PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

चुनाव जित्छु, इतिहास र प्रतिस्पर्धीको कुरा नगर्नुस्: योगेश भट्टराई



पहिलोपोस्ट

चुनाव जित्छु, इतिहास र प्रतिस्पर्धीको कुरा नगर्नुस्: योगेश भट्टराई

२०६४ र ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ ६ बाट पराजित एमाले सचिव योगेश भट्टराई अहिले ताप्लेजुङको चुनावी मैदानमा छन्। वाम गठबन्धनका तर्फबाट भट्टराई प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। भट्टराइलाई टक्कर दिइरहेका छन्, कांग्रेसका उम्मेदवार केशव दाहाल। ताप्लेजुङको एकमात्र क्षेत्रमा भट्टराई र दाहालबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। ताप्लेजुङमा घरदैलोमा व्यस्त रहेका भट्टराईसँग पहिलोपोस्टका लागि सागर बुढाथोकीले गरेको कुराकानी।

 

चुनावी अभियान कस्तो चलिरहेको छ?

दिनहुँ घरदैलो कार्यक्रममा व्यस्त छु। सबै जनताहरुबाट माया स्नेह पाइरहेको छु। ताप्लेजुङवासीले खोजेको मान्छे आएकोमा यहाँको जनता खुशी छन्। जनता उत्साहित पाएको छु। जनताको उत्साहमा म पनि ढुक्क छु।


वाम गठबन्धनको संयुक्त उम्मेदवार हुनुहुन्छ। माआवादीबाट कस्तो सहयोग पाउनु भएको छ?

बाहिर के कस्ता हल्ला भएका छन् मलाई थाहा भएन। यहाँ हामीबीच जनतादेखि तल्लो तहका कार्यकर्ता र ठूला नेतासम्म राम्रो समझदारी छ। हामी सबै मिलेर चुनाव प्रचारमा हिँडेका छौँ। हामीबीच कुनै त्यस्तो मनमुटाव असमझदारी र वैमनश्यता छैन्। जनतादेखि पार्टीका सामान्य कार्यकर्ता र नेताहरु सबैको एउटै मिसन छ, योगेश भट्टराईलाई जिताउने।


काठमाडौँमा दुई पटक पराजित भएपछि ताप्लेजुङमा जानुभयो। त्यहाँका जनताहरुले काठमाडौँमा जस्तै नगर्लान् भन्नेमा कति विश्वस्त हुनुहुन्छ?

इतिहासमा के भयो त्यो कुरा नगर्नुस्। गतिशील मान्छेले इतिहास हेरेर बस्दैन्। इतिहासको कुरा गर्नु भनेको 'थाङ्ने' कुरा गर्नु हो। हिजो जे भयो सकियो। इतिहास दोहोरिँदैन।


तपाईँको प्रतिस्पर्धी हेर्दा धेरैले इतिहास दोहोरिने अनुमान समेत गर्छन्। इतिहास नदोहोरिनेमा तपाईँ कसरी विश्वस्त हुनुहुन्छ ?

इतिहास र प्रतिस्पर्धीको कुरा गर्दै नगर्नुस्। त्यस्ता कुरामा म अल्मलिन चाहन्न। मेरो प्रतिस्पर्धीको बारेमा पनि केही टिप्पणी छैन्। उहाँ के कस्तो हुनुहुन्छ त्यो मेरो सरोकारको विषय पनि हैन्। जनताले जिताउने मलाई हो। त्यसैले उहाँको बारेमा केही भन्नु छैन्।


चुनाव जित्नेमा यति धेरै आत्मविश्वासी हुनुहुन्छ। त्यसको आधार चाहिँ के?

एमालेको राम्रो संगठन नै चुनाव जित्ने आधार हो। त्यसमाथि वाम गठबन्धनको कारण हाम्रो पक्षमा माहोल तातिएको छ। स्थानीय तहको नतिजा हेर्दा पनि हामीले जित्ने प्रष्ट हुन्छ। जनता पनि राम्रो उम्मेदवार पाएकोमा खुशी छन्। वाम गठबन्धनका नेता कार्यकर्ता र म मात्र हैन जनताहरु नै मेलै जित्नेमा विश्वस्त छन्। सातवटै प्रदेशमा वाम गठबन्धनले अत्याधिक बहुमतले जित्छ। यहाँ नजित्ने भन्ने कुरै हुँदैन्।


ताप्लेजुङवासीहरु तपाईँलाई जिताउन आतुर छन भन्नुभयो। विकासका एजेण्डा के छन् तपाईका?

मलाई विश्वास गरेरै पार्टीले टिकट दिएको हो। जनता मैले विकास गर्ने ठानेर नै जिताउन लागिरहेका छन्। ताप्लेजुङका सबै ठाउँमा सडक पुर्‍याएर पर्यटक भित्र्याउने मेरो एजेण्डा हो। विकासका सबै पूर्वाधार भित्र्याएर ताप्लेजुङवासीको जीवनस्तर सहज बनाउने उदेश्य हो। सडक, यातायात र विकास निर्माण मेरो प्राथमिकतामा रहनेछन्। स्वास्थ्य, शिक्षा र उद्यमशीलतामा जोड दिनेछु। खानेपानी, सञ्चार जस्ता अत्यावश्यक कुरालाई गुणस्तरीय बनाउन र सबै जनताको पहुँच पुर्‍याउन जोड दिनेछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell