PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

पहिलो चरण : ३२ लाख मतदाताको हातमा ७०२ उम्मेदवारको भाग्य



पहिलोपोस्ट

पहिलो चरण : ३२ लाख मतदाताको हातमा ७०२ उम्मेदवारको भाग्य
फाइल फोटो

  • पासाङ ठकुल्ला - 
काठमाडौं : पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० गते प्रदेश नम्बर २ बाहेकमा ३२ जिल्लामा निर्वाचन हुँदैछ। ३२ जिल्लाका ३७ प्रतिनिधि सभा सदस्य र ७४ प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। 

पहिलो चरणमा ३७ प्रतिनिधि सभा सदस्यका लागि २८२ र प्रदेशसभाका ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। 

पहिलो चरणको निर्वाचनको तयारी पूरा भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। 
 
कति छन् मतदाता?

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक करोड ५४ लाख मतदाता सहभागी हुँदैछन्। यीमध्ये ३२ जिल्लामा ३१ लाख ९१ हजार ९४५ मतदाता पहिलो चरणको निर्वाचनमा भाग लिँदैछन्।

कति मतदान केन्द्र?
३२ जिल्लामा सम्पन्न हुन गइरहेको पहिलो चरणको निर्वाचनका लागि २ हजार ९१९ निर्वाचन स्थल र ४ हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन ।
 

कहाँ कहाँ हुँदैछ चुनाव

प्रदेश १
प्रदेश नम्बर १ मा पहिलो चरणमा ७ जिल्लाको निर्वाचन हुँदैछ। सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङमा पहिलो चरणमा चुनाव हुँदैछ। मतदानका लागि ६ सय ९६ मतदान स्थल र १ हाजार २५ मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रदेश १ मा पहिलो चरणमा ७ लाख १९ हाजार १ सय ७३ मतादाता निर्वाचनमा सहभागी हुँदैछन्।

प्रदेश नम्बर ३ 
यस प्रदेशका ६ जिल्लामा पहिलो चरणको निर्वाचन हुँदैछ। पहिलो चरणको चुनाव अन्तर्गत नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्ला पर्दछन्। 

६ सय मतदान स्थल र १ हजार २४६ मतदान केन्द्र कायम गरिएका छन्। १० लाख १ हजार ४० मतदाताले मतदान गर्नेछन्। 

प्रदेश नम्बर ४
यस प्रदेशबाट मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा गरि ६ जिल्लामा पहिलो चरणको निर्वाचन हुँदैछ। ५ सय ७६ मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएका छन्। यस्तै ५ लाख ६३ हजार २४ जनाले मतदान गर्नेछन्। 

प्रदेश नम्बर ५
पहिलो चरणको निर्वाचनमा यो प्रदेशबाट रूकुम (पूर्वी भाग) र रोल्पा गरी जम्मा २ जिल्लामा मात्र निर्वाचन हुँदैछ। 
यस प्रदेशमा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र छन्। १ सय ११ मतदान स्थल र २०२ मतदान केन्द्र कायम गरिएका छन्। एक लाख ५५ हजार ५५७ जनाले मतदानको लागि निर्वाचनमा सहभागी हुनेछन्। 

प्रदेश नम्बर ६
यस प्रदेशका ७ जिल्लामा पहिलो चरणको चुनाव हुनेछ। रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा जिल्लाम चुनाव हुँदैछ। यो प्रदेशमा ५११ मतदान स्थल र ६०४ मतदान केन्द्र छन्। ३ लाख ६८ हाजार २ सय ७ जनाले निर्वाचनमा मतदान गर्नेछन्। 

प्रदेश नम्बर ७
दार्चुला, बझाङ, बाजुरा र बैतडी गरी यस प्रदेशका ४ जिल्लामा निर्वाचन हुनेछ। प्रतिनिधि सभाका लागि ४ र प्रदेश सभाका लागि ८ निर्वाचन क्षेत्र यो प्रदेशमा कायम गरिएको छ। यो प्रदेशमा ४२५ मतदान स्थल र ५७१ मतदान केन्द्र छन्। ३ लाख ८४ हाजार ९ सय ४१ मतदाता छन्। 

५० हजार कर्मचारी

पहिलो चरणको निर्वाचनमा करिब ५० हजार कर्मचारी निर्वाचन क्षेत्र र अधिकृतको कार्यालयमा खटिने छन्। मतदान स्थल र केन्द्रमा ६ देखि ९ जना सम्म कर्मचारी खटिने छन्। प्रत्येक निर्वाचन अधिकृतहरुको कार्यालयमा १० देखि १८ जना कर्मचारी रहने छन्। आयोगका अनुसार एक हजार स्वयंमसेवक पनि निर्वाचनमा खटिने छन्। 

पर्यवेक्षक कति

आयोगका अनुसार स्थानीय संस्था र विदेशी पर्यवेक्षक गरी पहिलो चरण निर्वाचनमा करिब १० हजार पर्यवेक्षक खटिने छन्। जसमा कार्टर सेन्टर, युरोपियन युनियन लगायतका विदेशी संस्थाबाट गरी चार सय खटिने छन्। ५२ स्वदेशी र ४ विदेशी संस्थाले आयोगबाट अनुमति लिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell