PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

शेर र शम्शेरको रोमाञ्चक प्रतिस्पर्धा

शेर र शम्शेरको रोमाञ्चक प्रतिस्पर्धा

पहिलोपोस्ट /पहिलोपोस्ट


  • ऋषिकेश दाहाल/नेत्र तामाङ

सिन्धुपाल्चोक : 'चुनाव कसले जित्ला त?' सोझो प्रश्न। उत्तर पनि सोझै मिल्यो – 'जसले बढी भोट ल्यायो उसैले।' जवाफ दिने हुन् लीलामणि आचार्य। घर सिन्धुपाल्चोक बडहरे। 

डाँडामा रहेको उनको घरभन्दा आधाघन्टा पश्चिम तल फाँटतिर झर्दा पुगिने माझी गाउँ भीमटारमा चुनाव प्रचारमा शेरबहादुर तामाङ जमेका थिए। उनको घरबाट ठीक पूर्वतिर मोटरमा डेढ घन्टाको दुरी पार गर्दा अर्का नेता पशुपति शम्शेर धमाधम वाम कार्यकर्तालाई खादा लगाउँदै लोकतान्त्रिक गठबन्धनको टीका लगाइरहेका थिए। सदरमुकाम चौतारा नजिकैको स्याउलेमा। 

सिन्धुपाल्चको क्षेत्र नम्बर २ मा वाम गठबन्धनका शेरबहादुर र लोकतान्त्रिक गठबन्धनका पशुपति शम्शेरबीच समानता कतै छ भने केवल नामको अंशमा मात्र – शेर र शम्शेर। कार्यकर्ताभन्दा बाहेकका मतदाता मत कसलाई दिने 'गोप्य' नै राख्न चाहन्छन्। चुनाव कसले जित्छ भन्ने प्रश्न गर्यो भने आचार्यले जस्तै जवाफ दिन्छन् – बढी मत पाउनेले। कार्यकर्ताको जवाफ र हिसावकिताव उनीहरुकै ठाउँमा छ।

बोडगाउँका सुन्तले माझी भीमटारमा शेरबहादुर तमाङले चुनावी सभा गरिरहेको ठाउँमा भेटिए। केही दिनअघिसम्म सुनसान उनको गाउँमा यतिखेर चुनावी प्रचारको होड सुरु भइसकेको छ। कति लागेको छ त चुनाव? 

'भोट हाल्ने दिनसम्म त लाग्ने हो नि। भोट हालेपछि न देखिन्छन् न सुनिन्छन्,' नेता र कार्यकर्ताको घरदैलो र सहानुभूतिमाथि कडा प्रतिक्रिया दिँदै उनी मुस्काए। उनले पनि भोट कसलाई दिने तय गरिसकेका छैनन्। भने, 'नेताहरु अरु पनि आउन बाँकी छ। हेरौ के भन्छन् त्यहीअनुसार भोट दिने हो।' माझीको चिन्ता चुनाव लागिसके पनि झुम्न नपाएकोमा छ। 'यहीबेला त हो,' उनले भने, 'अरुबेला केही हुने होइन।'

शेरबहादुर तामाङ चुनावी अभियानमा बिहानैदेखि सक्रिय छन्। उनलाई २४ घन्टे एक दिनमा एक घन्टा थपिए झै भएको छ। 'यतिखेरको दौडधुप र प्रचारप्रसार हेर्ने हो भने २४ घन्टामा २५ घन्टा खटिएको झै भएको छ,' सिन्धुपाल्चोक चुनावको एक शेर शेरबहादुर तामाङले भने। 

पछिल्ला दुई निर्वाचनमा शेरबहादुर तामाङले पशुपति शम्शेरलाई यहाँ ढिम्किन दिएका छैनन्। उनी यसपाला ह्याट्रिकको मुडमा छन्। सिन्धुपाल्चोकको घरदैलोदेखि सिन्धुपाल्चोकमा मतदाता नामावली भएर बसोबास काठमाडौंको चाबहिल देखि जोरपाटीसम्म फैलिएकाले त्यहाँ पनि उनको सक्रियता जारी छ। ठूलो मातान्तरले जित्ने उनको दावी छ। 'जनमत हाम्रो पक्षमा अत्याधिक छ,' उनले भने, 'त्यसमाथि वाम गठबन्धनले त्यसमा थप बल दिएको छ।'

