हरारे : जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामाको घोषणा गरेका छन्। उनको राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ।
उनको राजीनामाको घोषणा गरेलगत्तै यहाँ खुसियालीसमेत मनाइएको समाचारमा जनाइएको छ। मङ्गलबार साँझदेखि सडकमा जम्मा भएका मानिसहरुले खुसियाली स्वरुप नाचगान र नाराबाजी गरिरहेका छन्।
राष्ट्रपति मुगाबेलाई हटाउन यहाँको सत्तारुढ तथा विपक्षी दलले नै संसदमा महाभियोग दर्ता गर्ने प्रकिया सुरु गरेका थिए।
सो प्रस्तावका लागि प्रक्रिया सुरुभए लगत्तै उनले अप्रत्यासित राजीनामा दिएका हुन्। अभियोगका बारेमा सभामुखले संसदमा नै उक्त पत्र पढेर नै सुनाएका थिए।
मुगाबेले आफ्ना उपराष्ट्रपति एमरसन मनाङ्ग्वालाई दुई हप्ताअघिमात्र पदबाट हटाएका थिए। त्यस लगत्तै जिम्बावेको सेनाले शसान सत्ता हातमा लिएको घोषणा गरेको थियो।
सत्तारुढ जानुपिएफ दलका अधिकारीहरुले अब वैधानिक हिसाबले नै यसअघि हटाइएका उपराष्ट्रपति मनाङ्गाग्वाले नै बिहीवारसम्ममा राष्ट्रपतिको रुपमा शपथग्रहण गर्ने जनाएका छन्।
यहाँको विपक्षी दलले भने जिम्बावेमा आगामी केही महिनामा नै स्वतन्त्र र निष्पक्ष रुपमा आमनिर्वाचन गरी राजनीतिक निकास दिनुपर्ने बताएको छ। रासस/एएफपी