
दोलखा : कालिञ्चोक–९ का हरिबहादुर खड्काले तीन वर्ष भयो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको। तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि चित्तबुझ्ने गरी बताएका छैनन्।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मत माग्न गाउँ पसेका राजनीतिक दलका नेतालाई खड्काले पटक पटक सोधे माथिल्लो तामाकोशीको शेयर कहिले पाइन्छ? तर उम्मेदवारले पनि हालसम्म चित्तबुझ्दो जवाफ दिन नसकेका उनले बताए।
कालिञ्चोक–९ कै ६८ वर्षीय नारायण शाहीलाई पनि माथिल्लो तामाकोशीको शेयरका बारेमा खुबै चासो छ। आयोजना शुरु भएदेखि नै स्थानीयवासीलाई शेयर दिन्छन्, राम्रो कमाई हुन्छ भन्ने सुनेको हो तर अहिलेसम्म छेउ–टुप्पो नलागेको उनलाई पनि चित्त बुझेको छैन।
निर्वाचनमा मत माग्न गाउँ आएका उम्मेदवारसँग उनले पनि सोधे, “शेयर कहिले पाइन्छ, हामीले कहिले हो लगानी गर्न पाउने?” कोहीले माघपछि पाइन्छ भनेका छन् त कोहीले आफूलाई जानकारी नभएको र पछि जानकारी दिउँला भन्दै हिँडेका शाहीले बताए।
“हामी दोलखावासीलाई माथिल्लो तामाकोशीको शेयरका बारेमा जसले राम्रोसँग बुझाउँछ, सोही पार्टीलाई मतदान गछौँ,” उनले उनीहरुले भने।
“हाम्रै देशको लगानीमा निर्माण भइरहेको आयोजनामा हाम्रो पनि लगानी हुनुपर्यो नि?” उनले भने। थोर बहुत लगानी गर्ने इच्छा छ, उनलाई।
आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न आएका उम्मेदवारलाई उनले पनि सोधे, “शेयर कहिले पाइन्छ त नेताज्यू?” कस्तो उत्तर पाउनु भयो त तपाईंले ? भन्ने राससको प्रश्नमा प्रसाईलें भने, “केही समयपछि दिन्छौँ भनेका छन्? आशा छ, हामी दोलखालीले केही समयभित्रै माथिल्लो तामाकोशीको शेयर पाउँछौ।”
अधिकांश स्थानीयवासीले उम्मेदवारसँग माथिल्लो तामाकोशीको साधारण शेयरका बारेमा चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । उनीहरु गतिलो सूचना नपाएकामा उम्मेदवारसँग गुनासो पनि गरेका छन्।
प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ स्थानीय मतदाताले माथिल्लो तामाकोशीको शेयरका बारेमा आफूलाई दर्जनौँ पटक प्रश्न गरेका बताइन्। “हामीले मत माग्ने क्रममा छिट्टै आयोजनाले शेयर जारी गर्ने तयारी गरेको जानकारी दिने गरेका छौँ। जनता पनि आश्वस्त भएका छन्”, गुरुङले भने, “साधारण शेयरप्रति जनताको ठूलो र व्यग्र प्रतीक्षा छ।”
कांग्रेसका तर्फबाट रुद्रबहादुर खड्का प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् भने प्रदेश ‘क’मा केशव चौलागाईं र ‘ख’ बर्मा लामा उम्मेदवार रहेका छन्।
वाम गठबन्धनका तर्फबाट प्रदेश ‘क’ मा विशाल खड्का र प्रदेश ‘ख’ मा पशुपति चौलागार्इं उम्मेदवार भएका छन्। लामो समयसम्म एमालेको राजनीतिमा संलग्न जिल्ला विकास समितिका पूर्वसभापति लालकुमार केसी पनि चुनावी मैदानमा रहेका छन्। उम्मेदवारी दिएका अधिकांश नेतालाई मतदाताले अरू विकास निर्माणको कामभन्दा पनि माथिल्लो तामाकोशीका बारेमा नै बढी चासो र चिन्ता व्यक्त गर्ने गरेका छन्। कांग्रेसका उम्मेदवार खड्का मतदाताले शेयरका बारेमा चासो व्यक्त गरेको स्वीकार गर्दै चुनाव लगत्तै वितरण गर्नेतर्फ पहल गर्ने बताए।
यस्तै प्रदेशसभाका उम्मेदवार खड्का, चौलागाईं, केशव पौडेल पनि स्थानीयवासीको चासोलाई सम्बोधन गर्दै आयोजनाबाट छिट्टै साधारण शेयर जिल्लावासीलाई वितरण गराउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने घोषणा गरिसकेको छ। आगामी पुसको अन्तिम साताबाट स्थानीय प्रभावितले साधारण शेयरमा आवेदन दिन सक्ने बताइएको छ। दोलखामा मतदाताको सङ्ख्या एक लाख ४४ हजार ८२५ रहेका छन्। यसअघि एक लाख ३६ हजार ९७९ मतदाता रहेको थियो। पछिल्लो पटक सात हजार ८४६ मतदाता थपिएका छन् भने जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन्। रासस