शेरमाथि शम् थपिएका पशुपति शम्शेर राणा यसपाला आफ्नो पुरानो वर्चश्व फिर्ता ल्याउने तयारीमा छन्। उनको जिल्लामा चिनिएको अर्को पुस्ता छैन। पशुपति शम्शेरको राजनीतिक 'सक्सेसर' तयार नहुँदा उनको आड भरोसा आफ्नै दलमा छैन। त्यसैले सांगठनिक हिसाबले उनी कमजोर छन्। दुई पटक निर्वाचनमा पराजय भोगेका उनी यतिखेर नेपाली कांग्रेससँग चुनावी गठबन्धनमा छन्। त्यही नै उनको आड बनेको छ। 
उमेरका हिसाबले पनि शेरबहादुर तामाङभन्दा बढी नै नोटो काटेकाले हुनुपर्छ उनी धेरै हिँड्न सक्दैनन्। तर, जहाँ उनी पुग्छन् पाका मानिसहरु 'राजा साहब' र 'बाबु साहब' भन्दै झुम्मिन्छन्। ५० भन्दा माथि काटेका उनका पुराना भोटर उनका आड भरोसा हुन्। त्यसबाहेक कांग्रेसको मतमा उनी निर्भर छन्। 

'उहाँको व्यक्तित्व र कांग्रेसको संगठनले नै यसपाला उहाँले जित्ने आधार तय भएको छ,' चुनावी अभियानमा जुटेका सिन्धुपालल्चोक नेपाली कांग्रेसका सचिव बिलबहादुर तामाङले भने।

उमेर पनि बढ्दै गएकाले धेरैको अनुमानमा पशुपति शम्शेरको यो आखिरी चुनावी अभियान हो। तर, यी शेर त्यो मान्न तयार छैनन्। 'कसले भन्यो?,' उल्टै प्रश्न गरे, 'मलाई अहिलेसम्म कुनै रोग छैन। तगडा छु।' 

चुनाव जित्नेमा शम्शेर निश्चिन्त नै देखिए। अघिल्ला दुई परिणामको लघुताभाष उनमा देखिएन। भने, 'मेरो अनुपस्थितिसँगै यहाँका विकास गतिविधि अलपत्र परे। मलाई जनताले त्यसैकारण पनि जिताउन चाहेका छन्।' 

चुनावी अभियानमा सदरमुकाम नजिकैको स्याउलेमा उनले खादा ओडाउँदै लोकतान्त्रिक गठबन्धनमा कार्यकर्ता प्रवेश गराउने कार्यक्रम जारी थियो। त्यही उद्घोषक चिच्याउँदै थिए – अब टोलटोलबाट वाम गठबन्धनको नामो निसान मेटिने भयो। 

सिन्धुपाल्चोकका धेरै गाउँमा बाम गठबन्धनकै झन्डा बढी देखिन्छ। चुनाव प्रचारमा वाम गठबन्धनकै सक्रियता पनि बढी छ। जुन ठाउँमा पशुपति शम्शेरका कार्यकर्ताले वाम गठबन्धनको नामोनिसान मेटिने उद्घोष गरिरहेका थिए त्यहीँ पनि कांग्रेस-राप्रपाभन्दा धेरै एमाले-माओवादीका चुनाव चिन्हहरु फहराइरहेका थिए। चौतारा बजारभित्र प्रचारमा बराबरी देखिए पनि गाउँतिर वाम गठबन्धनको सक्रियता धेरै देखिन्छ। 

चुनावी सक्रियता र प्रचारवाजीमा दुवै दल जतिसक्दो बल गरेर लागेको भए पनि कसले जित्छ भन्न सकिन्न। सिन्धुपाल्चोक २ मा दुई शेरमध्ये एउटा 'ढेर' हुने निश्चित छ। त्यो शेर या शम्शेर को भन्न सकिन्न। सत्य आचार्यले भनेजतिमात्र हो – भोट बढी ल्याउनेले मात्रै जित्ने हो।


ट्रेन्डिङ पोस्ट

Ncell