
काश्मिर : भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीन सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीहरुले थप हिंसा मच्चाउनसक्ने अनुमानमा प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या मङ्गलबार साँझदेखि त्यहाँ खटाइएको छ।
मङ्गलबार बिहानमात्र सो क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए। अर्ध सैन्यबल र आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन्।
भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने कुप्वारा जिल्लाको मगाम हान्दवारा गाउँमा ती आतङ्ककारी मारिएका थिए।
भारतीय प्रहरी काश्मिरका प्रवक्ताका अनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि आतङ्ककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलापहरु बढिरहेका थिए।
भारतीय सहर मुम्बाईमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको भारतले बताउँदै आएको छ।
आक्रमणमा परी १६६ जनाको मृत्यु भएको थियो भने अरु एक सय भन्दा बढी घाइते भएका थिए। त्यसयता भारत सरकारले उक्त समूहलाई आतङ्ककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ । रासस/एएफपी