
कञ्चनपुर : आर्थिक समृद्धिका एजेण्डा बोकेर कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का वाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार महाकाली नगरपालिकामा चुनावी प्रचारमा जुटेका छन्।
महाकाली नदीमा पक्की पुल निर्माण र सुख्खा बन्दरगाहसँग जोडेर आर्थिक समृद्धि गर्ने चुनावी एजेण्डासहित उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन्। क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका डा दीपक प्रकाश भट्ट र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश लेखक प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।
भट्टले महाकाली पुल र सुख्खा बन्दरगाहलाई एशियन हाइवेसित जोडेर दोधारा चाँदनीसहित ७ नं प्रदेशको आर्थिक विकास हुने एजेण्डा अघि सारेका छन्। दुवै पूर्वाधार यस क्षेत्रको आर्थिक विकासका मेरुदण्ड भएको भट्टको भनाइ छ ।
उनी भारतको राजधानी नयाँ दिल्लीसँग भन्दा पनि व्यापारिक र आर्थिक केन्द्रसित जोडिनुपर्ने बताउँछन्। भारतको विशाखापट्टनम र कोलकाता बन्दरगाहसँग सुख्खा बन्दरगाह जोडेर कारोबार गर्नुपर्ने भट्टले बताए।
यस्तै, कांग्रेस उम्मेदवार लेखकले पुल निर्माण र सुख्खा बन्दरगाह निर्माणलाई चुनावी एजेण्डा बनाएका छन्। उनले सुख्खा बन्दरगाह निर्माण गरी देशकै सबैभन्दा ठूलो व्यापारिक नाका बनाउने चुनावी प्रतिबद्धता मतदातामामाझ गर्दैआएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले केही महिनाअघि शिलान्यास गरेको महाकाली नदीको पुल निर्माण दुवै दलको साझा एजेण्डा बनेको छ।
उनले मझगाउँ विमानस्थल सञ्चालन, घाडीघाँच क्षेत्रमा खानेपानी, जोगबुडामा पुल, दोधारा चाँदनी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति, सडक कालोपत्रलगायतका एजेण्डा मतदातामाझ राखेका छन्।
क्षेत्र नं ३ मा ८२ हजार मतादाता छन्। महाकाली नगरपालिकामा मात्रै २२ हजार मतदाता छन्। दोधारा–चाँदनीका मत तान्न वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले प्रदेशसभामा महाकाली पारीकै व्यक्तिलाई उम्मेदवार बनाएका छन्।
क्षेत्र नं ३ प्रदेश (ख)मा वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर सुनार र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका बेलबहादुर राना चुनावी मैदानमा छन्।
क्षेत्र नं ३ प्रदेश (क)मा एमालेका प्रकाश रावल र कांग्रेसका यज्ञराज जोशी उम्मेदवार छन्। क्षेत्र नं ३ मा भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र वेदकोट नगरपालिका–८ का ३० वडा पर्छन्।रासस