
नयाँदिल्ली : भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या भएको छ। त्रिपुरामा राज्यमा मङ्गलबार एक रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।
उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ। त्रिपुरा राज्यको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका प्रहरीले गोली हानेको बताइएको छ।
प्रहरी प्रधान कार्यालय सो राज्यको राजधानी अगरतलाबाट करिब २० किलोमिटर पश्चिममा पर्दछ। समाचारको कामका लागि नै उनी त्यहाँ गएका बताइएको छ।
कार्यालयका एकजना वरिष्ठ प्रहरी अधिकारी अभिजित सप्तऋषिले भने– हिजो एकजना पत्रकार प्रहरीको गोली लागेर त्रिपुरा स्टेट राइफलको हेडक्वाटरमा मारिएका छन्।
यसरी पत्रकार मारिएपछि उनलाई गोली हान्ने प्रहरी जवानलाई पनि प्रहरीले पक्राउ गरेको छ। कार्यालयको परिसरमा नै सो घटना भएको पनि उनले स्वीकार गरेका छन्।
सुदिप दत्त भौमिक नाम गरेका ४८ वर्षीय ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए। उक्त पत्रिका बङ्गाली भाषाको हो।
त्रिपुरा प्रहरीले घटनाकाबारेमा अनुसन्धान गरिरहेको जनाएको छ। ती प्रहरी जवान र पत्रकारका बीचमा के कस्तो अवस्था सिर्जना भयो र जसका कारण गोली हानेर हत्या गर्नेसम्मको स्थिति आयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको बताएको छ।
दैनिक पत्रिकाका सम्पादक सुबल कुमार दायले प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति लिएर नै आफ्नो सम्वाददाता कार्यालयमा गएका जानकारी दिएका छन्।
दुई महिना अघि आन्दोलनको समाचार सङ्कलनका क्रममा आन्दोलनकारीले टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरेका थिए।
त्यसको महिनादिनमात्र अघि पनि एकजना महिला सम्पादकको हत्या भएको थियो। उनको हत्या भने आफ्नै घरको भान्सा कोठामा भएको थियो। भारतमा पछिल्लो समयमा पत्रकार हत्याका घटनामा बृद्धि भइरहेको पाइएको छ। रासस/सिन्ह्वा