PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

राजनीतिक अधिकार खोज्दै मधेशका मुसहर, चुनाव बहिस्कारको तयारी



बीपी साह

राजनीतिक अधिकार खोज्दै मधेशका मुसहर, चुनाव बहिस्कारको तयारी

काठमाडौं : देशैभरी अहिले चुनावी माहौल रहे पनि दलितभित्र पनि सबभन्दा बढी पिछडिएको जाति मुसहर खुशी छैनन्। सधैँ छुवाछुतविरुद्ध संघर्ष गर्दै आएका मुसहरहरु अब राजनीतिक अधिकारको खोजी गर्दैछन्।

सरकारी तथ्यांक अनुसार मधेशमा मुसहरको जनसंख्या दुई लाख ३४ हजार चार सय ९० छ। तर मुसहरसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले देशैभरी मुसहरको जनसंख्या १२ लाखको हाराहारीमा रहेको दाबी गर्छन्।

नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले पहिलोपोस्टसँग भने,‘राजनीति बिना कुनै समुदायको विकास हुँदैन। राजनीति नै विकासको चाबी हो। सबैले मुसहरलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेका छन् । राजनीतिक अधिकार दिएका छैनन्।’

‘कांग्रेस र एमालेले एक जना पनि मुसहरलाई प्रतिनिधि सभा अथवा प्रदेश सभामा उम्मेदवार बनाएको छैन। समानुपातिकमा समेत नाम छैन,’ सदा भन्छन्, ‘मधेशवादी पार्टी भनिएको राजपा र फोरमले पनि मुसहरलाई उम्मेदवार बनाएनन्।’

माओवादीले मुसहरलाई भोट बैंकको रुपमा प्रयोग गर्न समानुपातिकको पुच्छारमा नाम राखेको सदाको आरोप छ।  

स्थानीय निकायको निर्वाचनमा पनि एक जना पनि मुसहरले प्रमुख अथवा उपप्रमुखमा जितेनन्। 

‘शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान’ अभियानका संयोजक पंचुलाल माझी मुसहरले भने, ‘कुनै राजनीतिक दलले मुसहर जातिलाई समेटको छैन। सामाजिक रुपमा हामी बहिस्कृत नै थियौं, राजनीतिक रुपमा पनि बहिस्कृत छौं। वर्षौदेखि विभिन्न पार्टीमा लागेका मुसहर नेताहरुलाई पार्टीहरुले नै विश्वास गरेनन्।’

धनुषाका मुसहर अगुवा रामदयाल सादा भन्छन्, ‘राज्यले मुसहरको नाममा पहाडका दलितलाई हाल्ने गरेका छन्। आरक्षण होस् अथवा कुनै अवसर सबैमा उताकै दलितहरु परेका छन्। मधेशका दलित पनि बहिस्कृत नै छन्।’

निर्वाचन बहिस्कारको तयारी

देशभरका २४ जिल्लाका मुसहर अगुवाहरु काठमाडौंमा भेला भएर राजनीतिक आन्दोलन अगाडि बढाउने निर्णय गरेका छन्।

उनीहरुले सोही अनुसार प्रतिनिधि सभा अथवा प्रदेश सभाको निर्वाचनमा कुनै पनि मुसहर उम्मेदवार नभएको भन्दै निर्वाचन बहिस्कार गर्ने तयारी गर्दैछन् । 

विभिन्न राजनीतिक दलका नेताहरुलाई राष्ट्रिय सभामा मुसहरको प्रतिनिधित्व गराउन आग्रह गरिएको । तर हालसम्म कुनै दलले आश्वासनसमेत नदिएको मुसहर संघका अध्यक्ष सदाले बताए।

उनले मुसहरहरु चुनाव बहिस्कारको तयारीमा लागेको बताउँदै राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने कुनै पहल नभए अन्तिम निर्णय लिइने जनाए । 

कात्तिक २५ र २६ गते काठमाडौंमा भएको मुसहरहरुको भेलाले ६ बुँदे निर्णय गरेको थियो। अभियानका प्राविधिक सहयोगी राजकुमार महतोले प्रत्यक्षतर्फ यो समुदायका कसैलाई पनि अवसर नदिइएको बताउँदै समानुपातिकतर्फ समेत बेवास्ता गरिएकोमा बताए। महतोले भने,‘प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनाव र राष्ट्रिय सभामा मुसहर समुदायको जनसंख्याको आधारमा सम्मानजनक प्रतिनिधीत्व गराउन मुसहरहरु लागि परेका छन्।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell