्चित छ।


कति मत अन्तरले जित्नु हुन्छ त?

हामी राम्रो मतान्तरले जित्छौँ।


तर तपाईँले यसै क्षेत्रबाट दुई पटक चुनावमा पराजित हुनु परेको थियो। राम्रो मतान्तरले जित्न कसरी चुनावमा जानुभएको छ?

मैले भनेँ, दुर्इ पटक जित्न सकिन्। जित्दा मात्र होइन हार्दा पनि यो मान्छे यहीँ बस्यो। अहिले झन माओवादी र एमालेको मत जोड्दा धेरै मार्जिन हुने ठाउँहरु थिए नि। म त्यहाँ जान सक्थेँ। किन गइनँ त? मैले सोचेँ यो ठाउँका जनतासितको सम्बन्धमा मैले महत्व दिनुपर्छ। त्यो सम्बन्धलाई तोड्नु हुँदैन भनेर मार्जिनलाई ख्याल गरिनँ। गतिलो ठाउँ खोज्दै हिडिनँ। म यही ठाउँमा बसेको छु। यहाँ जनतासित मेरो सम्बन्ध छ। यसमा म कायम रहनुपर्छ भन्ने ठानेँ र मैले यहीँ उम्मेदवारी दिएँ। मैले के सोचेँ भने यस क्षेत्रका जनतालार्इ म फेरि परीक्षा दिन तयार हुनुपर्छ। त्यही परीक्षा दिन उभिएको छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell