
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बुधबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेको थियो। आज बिहान नै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाललगायतको टोलीले हेरिरहेको छ। चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन्।
धनुषा ३ बाट प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आएका थिए। त्यस क्रममा धुलोधुवाँले असहज भएपछि उनी गत सोमबार राजधानी आएका हुन्।