PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दो



पहिलोपोस्ट

बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दो

बैतडी : पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा बढेको बताइएको छ।

जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्धता जनाएको भए पनि निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन्।

प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डालगायत सामग्री प्रयोगमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ। सदरमुकाम गोठलापानी बजार, शाहीलेक बजार दलहरुका झण्डा तथा पर्चा पम्पप्लेटले दुलही झैँ सिङ्गारिएका छन्।

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे आफूले पनि सुनेको र कसैको उजुरी नआएकाले केही कार्वाही हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए। निर्वाचन आचारसहिंता अनुगमन समितिका संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत गौतमले भने, “विभिन्न ठाउँमा आचारसंहिता विपरीत काम भइरहेको छ।”

“आचारसंहिता उल्लङ्घनबारे कसैको लिखित उजुरी आएको छैन्,” उनले भने, “लिखित उजुरी आएमा त्यसको अनुगमन गरी कार्वाही प्रक्रिया अगाडि बढाउँछौँ।”

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनालाई गम्भीरताका साथ लिइरहेको बताए। अहिले फ्याट्टफुट्ट रुपमा मात्रै आचारसंहिता उल्लङ्घन गरिएको छ भन्ने सुनिएको छ। उनले भने, “निर्वाचनको अस्तित्व नै मेटिने गरी आचारसंहिता विपरित काम भएको पाइँदैन।”

निर्वाचनलाई शान्त र भयरहित रुपमा सम्पन्न गर्न जिल्लामा उपलब्ध सुरक्षाकर्मी तथा बाहिरबाट पनि आवश्यक सुरक्षाकर्मीको प्रबन्ध मिलाइएकाले ढुक्कसँग निर्वाचनमा भाग लिन यहाँका नागरिकलाई स्थानीय प्रशासनले आग्रह गरेको छ। प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell