PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सिन्धुलीमा सडक कालोपत्रेदेखि स्तरोन्नतीसम्म चुनावी एजेण्डा



पहिलोपोस्ट

सिन्धुलीमा सडक कालोपत्रेदेखि स्तरोन्नतीसम्म चुनावी एजेण्डा

सिन्धुली : जिल्लामा प्रमुख राजनीतिक दलले सडक कालोपत्रे र विद्युत् सेवा र पर्यटन भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान रकम उपलब्ध गराउने चुनावी प्रतिबद्धता अगाडि सारेका छन्।

विशेषगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका वाम गठबन्धनले स्थानीय रुपमा साझा प्रतिबद्धतापत्र घोषणा गर्दै धरान– चतरा वैकल्पिक मार्गसँग जोड्ने गरी शाखा सडक सञ्जाल निर्माण र मध्यपहाडी लोकमार्गको रत्नावती तीनखण्डे– महादेवडाँडा– अरुणठाकुर– दूधौली– खोक्सा सडक स्तरोन्नती गरी कालोपत्रे गर्ने जनाएको छ।

रसिलो र सिमसारका लागि जंगल तथा खाली ठाउँमा बर्खे पानी जमाउने गरी पोखरी निर्माण गर्ने तथा एक गाउँ एक सार्वजनिक पुस्तकालयको नीति बनाइ सूचनामाथिको पहुँच र पढ्ने बानीको विकास गरिने पनि घोषणापत्रमा उल्लेख छ।

मरिण गाउँपालिकाकी सुनिता लामाले जिल्लामा सडक सञ्जालको समस्या नै सबैभन्दा ठूलो समस्या भएको बताउँदै सडक नभएका कारण वर्षाको समयमा बिरामीलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएको बताए।

उनले आफ्नो गाउँमा भूकम्पपीडितले पनि राहत पाउन नसकेको अवस्था छ, उनले भने - “खानेपानी र अस्पतालको टड्कारो समस्या यहाँ देखिएको छ।” लामाले भने– “दलका उम्मेदवारले जनतासँग गरेको प्रतिबद्धता व्यहारमा देख्न पाउनुपर्छ।”

प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेश (क) मा ४६ हजार २७० र प्रदेश (ख) मा ४५ हजार ८२८ गरी कुल मतदाता ९२ हजार ९८ रहेका छन्।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ प्रदेश (क) मा ५० हजार ३६७ र प्रदेश (ख) मा ३९ हजार ६१ गरी कुल ८९ हजार ४२८ मतदाता रहेका छन्। दुवै निर्वाचन क्षेत्र गरी जिल्लामा कुल एक लाख ८१ हजार ५२६ मतदाता छन्। त्यसमध्ये १३ हजार २७९ नयाँ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीले जनाएको छ। दुवै निर्वाचन क्षेत्रमा गरेर कुल ८० वडा छन्।

निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य (ख) का उम्मेदवार प्रदीप कटुवालले साझा घोषणपत्रमार्फत आयआर्जन बढाउने र विदेश पलायन रोक्ने कार्यक्रम रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको विषयमा भएका अधूरा कामलाई पूरा गरिने छ भनेका थिए।
 

विसं ०६४ को संविधानसभा निर्वाचनमा दुई स्थानमा तत्कालीन माओवादी र एक स्थानमा एमालेले जितेका थिए भने २०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एक/एक स्थानमा विजयी भएका थिए।

नेपाली कांग्रेसबाट क्षेत्र नं २ प्रदेशसभा सदस्य (ख) का उम्मेदवार क्षेत्रबहादुर बमञ्जनले आफ्नो निर्वाचन क्षेत्रमा पर्यटकीय क्षेत्र धेरै भएकाले त्यसलाई अझ समृद्ध बनाउन आवश्यक रहेकोमा जोड दिँदै शिक्षा र स्वास्थ्यमा जनातको पहुँच स्थापित गरिने बताए।

सन्धुलीमा २६ दशमलव ८७ प्रतिशत तामाङ, १४ दशमलव ९० प्रतिशत मगर, १३ दशमलव ६६ प्रतिशत क्षेत्री, ७ दशमलव ७९ प्रतिशत ब्राम्ह्ण पहाडी, ६ दशमलव २८ प्रतिशत नेवार, ५ दशमलव ८२ प्रतिशत दनुवार, ४ दशमलव ४७ प्रतिशत कामी, ३ दशमलव ५५ प्रतिशत सार्की, ३ दशमलव ४७ प्रतिशत माझी तथा दमाई, ढोली ३ दशमलव ०९ प्रतिशत, सुनुवार २ दशमलव ७२ प्रतिशत र घर्ती, भुजेल एक दशमलव ५२८ प्रतिशत छन् भने त्यसबाहेक अन्य ५२ वटा जातजातिको बसोबास रहदै आएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell