
मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाको विषयलाई लिएर साउदी अरेबिया, इजिप्ट र इजरायली नेताहरुसँग टेलिफोन वार्ता गरेका छन्।
क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा यसबारेमा जानकारी दिइएको छ। रुसी राष्ट्रपति पुटिनले सिरियाको द्वन्द्वलाई लिएर साउदी अरेबियाली राजा सलमान बिन अब्दुलाजिज अल साउदसँग छलफल गरेका छन्।
यी दुई नेताबीच मध्यपूर्वी क्षेत्र र लामो समयसम्म द्वन्द्व चलेको सिरियाको विषयलाई लिएर छलफल भएको क्रेमलिनले जनाएको छ।
पुटिनले इजिप्टेली राष्ट्रपति अब्दुल फत्ताह अल सीसीसँग पनि टेलिफोन वार्ता गरेका थिए। वार्ताका क्रममा पुटिनले सिरियाको समस्या राजनीतिक सम्झौताबाट समाधान गर्नुपर्नेमा जोड दिएका क्रेमलिनले बताएको छ।
दुई नेताबीच संयुक्त रुपमा आणाविक शक्ति केन्द्रको सम्झौता गर्ने विषयमा पनि वार्ता भएको क्रेमिलिनले जानकारी दिएको छ।
त्यसैगरी क्रेमलिन प्रेस सेवाले टेलिफोन वार्ता सम्बन्धी दिएको अर्को जानकारीअनुसार पुटिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने र दुई देशबीच सुरक्षाको विषयमा पनि वार्ता भएको थियो।
सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र यसका कारण अहिलेसम्ममा लाखौँ नागरिकको ज्यान गइसकेको छ।
आन्दोलनमा परी सन् २०११ बाट हालसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँ अरु आफ्नो देश र विदेशमा शरणार्थीको जीवन बितारहेका छन्।
समस्या समाधानका लागि विभिन्न समयमा अमेरिका र रुसको अगुवाइमा वार्ता गरिएको थियो। तर त्यसको समाधान भने निस्किएको छैन। रासस/सिन्हवा