PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मध्य तराईमा सुरक्षा थ्रेट बढ्दो, नारायणीबाट नेकपाका २५ कार्यकर्ता पक्राउ



राधेश्याम पटेल

मध्य तराईमा सुरक्षा थ्रेट बढ्दो, नारायणीबाट नेकपाका २५ कार्यकर्ता पक्राउ

वीरगंज :  पहाडी जिल्लासँगै मध्य तराईका जिल्लाहरुमा पनि सुरक्षा थ्रेट बढेको छ।विभिन्न दलका उम्मेदवामाथि पहाडबाट सुरु भएको आक्रमणका घटना मध्य तराईका रौतहट, बारा, पर्सामा पनि सुरु भएको छ।

नेपाली कांंग्रेसका रामशरण महत, माओदवादी केन्द्रका जनार्दन शर्मा,नारायणकाजी श्रेष्ठलगायत थुप्रै नेताहरुमाथि आक्रमणका घटना भइसकेका छन्। नेताहरुको गाडी तथा कार्यक्रमलाई लक्षित गरी पहाडी जिल्लाहरुमा बम विष्फोट गराइएको छ।

मंसिर २ गतेदेखि तराईमा पनि यस्ता घटनामा हुन थालेका छन्। तराईमा बम विष्फोटको घटना रौतहटबाट सुरु भएको हो । चन्द्रपुर नगरपालिकामा बम विष्फोट हुँदा स्थानीय सरिता राई र उनका छोरा जैविक राई गम्भीर घाइते भइ हाल भरतपुरमा उपचारत छन् । अन्य ६ जना समान्य घाइते भए।

आइतवार विहानै बाराको सिमरामा नेपाली कांग्रेस क्षेत्र नं ४ का प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्कीको गाडीमा बम विष्फोट गराईयो।

मंगलवार राति पर्सा क्षेत्र नं २ का एमालेका प्रदेशसभा उम्मेदवार राचन्द्र साह तेलीको वीरगंज १० रानीघाट कुमारीमाई टोलमा रहेको घरमा बम प्रहार भयो। बम प्रहारबाट झ्यालका सिसा मात्र फुटे। मानवीय क्षति भने भएन। यस्ता घटनाले मध्य तराईको जनजीवन त्रसित बन्नुको साथै चुनावमा सुरक्षा अवस्था बिग्रने हो कि जनताको मनमा अंशका उब्जिएको छ ।

 यी सबै घटनालाई विश्लेषण गर्ने हो भन्ने निर्वाचन विथोल्ने दुई किसिमको शक्ति यस्तो अपराधिक घटनामार्फत त्रास फैलाउन खोजेको बुझिन्छ। 

एउटा हो नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भने अर्को तराईका भुमिगत समुह।संघीय प्रहरी ईकाई कार्यालय वीरगंजका प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्याय पछिल्ला घटनाले मध्य तराईका जिल्लामा सुरक्षा अवस्था कडा परिएको बताए।‘हामीले दुबै एंगलबाट अनुसन्धान अघि बढाएका छौ ,विप्लब पनि हुन सक्छन् भूमिगत तथा आपराधिक समुह पनि,’उनले भने।

रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासीलगायत जिल्लामा सुरक्षा थ्रेट बढन थालेपछि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय गरी सुरक्षा कडा पारिएको, सीमा नाकामा चेकजाँच तिव्र पारिएको, रातिको समयमा संदिग्ध स्थान सर्च–गस्ती व्यापक बनाइएको उनले जानकारी दिए।

अर्कोतर्फ राजनीतिक दलका उम्मेदवारलाई चुनावी प्रचारप्रसारको कार्यक्रम र उनीहरुको सुरक्षाको विषयमा पनि रणनीति बनाएर सुरक्षा संयन्त्रहरु लागेको उपाध्यायले बताए। ‘सकेसम्म एउटा टोलमा एक समयमा, एक पार्टीलाई कार्यक्रम गर्न आग्रह गरेका छौ,’उनले भने,‘अबेर रातिसम्म पनि कार्यक्रम नगर्न आग्रह गरेका छौं।’ उपाध्यायले कुनै पन शंकास्पद वस्तु देखेपछि नचलाउन र तुरुन्त प्रहरीमा जानकारी गराउन पनि अपिल गरेका छन्।

प्रहरी अप्रेशनमा नेकपाका २५ कार्यकर्ता पक्राउ

नेकपाका कार्यकर्ताले ठाउँठाउँमा आपराधिक गतिविधि सञ्चालन गर्न थालेपछि त्यसको न्यूनीकरण तथा जवाफी कारबाही अनुसार प्रहरीले संदिग्ध व्यक्तिहरुलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ।

चुनाव अवधीभर हिरासतमै राखेर आवश्यक अनुसन्धान गरिरहेको संघीय प्रहरी ईकाई कार्यालय वीरगंजका एसएसपी उपाध्यायले बताए। 
पछिल्लो एक हप्तामा नरायणी अञ्चलका ५ जिल्लाबाट २५ जनालाई हिरासतमा लिएको उनले जानकारी दिए।

पर्साबाट पूर्वसभासद ईस्लाम हवारी, विगाप्रसाद चौरसिया, कालु भनिने अकलु राउत, नूर हाँसन गरी ४ जना, बाराबाट करण पटेल, दिल महम्द अन्सारी, दिनेश गुप्ता, धर्मेन्द्र कुशवाहा, सोनु सिंह ७ राउन्ड गोलीसहित ५ जना पक्राउ परेका छन्।

त्यसैगरी, रौतहटबाट विशाल लामा, ओमप्रकाश गौत्तम गरी २ जना, मकवानपुरबाट रामहरि खनाल, सोनम लामा,सागर घतामे, भीम गौतम, सुर्य आर्याल गरी ५ जना, चितवनबाट लक्ष्मी न्यौपाने, सुदीप पौडेल, अस्मी पौडेल, दिवस भुसाल, लालबहादुर बिसी, सुमन पौडेललगायत १० जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति मकवानपुर प्रहरीले विष्फोटक पदार्थ र एक थान बन्दुक फेला पारेको छ।तर घरधनीलाई प्रहरीले समात्न सकेको छैन।

वीरगंजमा नेपाल–भारत सुरक्षा बैठक

अगागी निर्वाचनलाई लक्षित गरी मध्य तराईका जिल्ला तथा विहारको पुर्वी तथा पश्चिमी चम्पारण जिल्लाका सुरक्षा प्रमुखहरुको आज वीरगंजमा सुरक्षा बैठक बसिरहेको छ।

बैठकमा रौतहट, बारा, पर्सा, चितवन, नवलपरासीका सुरक्षा प्रमुखहरुको सहभागिता छ।त्यसैगरी,पुर्वी र पश्चिमी चम्पारणका जिल्लाका डिएम, विहार पुलिस तथा सीमा सुरक्षा बलका प्रमुखहरुको उपस्थिति रहेको छ।

चुनावका बेला विप्लब समूहले फैलाएको त्रास तथा आपराधिक गतिविधिलाई मध्यनजर गर्दै दुई देशका सुरक्षा प्रमुखहरुसँग समन्वय गरी आसन्न निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गराउन छलफल हुने नेपाल प्रहरीले जनाएको छ।

नेपाल भारत खुल्ला सीमा भएकाले आपराधिक घटना बढ्ने सक्ने अनुमान गरिएको छ।यसलाई मध्यनगर गर्दै सीमा सशस्त्र र एसएसबीले कडाई गरेको छ। हरेक प्रकारको सवारी साधनलाई कडा चेकजाँच गरिएको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell