
काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी)मा थप चार जना बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ, हेमन्तबहादुर पाल र माधव नेपाललार्इ एआइजीमा बढुवा गरेको हो।
केही समय अगाडि बढुवा सिफारिसमा गरिएका हेमन्तबहादुर पालले १ सय पूर्णाङ्कमा सबैभन्दा बढी ७५ दशमलव ३४ अंक पाएका थिए। त्यस्तै पुडासैनीको ७४ दशमलव ५२ अंक छ।
यस्तै नेपालको ७२ दशमलव ८९ रहेको छ। चौथो स्थानका पंकज श्रेष्ठले ७२ दशमलव ८२ अंक पाएका छन्। यसअघि ७ जना एआइजी दरबन्दी भएकोमा गृहमन्त्री जनार्दन शर्माको पालामा ४ दरबन्दी थपेर ११ पुर्याइएको थियो।
थप चारसहित एआइजीको सङख्या १५ पुगेको छ। प्राविधकतर्फ भने एक एआइजी छन्। गृहमन्त्रालयले एआइजी पुडासैनीलाई ५ नम्बर प्रदेश प्रहरी प्रमुख र एआइजी नेपाललाई ७ नम्बर प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी तोकेको छ ।
त्यस्तै, एआइजी श्रेष्ठलाई कार्य विभाग, पाललाई मानवस्रोत व्यवस्थापन विभागमा पदस्थापन गरेको छ।
त्यस्तै, गृहले ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेश प्रहरी प्रमुख एआइजी विजय भट्टको सरुवा गरेको छ।
एआइजी भट्टलाई प्रहरी महानिरीक्षकको सचिवालय र लामालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको गृहस्रोतले जानकारी दिएको छ।